
बुवा देवेन्द्र बहादुर पुन र आमा तारादेवी पुनको कोखबाट २०४५ साल साउन २४ गते गुर्भाकोट नगरपालिका–१३ मा जन्मिएका गजेन्द्र पुन अहिले जन नमुना माध्यमिक विद्यालय सुर्खेतका भौतिकशास्त्र (फिजिक्स) शिक्षक हुन् । केही महिना अगाडी प्रकाशित कक्षा १२ को नतिजामा उनले पढाएका ११८ मध्ये ११४ जना (९६.६ प्रतिशत) विद्यार्थी सफल भएका छन् । अघिल्लो वर्ष पनि उनको मार्गदर्शनमा ९२ प्रतिशत विद्यार्थी फिजिक्समा पास भएका थिए ।
युवा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्र निर्माणमा योगदान पुर्याउने मेहनती र समर्पित शिक्षकको उदाहरणीय कामले देशभरका युवालाई प्रेरणा दिएको छ’ भन्दै गजेन्द्र पुनलाई सार्वजनिक बधाई दिएका थिए । त्यसयता उनको योगदानले अझ चर्चा पाएको छ । उनै सफल शिक्षक पुनसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
म सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीमा जन्मिएका हुँ । मेरो बाल्यकाल गुर्भाकोटको गुमी मै बितेका हो । सामान्य परिवारमा बित्यो । हाम्रो परिवारमा तीन दिदीबहिनी र दुई दाजुभाई हो । म सबैभन्दा कान्छो छोरा हो । गाउँमा बन जंगल जाने घाँस दाउरा ल्याउने घरमा काम गर्ने आमा बुवालाई सघाउने गथ्र्यौ । बुवा प्रा.वि शिक्षक हुनुहुन्थ्यो । उहाँकै छत्रछायाँमा सानैदेखि मेरो पढाई राम्रो थियो । आनन्द माध्यमिक विद्यालयमा कक्षा एक देखि १० सम्म त्यहीँ पढेका हुँ । २०६० सालको एसएलसीमा ५८ जनामा दुई जना मात्र पास भएका हौं । त्यसमध्ये पनि म प्रथम डिभिजनमा पास गरेको हुँ । २०६२ साल जेठ ४ गते म १६ बर्षको उमेरमा कक्षा ११ पढ्दा पढ्दै बुवा बितिनुभयो । आमाले चाँजोपाँजो मिलाएर संघर्ष गरेर मास्र्टस सम्म पढाउनु भएको हो । आइएसी नेपालगञ्जको महेन्द्र उच्च माध्यमिक विद्यालयमा पढें र बिएससी पनि महेन्द्र बहुमुखी क्याम्पसमा पढेको हुँ । एमएसी काठमाडौंको पाटनमा पढेँ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
विद्यार्थी जीवनमा डाक्टर पढ्ने योजना थियो । बुवाले पनि भन्नु हुन्थ्यो पढाईमा राम्रै छ । जनजाती समुदायमा डाक्टर पढेका कोही छैनन् । मैंले पनि त्यही नै सोचेर पढाईमा मेहनत गरें । त्यहि त होनी दुर्भाग्यवस बुवाको मृत्यु भयो । डाक्टर बनने सपना तुहियो । बुवा जस्तै असल शिक्षक बन्नुपर्छ भन्ने कुराले यतै मोडिएँ ।
पढाईको यात्रा कस्तो रह्यो त ?
पढाईको यात्रा एकदम सफलातापुर्वक बित्यो । पढाईको मामलामा म पछाडी कहिल्यै हटेन । कक्षा ११ मा पढ्दा मलाई धेरै नै गाह्रो भयो । गाउँको सरकारी बिद्यालयबाट आएको । गाउँको पढाई एकदम कमजोर थियो । त्यसैमा साईन्स पढ्नुपर्ने मिडियम अंग्रेजीमा । तीन–चार महिना सम्म जति पढेपनि बुभm्न सकिनँ । मेरो पढाई बाहेक अरु केहि पनि सोच थिएन । हरेस चाँही खाएन । अरुले सक्छन भने म किन नसक्ने भनेर मेरो आत्मबल बढाएँ । मेरो पढाईको बेस बनेको ११ मा भएको हो । विज्ञान भित्रका अफ्ठ्यारा सिद्धान्तहरू बुझ्नका लागि लामो समय सम्म अध्ययन गर्नुपथ्र्यो । १२ मा फस्ट डिभिजनमै पास भएँ । प्लसटुदेखि एमएसीसम्म एक बर्ष पनि ग्याप नभएर बिषय नलागेर प्रथम डिभिजनमा रेगुलर पास गरें ।
पारिवारिक साथ कत्तिको मिल्यो ?
