अर्थमन्त्रीको बदमासी : मुख्यमन्त्रीलाई थाहा नदिएरै बजेट विनियोजन, योजना निर्माणको जिम्मा आफ्नै नातेदारलाई !

सुर्खेत: केही दिन अघि मात्रै सार्वजनिक गरिएको सम्पत्ति विवरणमा कर्णाली सरकारमा सबैभन्दा बढी धन भएका व्यक्ति निस्के अर्थमन्त्री विनोदकुमार शाह । उनै धनी अर्थमन्त्री शाहले मन्त्रालयको अर्थ विविधि शीर्षकमा राखिएको बजेटलाई मनमौजी रुपमा विनियोजन गरेको पाइएको छ ।
कोभिडको समयमा कर्णाली प्रदेश सरकारले अत्यावश्यक सेवाका लागि रकम आवश्यक परेको खण्डमा त्यहि शीर्षकबाट चलाउन मिल्ने गरि राखिएको उक्त बजेटलाई मन्त्री शाहले आफन्तलाई योजना बाँडने अवसरका रुपमा लिएको पाइएको हो ।
मन्त्री शाहले विनियोजन गरेको बजेट कागजमा आफ्ना सहोदर कान्छा भाई गणेश बहादुर शाही, भतिजा खगेन्द्र शाही, ज्वाई नाता पर्ने कर्णबहादुर शाही, तत्कालिन राजाको शासनकालमा आफु राज्यमन्त्री हुँदा स्वकीय सचिव बनेका उनका भाई सर्वराज शाहीको नाममा बजेट विनियोजन गरेर काम गराउन लिखित विवरण दिएको खुलेको छ ।
उनले योजनामा नामै तोकेर अध्यक्ष बनाउन वा काम चलाउन भनेर जिम्मा दिइएको उल्लेख छ । उनको वडा ठाँटीकाँध गाउँपालिका एकमा सुचियाँ–खातीगाउँ देखि भैरवस्थान सडक निर्माण कार्यक्रमका लागि ६० लाख बजेट छ । उक्त योजना शीर्षकमै खगेन्द्र शाहीको नाम उल्लेख छ । उनै खगेन्द्रका लागि भनेर लामामेला गुयालसिम रोकायावाडा सडक स्तरोन्नती गर्न भनेर ६५ लाख रुपैंया पठाइएको छ ।
त्यस्तै, खगेन्द्र शाहीले नै कार्यान्वयन गर्ने भनेर मटेला नदाई भैरवस्थान सडक स्तरोन्नती गर्न भनेर ५० लाख बजेट विनियोजन मन्त्री शाहले गराएका छन् । यसरी हेर्दा उनको वडामा गएको बजेटमध्ये उनै खगेन्द्र शाहीले एक करोड ७५ लाख बराबरको काम गर्ने जिम्मा पाएका हुन ।
मन्त्री शाहका मामाका छोरा जयाबहादुर शाहीलाई कालो शिल्लो मन्दिर निर्माण ठाँटीकाँध वडा नम्बर ३ भनेर १५ लाख बजेट विनियोजन गरेका छन् ।
यस्तै, उनका पूर्व स्वकीय सचिव समेत रहेका सर्वराज शाहीका लागि भनेर मन्त्री शाहले मटेला तित्रखेत सडक स्तरोन्नती भनेर ६५ लाख रुपैंया विनियोजन गरेका छन् ।
यस्तै, उनका स्वकीय सचिव प्रेमिका शाहीका बुवा कर्णबहादुर शाही मन्त्री शाहका नाताले ज्वाईं पर्छन । उनलाई भनेर भवानी मावि फिल्ड निर्माण लगायत अन्य संरचना निर्माण गर्न भनर ठाँटीकाँध गाउँपालिका वडा नम्बर ३ मा ३० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
आफ्नै वडाका उनी निकटका कार्यकर्ता चक्र विकलाई ठाँटीकाँध खेलमैदान निर्माण गर्न भनेर २० लाख रुपैयाँ विनियोजन गरेका मन्त्री शाहले वडा नम्बर १ का निवर्तमान वडाअध्यक्ष नरतम बुढाका लागि भनेर रातामाटा ठाँटीकाँध भीमपाईला सडक स्तरोन्नती गर्न ७० लाख रुपैयाँ विनियोजन गराएका हुन । त्यस्तै उनकै लागि भनेर मानाकोटदेखि भैरवस्थानसम्म सडक निर्माण गर्न भनेर थप ४० लाख बजेट विनियोजन गरेका हुन ।
मन्त्री शाहले आफ्नै सहोदर कान्छा भाई गणेशबहादुर शाहीको जिम्मा भन्दै आफ्नै वडामा रहेको भैरव मन्दिर निर्माण गर्न भनेर ५० लाख रकम विनियोजन गरेका छन् ।
यस्तै आठबीस नगरपालिकाको राकम अस्पतालको जग्गा घेरबार तथा सडक निर्माण भनेर छुट्याइएको एक करोड ५० लाख बजेट सञ्चालन गर्ने जिम्मा निवर्तमान नगरप्रमुख खड्गराज उपाध्यायलाई दिने गरि जिम्मा दिएका हुन । उनी पनि मन्त्री शाहको गुटका कार्यकर्ता हुन ।
अर्थमन्त्री शाहले सरकार ढल्ने सम्भावनाको चर्चा चलिरहेकै बेला आफ्नो निर्वाचन क्षेत्र सहित कर्णालीका १० जिल्लामा रातो किताबमा प्रकाशित योजना बाहेक नयाँ ६७ वटा योजनामा बजेट विनियोजन गरेका थिए । केन्द्रमा एमाले माओवादी सहितको सरकार ढल्ने निश्चित भएसँगै मन्त्री शाहले फागुन १६ गते ती आयोजनामा २३ करोड २० लाख रुपैयाँ पठाएका हुन ।


२३ करोड २० लाख रकमको अख्तियारी मन्त्री शाहले प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालाई जानकारी नै नदिई पठाएका थिए । मुख्यमन्त्री शर्माले नै उक्त रकमको अख्तियारी बारे थाहा नपाएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी बताउँछन् ।
यता, उनका प्रमुख स्वकीय सचिव नेत्र विष्टले योजनामा उनीहरुको नाम लेख्नुको कारण कार्यकर्ताले योजना परिचालन गरेर त्यसलाई सफल बनाउन् भन्ने रहेको बताए ।
‘नाम लेखेका व्यक्तिहरु कार्यकर्ता नै हो । गएको योजना कार्यान्वयन गर्नुहोला भनेर त्यसरी नाम लेखेर पठाइएको हो । अरु केही होईन, यसलाई अन्यथा मान्नुपर्ने कुनै कारण छैन,’उनले भने,