‘तिमी एक्लो छैनौँ भनेर हौसला दिएपछि बाँच्ने आस पलायो’

बुवा होमबहादुर बुढाथोकी र आमा विष्णु बुढाथोकीको कोखकाट २०४२ साल कार्तिक २१ गते सल्यानको सारदा नगरपालिकामा जन्मिएकी अञ्जली बुढाथोकी खुलेर भन्नुपर्दा एक तेस्रो लिङ्गी हुन् । उनको वास्तविक नाम अर्जुन बुढाथोकी हो । उनी हाल वीरेन्द्रनगर नगरपालिका–६ रातोपुल सुर्खेतमा बस्दै आएकी छिन् । उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक अधिकारका क्षेत्रमा काम गर्दै आएकी छन् । उनै अञ्जलीसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी:
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
मेरो बाल्यकाल ठिकै बित्यो । म जन्मिँदा छोरा भएर जन्मिएकी थिएँ । तर सानैदेखि केटी हुन मनपथ्र्यो । मलाई लुगा पनि केटीहरू जस्ता मन पथ्र्यो । जब म आठ नौ वर्षमै केटा होइन भनेर बुझ्न थालेँ । तर मैंले घरपरिवारमा भनिन । बाल्यकालमा मलाई परिवारले ‘छोरा’ को रूपमा पाले । म सानैदेखि भित्रभित्रै आफूलाई केटीजस्तै महसुस गर्थेँ । खेल, हिँडाइ सबै केटीहरू जस्तै थियो, तर त्यो समाजमा खुलेर कुरा स्वीकार्ने गर्न आँट थिएन । थाहा पाएपछि विद्यालय र गाउँमा पनि साथीहरुले फरक व्यवहार गर्दा लाज डर र पिडा र आत्मघृणाले मलाई बाँच्न निकै अप्ठ्यारो महशुस भयो ।
आफ्नो पहिचान बारे कहिले थाहा पाउनुभयो ?
१६-१७ वर्षको उमेरमा पहिचान थाहा भएपछि म आफैलाई ‘तेस्रो लिङ्गी’ भन्ने पनि कुनै थाहा थिएन । मेरो पहिचान खुलेपछि गाउँ समाजले हेर्ने दृष्टिकोण बदलिएपछि मलाई डिप्रेसन जस्तो भएको थियो । गाउँका केही साथीहरू एलजीबिटिओ भन्ने संस्थामा लागेका थिए । उनीहरूले तिमी जस्ता धेरै छन् तिमीमात्र एक्लो होईनाैँ भनेर हौसला दिएपछि बल्ल बाँच्ने आस पलायो । विस्तारै उमेर बढ्दै जाँदा शारीरिक रूपमा पुरुष भए पनि महिलातर्फ आकर्षण बढ्नुपर्ने त्यो समययमा मेरोे आकर्षक पुरुषतर्फ नै हुन थाल्यो ।
विद्यालयमा अध्ययन गर्दा कस्तो व्यवहार भोग्नुभयो ?
त्यो बेला म आफैले आफैलाई प्रश्न गर्थेँ, मलाई किन यस्तो भएको होला भनेर ? विद्यालय जाँदा महिलाले प्रयोग गर्ने शौचालयमा जान मन लाग्थ्यो । हिँडाइमा पनि महिलाको जस्तो व्यवहार भएका कारण विद्यालयका साथी अनि शिक्षकहरूले हिजडा हो क्या हो भन्ने गर्थे । छक्काको उपनाम दिन्थे । त्यो बेला मनमा पीडा हुन्थ्यो तर सुन्ने कोही थिएनन् । विद्यालयमा मेरो हाजिर भएको भन्दा नभएका दिन धेरै छन् । त्यो बेला मर्न सकिएन । सबैभन्दा बढि पढ्ने त मन थियो समय र अवस्थाले एसएलसीसम्म पास मात्रै गर्न सकियो ।
समाजमा खुलेर आउँदा संघर्ष कस्तो रह्यो ?
समाजमा खुलेर आउँदा त झन गाह्रो भयो । तेस्राे लिङ्गी भएर बाँच्नु निकै गाह्रो छ । तेस्रो लिङ्गी भन्दै कहिल्यै पिट्थे पनि । अहिले हर्मोन थेरापीको औषधि पनि सेवन गरिरहेकी छु । मैंले नेपाल सरकारबाट प्राप्त गरेको नागरिकतामा अञ्जली बुढाथोकी नामबाट नै प्राप्त गरेकी छु ।


अभियानमा कसरी लाग्नुभयो ?