पारिवारिक साथ भनेको बुवा सानैमा बितिहाल्नु भयो । आमाले चाँजोपाँजो मिलाएर मास्टर्स सम्म पढाउनुभयो । घरमा आर्थिक अवस्था एकदम कमजोर भएपछि आमाले चाहीँ पढाउन सक्दैन भनेपछि मैंले भनें मलाई जग्गा चाहिँदैन । मेरो भागको जग्गा बेच्दिनु । म पढाई पुरा गरेरै छाडछु भने । गाउँमा भएको पाँच कठ्ठा जग्गा मेरो पढाईको लागि बेच्नुभयो । नेपालगञ्जमा पढ्ने बेला त भाडा रासनपानी पनि सस्तै हुने भएकाले धेरै कुरामा म्यानेज गर्न सकिन्थ्यो । घरमा भन्न बित्तिक्कै पैंसा आउने बाटो त थिएन । मैंले अरु त जब गरिनँ तर होम ट्युसन पढाएर आफुलाई सामान्य खर्च जोहा गर्थं । पारिवारिक साथ राम्रै मिल्यो । बुवा बाँचेको भए म आज डाक्टर हुन्थे । तर पनि बुवा जस्तै असल शिक्षक बन्छु सोचेको थिएँ । राम्रै छ सन्तुष्टि नै छु । मैंले श्री जन नमुना माध्यमिक विद्यालयमा अध्यापन गर्दै आइरहेकोे १२ वर्ष भयो ।
तपाईंले पढाएका विद्यार्थी सबै पास हुन्छन त्सस्तो जादु के छ ?
जादु चाँहि होइन । सुरुमा यो विद्यालयमा प्रबेश गर्नुभन्दा पहिला विद्यार्थीहरुको अवस्था बुझें । अरु विषय भन्दा बढि विद्यार्थी फिजिक्समा किन फेल हुन्छन् भनेर बुझें । अब फेल भएका र हुने बिद्यार्थीलाई पास कसरी गराउने भनेर अठोटका साथ लागें । अर्को कुरा सबैभन्दा गाह्रो बिषय फिजिक्सलाई सजिलो बनाएर पढाएँ । भनेको मतलब फिजिक्स चाहिँ गाह्रो बिषय हो भनेर आभास गर्न दिएनँ । क्लासमा विद्यार्थीहरुको रुचि , चाहना, र उनीहरुको भावना बुझें । त्यो अनुसार उनीहरुलाई मोटिभेट काउन्सिलिङ गरेर पढाउने गरें । पढाईको लागि हरेक मोटिभेटका कथा सुनाएर जागरुक गराउने र बाटोमा हिडिरहेको बेला विद्यार्थीहरुलाई पढाईकै कुरा गर्ने गर्थे । मान्छेहरु चन्द्रामा पुगिसके तिमिहरु अलिकति मेहनेत गरेर पनि एउटा फिजिक्स कटाउन सक्दैनौ भनेर मोटिभेट गर्थे । अप्ठ्यारो लामो खालको डेरिभेटिभलाई सामान्य छोटोमा बुझाउँछु । बुझे कि बुझेनन् भनेर फेरि फिडब्याक लिने, जति पटक सोधेपनि नरिसाउने नर्मल मायालु रुपमा उत्तर दिने । खाली समयमा पनि विद्यार्थीहरुलाई कहाँ नेर बुझेनौ भनेर बुझाँउछु । पहिलो कुरा बुझाउनु हो । रटेर मात्र हुन्न । कुनै विद्यार्थी पढ्नमा ट्यालेन्ट तर व्यहोरा पारा अर्कै देखाउने विद्यार्थीहरुले किन यस्तो गर्छन् भनेर उनीहरुको पारिवारिक ब्याकराउण्ड बुझें । उनीहरुको घरमा होहल्ला सान्त पढाईको लागि शान्त वातावरण नभएको देखें । घरमा आमा बुवा कुलतमा लागेका छोराछोरी पनि कुलतमा नलाग्ने कुरै भएन । त्यस्ता विद्यार्थीहरुका घरमै पुगेर काउन्सिलिङ गरेँ । विद्यालयको प्रशासनले उनीहरुका लागि राम्रै गरेको छ । हामी सबैले मिहेनत गर्ने हो भने राम्रो नतिजा निकाल्न के गाह्रो छ । यसको मतलब सार्वजनिक विद्यालयहरुबाट निजी विद्यालय भन्दा राम्रो नतिजा निकाल्न सकिन्छ । यो नतिजा निकाल्नका लागि मेरो १२ वर्षको शैक्षिक अनुभव, विद्यालयको व्यवस्थापन र सबैभन्दा विद्यार्थीहरुको मिहेनत छ ।
अध्यापन के रहेछ ?
