कर्णालीका मुख्यमन्त्रीले तेस्रोपटक पनि पाए विश्वासको मत


सुर्खेत: कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्राेपटक विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मात्रै परेको छ । उनले नेकपा एमाले र राप्रपा बाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् ।  उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो ।  यसअघि पहिलो पटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए । त्यो बेला  एमाले, राप्रपासहितको विश्वासको २५ मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपनि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए । त्याे बेला उनले ३८ मत पाएका थिए । तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो ।
अहिले माओवादीबाट मुख्यमन्त्रीसहित पाँच मन्त्री छन्। आन्तरिक मामिला तथा कानून मन्त्रीमा कृष्णबहादुर जिसी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा भिमप्रसाद शर्मा, भौतिक पुर्वाधार विकास मन्त्रीमा मंगलबहादुर शाही र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा ऊर्मिला विश्वकर्मा छिन्।
यही वैशाख ७ गते कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा खड्कबहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री वेदराजसिंह र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णबहादुर विसी मन्त्री बनेका छन् ।