पत्रकार महासंघ सुर्खेतको वेबसाइट सार्वजनिक


सुर्खेत: नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आधिकारिक डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको छ । आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले शाखाको अफिसियल वेबसाइट एफएनजे सुर्खेत डट अर्गको शुभारम्भ गरेकी हुन् । वेबसाइटको शुभारम्भ गर्दै अध्यक्ष शर्माले जवाफदेही र पारदर्शी पत्रकारिताको अभियान थालनी भएको बताइन ।
महासंघको कार्ययोजना अनुसार वेबसाइट निर्माण गर्ने पहिलो शाखा सुर्खेत भएको उल्लेख गर्दै शर्माले यसबाट सदस्य शुद्धिकरणमा देखिदै आएको विवाद समाधानमा सहयोग पुग्ने बताइन । वेबसाईटमा समावेश भएका विषयवस्तुले शाखाबाट हुने सम्पूर्ण गतिविधिलाई पारदर्शी बनाउने अध्यक्ष शर्माले बताइन । वेबसाइट शुभारम्भ कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले वेबसाइटका विवरणमार्फत आवश्यक जानकारी लिन सहज हुने बताए ।
पछिल्लो समय सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै हमला भइरहेको उल्लेख गर्दै महासचिव दाहालले संघीय सरकारले निर्माण गरेको सामाजिक सञ्जाल नियमन विधेयकमा राखिएका प्रेस स्वतन्त्रतामा आघात पुर्याउने व्यवस्था स्वीकार्य नहुने बताए । संघीय सरकारले मात्रै होइन प्रदेश र स्थानीय तहले निर्माण गरेका कतिपय कानुनहरु प्रेसमैत्री नभएको दाहालको दावी थियो ।
मिडियामाथि आएको संकटले सिङ्गो लोकतन्त्र छोपिने खतरा बढेको दावी गर्दै दाहालले मिडियाको दिगोपनामा तीनै तहका सरकारले सोच्नु पर्ने बताए । श्रमजिवि पत्रकारमाथि श्रमशोषण गर्ने मिडियाप्रति महासंघ खरोरुपमा उत्रिएको उनको दावी थियो । पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न महासंघले अभियान थालेको समेत उनले बताए । महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले कार्ययोजना अुरुप वेबसाइट निर्माण गरिएको बताए । महासंघलाई श्रमजिविका पक्षमा वकालत गर्न भावि दिनमा कार्ययोजना बमोजिमका कामहरु अगाडि बढाउँदै लैजाने अध्यक्ष शर्माको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव विष्णुप्रसाद न्याैपाने लगायत अन्य सञ्चारकर्मीहरुकाे उपस्थिति थियाे ।