
सुर्खेत: प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि कर्णाली प्रदेशभर तयारी तीव्र पारिएको छ । हामीले हाजबाट २२ गतेसम्मका लागि कर्णालीमा दिनभरका गतिविधिलाई समिक्षाको माध्यमबाट समेट्ने प्रयास गरेका छौं । अब लागौँ फागुन १८ गते दिनभरका गतिविधि तर्फ, प्रदेशका अधिकांश जिल्लामा मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू निर्वाचन सामग्रीसहित कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् ।
सुर्खेतमा ५१ प्रकारका मतदान सामग्री बोकेर कर्मचारीहरू आफ्नो–आफ्नो मतदान स्थलतर्फ खटिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, सिल गर्ने सामग्रीलगायत आवश्यक सामग्री बुझेर कर्मचारीहरू बिहानैदेखि कार्यक्षेत्रतर्फ लागेका हुन् । जिल्लाका दुई निर्वाचन क्षेत्रका १ सय ४० मतदान स्थलमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र र सामग्री बुझेर मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरू टाढा–दुर्गम मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् । जिल्लाभर ४ सय ३० मतदान अधिकृतरसहायक मतदान अधिकृतसहित १ हजार २ सय २८ कर्मचारी परिचालित छन् । सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।
हिमाली जिल्ला हुम्लामा दुर्गम मतदान केन्द्रमा कर्मचारी र सामग्री पु¥याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ । नाम्खा गाउँपालिकाको चाला र लिमी क्षेत्रका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन सामग्री ढुवानी गरिएको हो । पैदल मार्ग कठिन र समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत ढुवानी गरिएको प्रशासनले जनाएको छ ।
जुम्लामा ९ सय २५ अस्थायी मतदाता कायम गरिएको छ । जिल्लाभर १ सय १० मतदान केन्द्र र ८५ मतदान स्थल तोकिएका छन् । कुल ७१ हजार ७ सय ३९ मतदाता रहेका जुम्लामा ६ सय ५४ कर्मचारी परिचालन गरिएको छ । निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रुकुमपश्चिममा मौन अवधिको पालना सुनिश्चित गर्न सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा मौन अवधिमा भोट माग्ने मात्र नभई राजनीतिक भेटघाटसमेत नगर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । डोल्पामा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच झडप भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारमा रहेका दुई दलका कार्यकर्ताबीच उपल्लो डोल्पामा झडप भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पुष्टि गरिन् ।
यसैबीच, सुर्खेतमा सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाई सार्वजनिक शान्ति भंग गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सल्यानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र खाद्यान्न लोड गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा रक्सी, बियर, चामल र खाने तेल भेटिएको प्रहरीले जनाएको छ । घटनापछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ भने स्थानीयले आचारसंहिता उल्लंघन भएको भन्दै विरोध जनाएका छन् । सम्बन्धित पक्षले भने सामग्री ढुवानीका लागि रहेको दाबी गरेका छन् । समग्रमा, फागुन १८ गते कर्णाली प्रदेशभर निर्वाचन तयारी व्यवस्थापकीय रूपमा तीव्र र व्यवस्थित देखिएको छ । सुरक्षा परिचालन कडा पारिएको छ भने दुर्गम क्षेत्रमा विशेष व्यवस्थासमेत गरिएको छ । यद्यपि, आचारसंहिता सम्बन्धी केही घटनाले प्रशासन र अनुगमन निकायलाई थप सतर्क रहनुपर्ने संकेत दिएको छ ।

जगतदल जनाला विक । १९ फाल्गुन २०८२, मंगलवार १०:४६