झारफुक र बोक्सीको नाममा हिंसा : अन्धविश्वासको निशानामा महिला र बालिका

तस्बीर:एआई

सुर्खेत: कर्णाली प्रदेशमा अन्धविश्वास, कुसंस्कार र कुरीतिका नाममा महिला तथा बालिकामाथि हुने हिंसाका घटना अझै रोकिएका छैनन् । झारफुक गर्ने बहानामा बालिकामाथि कुटपिटदेखि बोक्सीको आरोप लगाएर महिलामाथि सार्वजनिकस्थलमै अमानवीय व्यवहार गर्ने घटनाले कर्णालीमा विद्यमान सामाजिक कुरीति र अन्धविश्वासको गम्भीर अवस्था उजागर गरेको छ ।
पछिल्ला केही एक महिनामा जाजरकोट र सुर्खेतमा सार्वजनिक भएका दुई घटनामा प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि यी घटना बाहिर आएका हुन् । घटनामा संलग्न आरोपित पक्राउ परे पनि यस्ता हिंसाको मूल कारण भने समाजमा अझै गहिरो रूपमा रहेको अन्धविश्वास, अशिक्षा, सामाजिक विभेद र कमजोर चेतनासँग जोडिएको देखिन्छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमाका ५९ वर्षीय हिरालाल चलाउनेलाई १४ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा कुटपिट गरेको आरोपमा प्रहरीले यहि साउन २१ गते पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चलाउनेले गत असार ५ गते दिउँसो करिब १ बजे बारेकोट गाउँपालिका–६ स्थित सार्वजनिक सडकमा बालिकालाई झारफुक गर्ने बहानामा बालबालिकामाथि कुटपिट गरेका थिए । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चलाउनेलाई साउन २१ गते पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीरकुमार खड्काका अनुसार घटनामा बालिकामाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर आरोपितलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चलाउनेलाई साउन २२ गते जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकालाई उपचार वा झारफुकका नाममा कुटपिट गर्नु सामान्य घटना नभएको प्रहरीको भनाइ छ । यस्ता गतिविधिले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्ने भएकाले दोषीमाथि कानुनी कारबाही आवश्यक हुने प्रहरीको धारणा छ ।
यसैबीच सुर्खेतमा यहि साउन १३ गते एक ५२ वर्षीया महिलालाई ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट गरेको आरोपमा सामाजिक सञ्जालमा ‘पाथीभरा माता’ भनेर चिनिने वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षीय समीर थापा साेही दिन पक्राउ परे ।
सार्वजनिकस्थलमा एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले थापालाई पक्राउ गरेर अनुसन्धान थालेकाे छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापाले महिलाको कपाल समातेर घिसार्ने, थप्पड हान्ने तथा अपशब्द प्रयोग गर्ने गरेको देखिन्छ । उनले महिलालाई ‘बोक्सी’ भन्दै आफ्नो खुट्टा ढोग्न लगाएकोसमेत भिडियोमा देखिन्छ । प्रहरीका अनुसार थापाले आफूलाई दैवी शक्ति प्राप्त भएको दाबी गर्दै आएका थिए । घटनाका क्रममा उनले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्कालै घटनालाई गम्भीरतापूर्वक लिएर आरोपितलाई नियन्त्रणमा लिएको हो ।
`सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि हामीले तत्काल एक्सन लिएका हौँ । उपचारको बहानामा अभद्र व्यवहार भएको देखिन्छ,´ एसपी पोखरेलले भने, ´पीडित महिलाको सुरक्षा र न्यायका लागि हामी प्रतिबद्ध छौँ । आरोपीलाई हिरासतमा लिएर थप कानुनी प्रक्रिया सुरु गरिएको छ ।´
प्रहरीले घटनाको प्रकृति र प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
