साझा घरका बालबालिकालाई जयन्तीले सहयोग गरिन् कपडा

सुर्खेत: अमेरिकामा बसेर नेपालमा समाजसेवा गरिरहेकी समाजसेवी जयन्ती थापाले साझाघरका बालबालिकाहरुलाई नयाँ लुगा उपलब्ध गराएकी छन्।
दशैंको अवसरमा साझाघरमा बसिरहेका बालबालिकालाई दशैंको अवसर पारेर करिब २५ हजार बराबरको लुगा उपलब्ध गराएको जयन्ती थापाले बताइन्। समाजसेवी थापा अमेरिकामा रहेका कारण उनका पिता धर्मजंग थापा र माता पार्वती थापाले उनको तर्फबाट साझाघरका ५४ बालबालिकाहरुलाई नयाँ लुगा एक समारोहका बीचमा हस्तान्तरण गरेका छन्।

उनीहरुलाई पनि नयाँ लुगा लगाउन पाएको भए हुने भन्ने मनको इच्छा पूरा भएकोमा छोरीको कार्यले आफूलाई समेत आनन्दित बनाएको जयन्तीका पिता धर्मजंग थापाले बताए ।

दशैं धनिहरुका लागि मात्र नभई गरिब र असहायहरु सबैका लागि बराबर भएर आउन सक्यो भने दशैंको महत्व बढ्न सक्छ। हुने खानेहरु जहिलेपनि दशैं झैँ भोजन गर्छन भने हुँदा खानेहरुले मीठो खानका लागि दशैं कुर्नुपर्ने अवस्था अझैपनि जस्ताको त्यस्तै छ।

गरिब र असहाय बालबालिकाहरुलाई पनि नयाँ नानामा रमाउने मन हुन्छ भन्ने बुझेर आफूले आफ्नो कमाईको केही प्रतिशत छुट्याएको रकमबाट उनीहरुलाई सहयोग गर्न पाएकोमा आफूलाई पनि दशैं आए जस्तो महसुस भएको जयन्तीले बताइन्।

उनले सुर्खेत, रुकुम, कैलाली तथा चितवन लगायतका जिल्लाहरुमा असहाय बालबालिकाहरुको शिक्षा दिक्षाकोसमेत जिम्मा लिएकी छन्। विशेष गरि दैविप्रकोपमा परेका, आपतविपतमा परेकाहरुलाई समेत सहयोग गर्दै आइरहेकी छन्। पछिल्लो समयमा भाषा, साहित्यको क्षेत्रमा समेत जयन्तीले सहयोग गरिरहेको उनका पिता धर्मजंग थापाले बताए।