सुर्खेत: टिप्परको ठक्करबाट ज्यान गुमाएका हुम्ला जिल्ला अदानचुली गाउँपालिका–३ फडेरा गाउँका २४ वर्षीय धिरेन्द्र भियाँलको आइतबार काठमाडौँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । गत असार ८ गते साँझ दुर्घटनामा परी ज्यान गुमाएका धिरेन्द्रको शव परिवारले न्याय र क्षतिपूर्तिको माग गर्दै सात दिनसम्म अस्पतालमै राखेका थिए । धिरेन्द्र हेल्थ असिस्टेन्ट (एचए) अध्ययन सकेर जागिर नपाएपछि विदेश जान लागेका युवा थिए। असार ८ गते साँझ करिब सवा ८ बजे उनी काठमाडौँको थानकोटस्थित आफ्नो डेराबाट निस्केका थिए। कोठाबाट निस्किएको केही समयमै—कलंकी नजिक ढुंगेअड्डामा दुई मोटरसाइकल आपसमा ठोक्किएपछि, ना.६ ख ८६७४ नम्बरको टिप्परले धिरेन्द्र चढेको बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे। टिपरको चक्कामुनि परेका धिरेन्द्रको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा संलग्न अर्को मोटरसाइकल बा.६३ प २०७७ नम्बरको थियो, जसका चालक घाइते भइ हाल शहिद मेमोरियल अस्पताल, कलंकीमा उपचाररत छन्।
मृतकका बुबा मुन्जीते भियाँलका अनुसार, गरिबीका कारण उनले परिवारको सम्पत्ति धितो राखेर धिरेन्द्रलाई काठमाडौँ पठाएका थिए। उनले सहिद स्मारक जनशक्ति कलेज (मिस्ट) मा एचए अध्ययन पुरा गरेका थिए। तर जागिर नपाएपछि घरको बढ्दो ऋणको चापले थिचिएर उनले विदेश जान लागेका थिए। `छोरा लोकसेवाको तयारी गर्दै थियो, तर ऋण तत्काल तिर्न नसक्ने देखेपछि मैले विदेश जान अनुमति दिएको थिएँ,` आँखाभरी आँसु ल्याउँदै मुन्जीते भन्छन् । दुर्घटनापछि धिरेन्द्रको शव महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको थियो। न्याय र क्षतिपूर्तिको माग गर्दै परिवारले सात दिनसम्म शव नबुझेका थिए। अन्ततः ट्रक पक्षसँग ७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिमा सहमति भएपछि मात्र शव बुझी आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो।
हालको कानुनी व्यवस्था अनुसार बीमा दाबी मार्फत कम्तीमा १५ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने प्रावधान रहे पनि सात लाख पचास हजारमा सहमती भएका छन् ।
धिरेन्द्रकी दिदी रिता भियाल खाडी मुलुकमा घरेलु कामदारको रूपमा कार्यरत छिन् भने उनका बुवा गाउँमै ज्यालादारी मजदुरी गर्दै आइरहेका छन्। घरको एक मात्र छोरा गुमाउनु परेको पीडामा भियाँल परिवार छ ।
अंगराज परियार । १५ असार २०८२, आईतवार २०:५७