कर्णालीका ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य समस्या, मानसिक समस्या तथा अन्य सामाजिक समस्यालाई वैज्ञानिक तथा चिकित्सकीय दृष्टिकोणबाट बुझ्नुभन्दा झारफुक, धामीझाँक्री र अन्धविश्वाससँग जोड्ने प्रवृत्ति अझै कायम छ । विशेषगरी महिला, बालबालिका, दलित तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिहरू यस्ता आरोप र हिंसाको बढी जोखिममा पर्ने गरेका छन् । कसैलाई बिरामी परेको, असामान्य व्यवहार गरेको वा परिवारमा कुनै समस्या आएको अवस्थामा त्यसको कारण ‘बोक्सी’ वा ‘दैवी शक्ति’सँग जोड्ने र त्यसपछि झारफुक तथा कुटपिट गर्ने प्रवृत्तिले मानवअधिकारको गम्भीर उल्लङ्घन हुने गरेको अधिकारकर्मीहरू बताउँछन् ।
बोक्सीको आरोप लगाउनु आफैँमा गम्भीर सामाजिक हिंसा हो । त्यसमाथि शारीरिक कुटपिट, मानसिक यातना, सार्वजनिक बेइज्जती, मलमूत्र खुवाउने, निर्वस्त्र बनाउने, गाउँ निकाला गर्ने वा अन्य अमानवीय व्यवहार गर्ने जस्ता घटना भएमा पीडितको जीवन नै जोखिममा पर्न सक्छ ।
नेपालको कानुनले बोक्सीको आरोप लगाउने तथा त्यस्तो आरोपका आधारमा कसैलाई कुटपिट, यातना वा अमानवीय व्यवहार गर्ने कार्यलाई अपराध मानेको छ ।
‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२’ ले बोक्सीको आरोप लगाउने, सामाजिक बहिष्कार गर्ने, अपमान गर्ने, कुटपिट गर्ने तथा विभिन्न प्रकारका यातना दिने कार्यलाई कसुरका रूपमा परिभाषित गरेको छ । कसुरको प्रकृति र गम्भीरताका आधारमा दोषीलाई कैद तथा जरिवानासहितको सजाय हुन सक्ने कानुनी व्यवस्था छ । त्यसैगरी बालबालिकामाथि हुने कुटपिट तथा हिंसालाई पनि प्रचलित कानुनले अपराधका रूपमा लिएको छ । झारफुक, उपचार वा अन्य कुनै बहानामा बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिन पाइँदैन ।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक हुने भिडियो तथा सूचनाका आधारमा मात्रै नभई समुदायबाट प्राप्त सूचनालाई समेत आधार बनाएर यस्ता घटनाको अनुसन्धान गर्ने जनाएको छ ।
सुर्खेतका एसपी पोखरेलले अन्धविश्वासका नाममा कसैमाथि हिंसा भइरहेको थाहा पाएमा तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरेका छन् । उनका अनुसार सामाजिक कुरीति र अन्धविश्वासका नाममा हुने हिंसालाई सामान्य सामाजिक व्यवहारका रूपमा लिन नहुने र पीडितले न्याय पाउने वातावरण बनाउन प्रहरी प्रतिबद्ध छ ।
जाजरकोट प्रहरीले पनि बालबालिकामाथि हुने हिंसाका घटनामा तत्काल सूचना दिन आग्रह गरेको छ । विशेषगरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्रै घटना थाहा पाउने अवस्थाभन्दा समुदायमै हिंसा रोक्ने संयन्त्र प्रभावकारी बनाउनुपर्ने प्रहरीको भनाइ छ ।
कर्णालीमा अन्धविश्वास र कुरीतिविरुद्ध कानुनी कारबाहीसँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक देखिएको छ । प्रहरीमा उजुरी परेपछि आरोपित पक्राउ गर्ने र मुद्दा चलाउने प्रक्रिया महत्वपूर्ण भए पनि यस्ता घटना दोहोरिन नदिन समुदायको सोच र व्यवहारमा परिवर्तन आवश्यक हुन्छ ।
स्वास्थ्य समस्या भए स्वास्थ्य संस्थामा लैजाने, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भए विशेषज्ञबाट परामर्श लिने र कुनै व्यक्तिको व्यवहार असामान्य देखिएमा त्यसलाई ‘बोक्सी’ वा ‘दैवी शक्ति’सँग जोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता छ । कर्णालीमा स्वास्थ्य सेवा र विशेषज्ञको पहुँच अझै समान रूपमा विस्तार हुन नसकेको अवस्थामा झारफुक र धामीझाँक्रीप्रतिको निर्भरता कतिपय समुदायमा कायम छ । यस्तो अवस्थालाई अन्त्य गर्न स्थानीय सरकार, प्रहरी, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज तथा समुदायका अगुवाले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।

भिडियो आएपछि मात्र कारबाही कि समुदायमै रोकथाम ?

