
सुर्खेत: प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि कर्णाली प्रदेशभर तयारी तीव्र पारिएको छ । मतदान हुन अब एक दिन मात्र छ । निर्वाचन आयोगकाे कार्यतालिका अनुसार माैन अवधि सुरु भएको छ । हामीले निर्वाचनकाे मतपरिणाम सम्पन्न नहुञ्जेलसम्मका लागि कर्णालीका १० जिल्लामा दिनभरका गतिविधिलाई समिक्षाको माध्यमबाट समेट्ने प्रयास गरेका छौं । अब लागौँ फागुन १९ गते दिनभरका गतिविधि तर्फ, प्रदेशका १० वटै जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्री ढुवानी, कर्मचारी परिचालन, सुरक्षा व्यवस्थापन तथा सर्वदलीय–सर्वपक्षीय बैठक सम्पन्न भएसँगै प्रदेशभर निर्वाचनपूर्व वातावरण सतर्कता र समन्वयका बीच नियन्त्रणमा रहेको देखिएको छ । प्रदेशका जाजरकोट, सल्यान, जुम्ला, कालिकोट, डोल्पा, दैलेख, हुम्ला, रुकुमपश्चिमलगायत जिल्लामा आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप, मतदाता नामावली र गोप्य कक्ष निर्माण सामग्री सम्बन्धित मतदान केन्द्रमा सुरक्षित रूपमा पु¥याइएको छ । हिमाली तथा दुर्गम क्षेत्रमा हेलिकप्टर, पैदल मार्ग तथा घोडा–खच्चड प्रयोग गरी सामग्री ढुवानी गरिएको छ भने केही जिल्लामा सडक पहुँच विस्तारका कारण यसपटक सवारी साधनमार्फत सहज ढुवानी सम्भव भएको छ ।
जाजरकोटमा सात स्थानीय तहअन्तर्गत ८८ मतदान स्थलका १ सय ४७ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सबै कर्मचारी तोकिएको केन्द्रमा खटिएका छन् । जिल्लामा १६ मतदान केन्द्र अति संवेदनशील, ५७ संवेदनशील र १५ सामान्य रूपमा वर्गीकरण गरिएको छ । निर्वाचनका लागि ८ सय ७९ कर्मचारी, ४ सय ३६ स्वयंसेवक तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ ।
सल्यानमा ११७ मतदान स्थलअन्तर्गत २०५ मतदान केन्द्रका लागि आवश्यक सम्पूर्ण सामग्री पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ४३ मतदान स्थल अति संवेदनशील र ५७ संवेदनशील सूचीमा राखिएका छन् । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदानका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए । यहाँ नेपाली सेना १३ स्थानमा परिचालन गरिएको छ भने म्यादी प्रहरीसहित करिब एक हजार सुरक्षाकर्मी खटिएका छन् ।
जुम्लाका १ सय १० वटै मतदान केन्द्रमा कर्मचारी पुगेर केन्द्र व्यवस्थापन सुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार यसपटक अधिकांश मतदान केन्द्रसम्म सडक पुगेकाले सवारी साधनमार्फत सामग्री ढुवानीमा सहजता भएको छ । अघिल्लो निर्वाचनमा पैदल पुग्नुपर्ने धेरै केन्द्रमा यसपटक गाडी प्रयोग गरिएको प्रशासनले जनाएको छ ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सबै ७० मतदान केन्द्रमा सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जानकारी दिइन् । उत्तरी भेगका २३ मतदान केन्द्रमा दुई हेलिकप्टरमार्फत चार दिन लगाएर सामग्री पु¥याइएको थियो ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडक खण्डमा फागुन १९ गते बिहान शंकास्पद वस्तु फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी सुधीरराज शाहीका अनुसार प्रेसर कुकरभित्र गोबर र माटो राखिएको पाइएको छ । नेपाली सेनाको टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको उक्त वस्तु त्रास फैलाउने उद्देश्यले राखिएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, निर्वाचनपूर्व अवस्था, सुरक्षा तयारी र मानवअधिकार अनुगमनबारे छलफल गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नियोग र निर्वाचन पर्यवेक्षण समिति नेपालका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग भेटघाट गरेका छन् । प्रमुख जिल्ला अधिकारी जगदिश्वर प्रसाद उपाध्यायले प्रशासन, सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय सुदृढ रहेको बताए । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटाले प्रदेशस्तरबाट सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उल्लेख गरेका छन् ।
कालिकोटमा १२८ मतदान केन्द्रमा सामग्री पुगेको छ भने दुर्गम बस्तीमा पैदल र घोडारखच्चडमार्फत ढुवानी गरिएको प्रशासनले जनाएको छ । दैलेख र हुम्लामा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भई मतदान केन्द्र व्यवस्थापन कार्य अघि बढाइएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मौन अवधि सुरु भइसकेपछि पनि चुनाव चिन्हसहित सवारी प्रयोग गरिएको भन्दै आचारसंहिता उल्लंघनको गुनासो आएको छ । स्थानीयवासीले उक्त गतिविधिलाई चासोपूर्वक हेरिरहेका छन् ।
प्रशासनले अति संवेदनशील मतदान स्थलमा साना विवाद बढ्न सक्ने, हिमाली क्षेत्रमा मौसम प्रतिकूल भए यातायात र सञ्चार अवरुद्ध हुन सक्ने तथा मौन अवधिमा मतदाता प्रभावित गर्ने गतिविधि दोहोरिन सक्ने जोखिम औँल्याएको छ । डोल्पाजस्ता जिल्लामा देखिएको झडपले अन्य स्थानमा पनि राजनीतिक तनाव बढ्न सक्ने संकेत देखिएको छ ।
समग्रमा कर्णाली प्रदेशमा निर्वाचनपूर्व अवस्था व्यापक तयारी र सुरक्षा समन्वयका बीच नियन्त्रणमा रहेको देखिए पनि संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी आवश्यक रहेको सरोकारवालाको भनाइ छ । प्रशासन, सुरक्षा निकाय र अनुगमन संस्थाहरूले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा राखिएको जनाएका छन् ।

खुलानजर । २० फाल्गुन २०८२, बुधबार ०८:४६