सुर्खेतमा एमालेको विज्ञप्ति : आन्दोलनप्रति ध्यानाकर्षण

सुर्खेत: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत जिल्ला कमिटीले जेनेरेसन जेड (जेन्जी) युवाहरूको आह्वानमा सुरु भएको आन्दोलनमा भएका दु:खद घटनाप्रति गहिरो ध्यानाकर्षण गराउँदै एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

एमाले सुर्खेतले सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, राजनीतिक पार्टीका कार्यालय, विभिन्न व्यक्तिको निजी आवास र सवारीसाधनमा तोडफोड, आगजनी, ध्वंसजस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको माग गरेको छ।

भविष्यमा यस्ता दुखद घटना दोहोरिन नदिन सबै पक्षबीच संवाद, सहमति र शान्तिपूर्ण बाटो अपनाउन जरुरी रहेको भन्दै पार्टीले संयमता, शान्ति, अमन–चयन र सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गरेको छ।

एमालेले संवैधानिक बाटो, लोकतान्त्रिक पद्धति, बहुलतावादी मूल्य–मान्यता, सामाजिक न्याय र विधिको शासनमार्फत मात्र राजनीतिक संकट समाधान सम्भव हुने जनाएको छ। साथै, आन्दोलनलाई शान्तिपूर्ण र संवैधानिक सीमाभित्र राख्न नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारणलाई अपिल गरिएको छ।