इनिसा विक हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग


सुर्खेत: कर्णाली सुन–चाँदी, रत्न तथा आभूषण संघ सुर्खेतले १६ वर्षीया बालिका इनिसा विकको हत्या प्रकरणमा निष्पक्ष र दबाबमुक्त छानबिन गर्न माग गरेको छ। संघले प्रमुख जिल्ला अधिकारीमार्फत मंगलबार ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न आग्रह गरेको हो।
संघका अनुसार गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी इनिसा विक गत फागुन २३ गते बिहान करिब ६ बजे `प्रायटिकल´ कक्षा छ भन्दै निस्केकी थिइन्। तर, साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गर्दा उनी वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत, रक्ताम्य र नग्न अवस्थामा फेला परेकी थिइन्।
घटनाको प्रकृति हेर्दा इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यो घटना अत्यन्तै दुःखद, अमानवीय र समाजलाई स्तब्ध बनाउने खालको रहेको संघले जनाएको छ। घटनाले सम्पूर्ण नागरिकलाई गम्भीर चिन्तित बनाएको पनि संघले उल्लेख गरेको छ।


घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाइएको छ। संघले अनुसन्धान प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
संघका महासचिव मदन कुमार सिंह र अध्यक्ष दिनेश घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउन जोड दिइएको छ। दोषी जोसुकै भए पनि कानुन बमोजिम कडा कारबाही हुनुपर्ने संघको माग छ।
यस्तै, घटनाको निष्पक्ष छानबिन र दोषीलाई दण्डित गर्न सुर्खेतका सम्पूर्ण सुन–चाँदी व्यवसायी एकजुट रहेको जानकारी गराइएको छ। संघले पीडित परिवारलाई न्याय दिलाउन सबै पक्ष गम्भीर बन्नुपर्ने पनि उल्लेख गरेको छ।
पछिल्लो समय देशभर बालिका तथा महिलामाथि हुने हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा यस्ता जघन्य अपराधमा संलग्नलाई कठोर कारबाही गर्न नसकिए समाजमा दण्डहीनता मौलाउने खतरा रहेको संघको ठहर छ। त्यसैले राज्यका निकायहरूले यस्ता घटनामा शून्य सहनशीलताको नीति अपनाउँदै छिटो र प्रभावकारी न्याय सुनिश्चित गर्नुपर्नेमा संघले जोड दिएको छ।