जाजरकोट र सुर्खेतका पछिल्ला घटनाको अर्को महत्वपूर्ण पक्ष सामाजिक सञ्जाल बनेको छ । दुवै घटनामा भिडियो सार्वजनिक भएपछि प्रहरीको ध्यानाकर्षण भएको देखिन्छ । यसले सामाजिक सञ्जालले अपराध सार्वजनिक गर्न र प्रहरीसम्म सूचना पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको देखाए पनि प्रत्येक हिंसाको घटना भिडियो बनेर भाइरल भएपछि मात्रै कारबाही हुने अवस्था भने चिन्ताजनक छ ।
ग्रामीण क्षेत्रमा हुने धेरै हिंसाका घटना सार्वजनिक नहुने, पीडितले सामाजिक दबाबका कारण उजुरी गर्न नसक्ने तथा परिवार र समुदायमै घटना मिलाउने प्रवृत्तिले वास्तविक तथ्य बाहिर आउन नसक्ने जोखिम हुन्छ ।
त्यसैले प्रहरीको पहुँच विस्तारसँगै स्थानीय तहमा पीडितमैत्री उजुरी प्रणाली, कानुनी सहायता, महिला तथा बालबालिकाको संरक्षण संयन्त्र र समुदायस्तरीय निगरानी आवश्यक छ ।
कर्णालीमा झारफुक, बोक्सीको आरोप, छाउपडी जस्ता अन्धविश्वासका नाममा हुने हिंसाहरु कानुनी समस्या मात्र होइनन्, सामाजिक चेतनासँग जोडिएको विषय पनि हुन् । १४ वर्षीया बालिकामाथि झारफुकका नाममा भएको कुटपिट र सुर्खेतमा महिलामाथि बोक्सीको आरोप लगाएर गरिएको सार्वजनिक हिंसाले कर्णाली समाजमा अझै विद्यमान कुरीतिको गम्भीर चित्र देखाएको छ ।
पीडितलाई न्याय दिलाउन आरोपितमाथि कानुनी कारबाही आवश्यक भए पनि त्यतिमै समस्या समाधान हुँदैन । यस्ता घटना दोहोरिन नदिन अन्धविश्वासविरुद्ध निरन्तर जनचेतना, वैज्ञानिक सोचको विकास, स्वास्थ्य सेवाको पहुँच, महिला तथा बालबालिकाको संरक्षण र समुदायस्तरीय निगरानीलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ । प्रहरीले घटनापछि गर्ने कारबाहीसँगै स्थानीय सरकार र नागरिक समाजले घटनाअघि नै हिंसा रोक्ने वातावरण बनाउन सके मात्रै कर्णालीमा बोक्सीको आरोप, झारफुकका नाममा कुटपिट र अन्य अमानवीय व्यवहार अन्त्य गर्न सकिने सराेकारवालाहरुकाे भनाइ छ । अन्धविश्वासको नाममा कसैको शरीरमा हात उठाउने, सार्वजनिक रूपमा अपमान गर्ने वा बालबालिकामाथि यातना दिने कार्य कुनै पनि अवस्थामा परम्परा वा उपचारको विधि हुन सक्दैन । यो अपराध हो र अपराधलाई सामाजिक स्वीकृति होइन, कानुनी तथा सामाजिक प्रतिरोध आवश्यक छ ।