दलित अगुवा र महिला जनप्रतिनिधिहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सुर्खेत: भेरीगंगा नगरपालिकामा दलित समुदायका अगुवा अभियन्ता र दलित महिला जनप्रतिनिधिहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम छिञ्चुमा सम्पन्न भएको छ। मंगलबार दलित महिला संघ (फेडाे) सुर्खेतद्वारा आयोजित कार्यक्रमले दलित समुदायका प्रतिनिधिहरूलाई नेतृत्व विकास, कानुनी अधिकार, नीति निर्माणमा सहभागिता र समाज परिवर्तनका रणनीतिहरूमा केन्द्रित प्रशिक्षण प्रदान गरेको फेडाे सुर्खेतकी सचिव खगीसरा वलीले बताइन् । इन्सेक कर्णाली प्रदेश संयाेजक नारायण सुवेदीले कार्यक्रमकाे सहजिकरण गर्दै नेतृत्व गर्ने व्यक्तिहरुले आफ्नो   सहभागितात्मक शैली अपनाउनुपर्नु र असल आचरणले समाज परिवर्तन गर्न सकिने बताए । कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि  तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उनीहरूले दलित समुदायको सशक्तीकरण र महिला प्रतिनिधिहरूको भूमिकालाई थप प्रभावकारी बनाउने आवश्यकता औंल्याए। कार्यक्रममा विशेषगरी सामाजिक न्याय, दलित अधिकार र नेतृत्व क्षमताका विविध पक्षहरूमा जानकारी गराइएकाे थियाे। सहभागीहरूलाई प्रभावकारी सञ्चार, नीति निर्माणमा पहुँच र समुदायमा समानताका मुद्दाहरू प्रवर्द्धन गर्न आवश्यक सीपहरू दिइएको छ। सहभागी दलित महिला जनप्रतिनिधिहरूले यो प्रकारका कार्यक्रममा आफूहरूले नयाँ ज्ञान र सीप सिक्न पाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले समाजका हरेक क्षेत्रबाट दलितहरूको अधिकार सुनिश्चित गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताए।  यो कार्यक्रमले दलित समुदायको नेतृत्व क्षमता र महिला प्रतिनिधित्वको प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। इलाका प्रहरी कार्यालय छिञ्चुले लैङ्गिक हिंसा विरुद्धको  १६ दिने अभियान  र प्रहरीले गर्दै आएका न्याय र सुरक्षाका विषयमा कार्यालयका प्रतिनिधि गणेशबहादुर खत्रीले जानगराएका थिए । कार्यक्रममा २२ जनाकाे सहभागीता रहेकाे थियाे ।