सुर्खेत : सिम्ता गाउँपालिकामा शहरी विकास नीतिमा भएका व्यवस्थाहरूलाई स्थानीय तहमा कार्यान्वयन र समायोजन गर्ने विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ। सुशासन प्रवर्द्धनका लागि यूवा कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापतिले गोष्ठीको उद्देश्य र “हाम्रो शहर परियोजना” को लक्ष्यबारे जानकारी दिए । सहजकर्ता दुर्लभ बोगटीले राष्ट्रिय शहरी नीति २०८१ का मुख्य बुँदाहरू प्रस्तुत गरी स्थानीय सरकारका भूमिका र जिम्मेवारीबारे दफाबार छलफल गरे । सहभागीहरूले तत्काल प्रतिफल अपेक्षा नगरी नीति कार्यान्वयनलाई दीर्घकालीन प्रक्रिया मानी गम्भीर तयारी गर्नुपर्नेमा जोड दिएका छन्।
राकम बस्तीलाई व्यवस्थित गरी नयाँ शहर बनाउन गाउँसभाबाट अनुमोदन गर्ने, घरजग्गा नक्शा पास गराएर मात्रै निर्माण गर्नुपर्ने, पूर्वाधारका काम पालिकाको प्राविधिक शाखाबाट प्रमाणित भई गर्नुपर्ने, पालिकाले मापदण्ड र आचारसंहिता तयार गरी समितिलाई जिम्मेवारी दिने, अनुमति विना कुनै पूर्वाधार निर्माण नगर्ने व्यवस्था लागू गर्ने लगायतका निष्कर्षमा सहमति गरिएकमो छ ।
पालिकाकी उपाध्यक्ष गोमा रेग्मीले यस्ता पहलबाट पालिकाको राजस्व वृद्धि र नगरको सौन्दर्य विस्तार हुने विश्वास व्यक्त गरिन् । हेल्भेटास नेपालको आर्थिक सहयोग र सुशासन प्रवर्द्धनका लागि यूवाको सहजीकरणमा आयोजित कार्यक्रममा गाउँ कार्यपालिकाका पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, पूर्वाधार विकास अधिकृतलगायत शाखा प्रमुखहरू गरी २५ जना सहभागी थिए।
खुलानजर । १४ असार २०८२, शनिबार १४:२८