कर्णाली कप प्रदेशस्तरीय रेटिङ चेस प्रतियोगिता सुरु


सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली कप प्रदेशस्तरीय रेटिङ चेस प्रतियोगिता सुरु भएको छ।
कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग, नेपाल बुद्धिचाल महासंघको समन्वय तथा कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा तीन दिने प्रतियोगिता सञ्चालन भएको हो।
प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी तथा व्यवस्थापकहरू सहभागी भएका छन्। सहभागी खेलाडीहरूको खानपान र आवासको व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ।
कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्लमाक्स श्रेष्ठका अनुसार प्रतियोगिता असार २० गतेदेखि सुरु भई २२ गतेसम्म सञ्चालन हुनेछ। प्रदेशमा लुकेर रहेका प्रतिभावान खेलाडीको पहिचान र विकास गर्नुका साथै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सक्षम खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्लमाक्स श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाका बुद्धिचाल संघका पदाधिकारी, खेलाडी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा विभिन्न जिल्लाबाट पुरुष तथा महिला विधामा गरी ८१ जना खेलाडी सहभागी भएका छन्। प्रतियोगिता वीरेन्द्रनगरस्थित बगैँचा कटेजमा सञ्चालन भइरहेको छ।