चिकित्सकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि जुम्लाका चिकित्सकले दिए सामूहिक राजीनामा

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला)का चिकित्सकले सामूहिक राजीनामा पत्र बुझाएका छन्। शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका हुन्। उनीहरूले राजीनामा दिने पत्र उपकुलपति डा मङ्गल रावललाई बुझाएका छन्।

‘यस्तो विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा हामी सेवा दिन असमर्थ छौँ,’पत्रमा भनिएको छ,‘कानुनी राज्यको आभास नभएकाले र विरोधको नयाँ स्वरूप अनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरू आजकै मितिबाट सामूहिक राजीनामा पेस गरेका छौँ।’ पत्रमा उनीहरूले प्रतिष्ठानका उपकुलपति समक्ष राजीनामा पत्र पेस गरेको देखिन्छ।

प्रतिष्ठानका इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा. अनुप मङ्गल समालका अनुसार ६० जना चिकित्सकको हस्ताक्षर सहित उपकुलपतिसमक्ष राजीनामा पत्र बुझाइएको हो। उनले भने,‘आज ६० जना डाक्टरले सामूहिक राजीनामा भनेर साइन गरेको अवस्था हो।’

प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत मेडिकल अधिकृत डा. करण शाहमाथि आकस्मिक कक्षमा भएको साङ्घातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा. करणमाथि नै झुटो मुद्दा दायर गरी पक्राउ पुर्जी समेत जारी भएको पत्रमा उल्लेख छ।

त्यसको विरोधमा शान्तिपूर्ण तरिकाले आन्दोलनरत प्रतिष्ठानका सम्पूर्ण स्वास्थ्यकर्मीहरूमाथि स्थानीय अराजक केही व्यक्तिले अबोध नाबालकहरूलाई प्रयोग गरी मुठभेटको अवस्था सृजना गर्ने प्रयास भएको चिकित्सकको तर्क छ।

भदौ पहिलो साता डा. साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेको भिडियो बाहिरिएको थियो। चिकित्सक पिटिएको सवालमा नेपाल चिकित्सक सङ्घले विरोध जनाउँदै पिट्ने व्यक्तिलाई कारबाहीका लागि पहल गर्दै आएको छ।

त्यसो त मेडिकल काउन्सिलले समेत चिकित्सकले कुनै हिंसा वा स्वास्थ्य उपचार गर्दा लापरबाही गरेको छ वा छैन तत् सम्बन्धमा अनुसन्धान समितिले अनुसन्धान गर्ने हुँदा पीडित पक्षले समितिमा उजुरी गर्नुपर्ने कानुनी व्यवस्था भएकाले अनुसन्धान समितिले स्वतन्त्र रूपमा गर्ने काम कारबाही प्रभावित हुने किसिमबाट मुद्दा दर्ता तथा पक्राउपूर्जी जारी गर्ने वा पक्राउ गर्ने लगायतका काम कारबाही नगर्न नगराउनु भन्दै विज्ञप्ति जारी गरेको छ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भई चिकित्सकीय पेसा सञ्चालन गर्ने वा चिकित्सकीय कार्य गर्ने चिकित्सकहरूले कुनै व्यक्तिको स्वास्थ्योपचार गर्दा ज्यान मर्न वा अङ्गभङ्ग हुन गएमा वा स्वास्थ्य उपचारको सिलसिलामा कुनै दुर्घटना हुन गई स्वास्थ्य उपचारमा संलग्न चिकित्सक दोषी देखिने अवस्था भएमा सो चिकित्सकको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८९ (३) मा नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा पाँच जनाको अनुसन्धान समिति रहने कानुनी व्यवस्थाको बारेमा काउन्सिलले स्मरण गराएको छ।