वीरेन्द्रनगरमा अपांगता भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति दिइने

वीरेन्द्रनगर, २४ बैशाख । वीरेन्द्रनगरमा अपांगता भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति दिने व्यवस्था गरिने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार विजय भएपछि अपाङ्गता भएकाका लागि पहुँचयुक्त प्रविधि, ब्रेल लिपि तथा दोभाषे र साङ्केतिक भाषाको विकासमा जोड दिनुका साथै अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गर्ने वाचा गरिएको हो ।

नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिकाले सामाजिक न्याय र समावेशीताको नीति अवलम्वन गर्दै वादी समुदाय, न्यून आय भएका दलित र विपन्न परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, वीरेन्द्रनगरका सम्पूर्ण नागरिकहरुको सामुहिक वीमाको व्यवस्था गर्ने, ‘समान काम ः समान ज्याला’लाई कार्यान्वयन गर्ने, उत्पादनशील क्षेत्रमा महिला सहभागीता र महिला उद्यमशीलता अभिबृद्धि गर्ने संकल्प गरेको छ ।

यसैगरि, अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्यमी र व्यवसायीलाई ‘नगर सम्मान’द्वारा सम्मानित गर्ने, नगरमा ‘बालबालिका संरक्षण कोष’ स्थापना गरिने छ । आमा–बुवा गुमाएका, संरक्षण विहिन बालबालिकाको अभिभावकत्व नगरपालिकाले लिने, ‘बाल प्रतिभा प्रोत्साहन पुरस्कार’ स्थापना गर्ने, वीरेन्द्रनगरलाई वालमैत्री नगर बनाउनुका साथै जेष्ठ नागरिकहरुको सीप र अनुभवलाई प्रयोगमा ल्याउनका लागि सबै वडाहरुमा ‘जेष्ठ नागरिक मिलन केन्द्र’ सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेको छ ।

नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार खड्काको नेतृत्वमा निर्वाचनमा होमिएको कांग्रेसले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अपिल गर्दै भाषा, कला, संस्कृति र खेलकुदका क्षेत्रमा नगरभित्र बोलिने सबै भाषा, साहित्य र कलाको संरक्षण गर्ने, हरेक महिनाको १ गते र १५ गते खुल्ला मञ्चमा हुँदै आएको देउडा कार्यक्रमका लागि ‘देउडा डवली’को स्थापना गर्ने, गीत, संगीत सम्वन्धीत तालिमको व्यवस्था गर्ने, पुरानो पाटी पौवा, मठ मन्दिर, चैत्य गुम्वाहरुलाई मौलिकतामा आधारित स्थानीय सामाग्रीबाट निर्माण गर्न प्रोत्साहित गर्ने एजेण्डा मतदाता समक्ष राखेको छ ।

यस्तै, संकल्प पत्रमार्फत सबै जातजातिका परम्परागत जात्रा, पर्वको संरक्षण, सञ्चालन र व्यवस्थापन गर्ने, क्रिकेट, भलिवल, फुटवललगायतका खेलकुदका तालिम सञ्चालन गर्ने, ‘एक वडा, एक खेलकुद मैदान’ निर्माण गर्ने, पार्क, व्यायामशाला र रंगशाला निर्माणलाई प्राथमिकता दिनुका साथै वीरेन्द्रनगरमा सुविधासम्पन्न ‘नाटक घर’ सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।

साथै, सामाजिक रुपान्तरणका लागि घरेलु हिंसा तथा महिलामाथि हुने हिंसामा शून्य सहनशीलताको नीति अख्तियार गर्ने, जातीय, सांस्कृतिक, लैङ्गिक, वर्गीय र सामाजिक विभेदको पूर्ण रुपमा अन्त्य गर्नुका साथै धुम्रपान, मद्यपान, लागूपदार्थ दुव्र्यशन जस्ता सामाजिक विकृतिको उचित व्यवस्थापन, नियमन र नियन्त्रण गरिने संकल्प गरेको छ ।