मेरोे जीवनको ठूलो भाग भने समाजसँगको संघर्षमै बितेको छ । सल्यानमा पहिला म एक्लै थिएँ डर लाग्थ्यो । सुर्खेत झरेपछि ‘सजग’, ‘ब्लु डाइमण्ड’, ‘सपोर्ट नेपाल’ जस्ता संस्थासँग आवद्ध भएँ । हाम्रो शरीर भिन्न होला, तर आत्मा एउटै हो अब लाज होइन, सम्मान चाहिन्छ । अब म डराउँदिन बोल्नुपर्छ, देखिनुपर्छ, आवाज उठाउनुपर्छ भनेर अभियानमा लागेकी हुँ । जुनसुकै पहिचान आत्मसाथ गर्न सकिएपनि, समाजबाट त्यसको स्वीकार्यता पाउन भने मलाई फलामको चिउरा चपाउन सरह भयो । म अहिले कर्णाली इन्द्रेणी आवाज नाम संस्था दर्ता गरेर अध्यक्षका रुपमा काम गरिरहेकी छु ।
विवाह गर्नुभयो त?
अँ बिहे त गरेँ तर टिकेन । एउटा ३७ वर्षका पुरुषसँग प्रेम विवाह गरें लगातार श्रीमानको घरबाट दबाब आउन थालेपछि तिनले अर्कै महिलासँग विवाह गरे । मन भएर के गर्नू तेस्रो लिङ्गी भएर कसैसँग सम्बन्ध बनाउनु सजिलो छैन । हामी पनि प्रेम गर्छौँ तर समाजले हाम्रो प्रेमलाई पाप ठान्छ । यहि भएर दिक्क लाग्छ । हुनत म जस्ता थुप्रै मानिसहरू छन् । समाजले नदेखेझैँ गर्छ । कोही सडकमा देखिएपछि हाँसोमा उडाइन्छन् । तर कहिल्यै बुझिँदैनन् । यस्तो व्यवहार गर्नका लागि हामी कुनै अपवित्र प्राणी होइनौँ नि !
कानुनले कत्तिको समेटेको अनुभव गर्नुहुन्छ ?
के को सुरक्षा दिनु फरक लिङ्ग पहिचानको कारण सरकारी कागजपत्र बनाउँदा समस्या हुन्छ । तेस्रो लिङ्गी समुदायका लागि नेपालको संविधानले केही अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा तिनको कार्यान्वयन निकै कमजोर छ । हामी पनि यही समाजका नागरिक हौं । हाम्रो पहिचान, सम्मान र अवसर सुनिश्चित गरिनुपर्छ ।
राज्य र समाजबाट तपाईंको अपेक्षा के छ ?
राज्य र समाजले हामीलाई दया होइन, अधिकार दिनुपर्छ । हामी पनि नागरिक हौँ, हाम्रा सपना, संघर्ष र योगदान छन् । तर आज पनि कानुनले तेस्रो लिङ्गी व्यक्तिको पहिचानलाई अस्पष्ट राखेको छ । हामी नागरिकताको ‘अन्य’ भनिने खाल्डोमा राखिएका छौँ । मेरो अपेक्षा भनेको राज्यले हाम्रो अस्तित्वलाई पूर्ण रूपमा स्वीकारोस् । शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी अधिकारमा समान पहुँच सुनिश्चित गरियोस् । समाजले हाम्रो पहिचानको सम्मान गरोस् । अनि हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरोस् । हामी पनि समानताको व्यवहार चाहन्छौँ ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई के भन्नुहुन्छ ?
तपाईंहरू आफ्नो पहिचानलाई नलुकाउनुस् गर्व गर्नुहोस् । अस्तित्व आफैँमा शक्ति हो । समाजले के भन्छ भन्ने भन्दा आफूले आफूलाई के देख्छौँ । त्यो महत्वपूर्ण हो । संघर्ष गर्न सजिलो छैन । तर आत्मसम्मानले बाँच्न पाउनु ठूलो कुरा हो । आफूलाई हेपिन नदिनुहोस्, आफू जस्ता अरूका लागि पनि बाटो खोल्नुहोस् । हामी छौँ, हामी पनि परिवर्तनका भागीदार हौँ । यही भन्न चाहान्छु ।
अन्त्यमा केही भन्नु छ ?
मेरो भन्नु त केहि छैन । मेरो पीडा र संघर्षलाई मिडियामा राख्दिनु भएकोमा धन्यवाद दिन चाहान्छु । यस्तै साथ सर्पोट पाईयो भने मात्रै हाम्रो पहिचानको सम्मान र अवसर सुनिश्चित लागि अझैं लड्नेछु ।