पढाउनु भनेको त विद्यार्थीहरुलाई महशुस गराउनु हो । अधिकांश विद्यार्थीहरु रटेर पढ्छन् । रटेर पढ्नु क्षणिक मात्र हो । बुझाएर पढायो भने उनीहरुले रियलायज गर्छन् । अनि मात्र उनीहरुलाई सजिलो हुन्छ ।
पढाउन गाह्रो कि सजिलो ?
गाह्रो छ । यो विद्यालय सरकारी भएकोले कर्णाली प्रदेशका १० वटाका जिल्लाका विद्यार्थीहरु पढ्न आउँछन् । दुर्गम अशिक्षित परिवारमा जन्मिएका विद्यार्थीहरुले सामान्य जोड घटाउ गर्ने तरिका पनि थाहा हुन्न । त्यस्ता विद्यार्थीहरुलाई बुझाउन पनि गाह्रो हुन्छ । फेरि गाह्रो छ भन्दैमा त असम्भव भन्ने केहि छैन ।गाह्रोलाई पनि सजिलो बनाउन पर्यो नि । र त्यस्तै विद्यार्थीहरुले त राम्रो अंकले पास भएका छन् । मलाई विद्यार्थीहरूले प्रिय गुरु, मार्गदर्शक भन्छन् । मलाई माया र सम्मानसाथ ‘प्रिय गजेन्द्र सर’ भनेर बोलाउँछन् ।
शिक्षण पेशा नै किन रोज्नुभयो ?
म मेरो पेशा प्रति सन्तुष्टि नै छु । हुनत सँगैका साथीहरू निजामती बनेका छन् । कोही अमेरिका, युरोप पुगे । कोही एनजिओ, आइएनजिओमा उच्च पदमा कार्यरत छन् । मैंले पढेको विषयमा राम्रो भविष्य हुँदाहुँदै पनि म चाहिँ गाउँ फर्किएँ । मेरो अगुवाइमा स्कुलको अवस्था सुध्रिएको छ । नतिजा पनि राम्रै आएको छ । यो देखेर शिक्षक, अभिभावक, स्थानीय र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू सबै अत्यन्तै खुसी छन् । अहिले सबैले हाम्रो विद्यालयलाई विश्वास गरेर नै निजी विद्यालयका विद्यार्थी हाम्रोमा पढ्न आएका छन् ।
प्रधानमन्त्रीज्यूले पनि बधाई दिनुभयो नि ?
प्रधानमन्त्रीले बधाई दिएको कुरा मलाई थाहा थिएन । मेरा विद्यार्थीहरुले फोन म्यासेज ह्वाट्एप्समा पठाउनु भएको रहेछ । बल्ल मलाई थाहा भयो । आफ्नो मेहनतको प्रशंसा गरेर प्रेरणा दिएकोमा शिक्षक पुनले प्रधानमन्त्री ओली र जनमावि स्कूललाई धन्यवाद दिएको कुराले मैंले हेडसरलाई पनि देखाएँ । उहाँपनि असाध्यै खुसी हुनुभयो । राम्रो कर्म गर्दै जाने हो भने भगवानले पनि हेर्ने रैछन् ।
अबको योजना के छ ?
म यो विद्यालयमा रहुञ्जेलसम्म कर्णाली भन्दा देशको नमुना योग्य बनाउने योजनामा छु । यसको लागि विद्यालय व्यवस्थापन पक्षले पनि साथ दिएको छ । अझै साथ दिनुपर्छ ।

अंगराज परियार । १८ भाद्र २०८२, बुधबार १०:११