दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै पण्डित पन्त


बैतडी: बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित समुदायको बस्तीमा पुगेर धार्मिक कर्मकाण्ड गर्दै आएका छन्। जातीय विभेद र धार्मिक कुरीति हटाउने अभियानअन्तर्गत उनले दलित समुदायका घर तथा बस्तीमा वैदिक विधिअनुसार सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत विभिन्न धार्मिक कर्मकाण्ड गर्दै आएका हुन्।
दलित बस्तीमा धार्मिक तथा सांस्कृतिक कुरीति हटाउने उद्देश्यले आफूले हालसम्म सयौँ धार्मिक अनुष्ठान सम्पन्न गरेको पन्तले बताए। उनले ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ वटा लघुरुद्राभिषेक, १८९ वटा महारुद्राभिषेक, ३ हजार ९ सय ११ वटा न्वारन, ५ सय ६७ वटा व्रतबन्ध तथा विवाह, ७ सय २२ वटा सत्यनारायण पूजा, ६ सय २२ वटा ग्रहशान्ति, ३९ वटा शतचण्डी, ६२ वटा अखण्ड रामायण, ५ सय ७९ वटा स्वस्थानी व्रतकथा, ५५ वटा त्रिपिण्डी श्राद्ध, ७९ वटा गरुड पुराण, ७ सय ११ वटा पार्वण श्राद्ध र ९ सय ३४ वटा एकोदिष्ट श्राद्धलगायतका धार्मिक कर्मकाण्ड गरिसकेका छन्।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले यसअघि दमाईँ, कामी, बादी, पोणे, कुमाललगायत शिल्पी समुदायका १ हजार ६ सय ९३ जनालाई जनैधारण गराएको बताए। त्यस्तै, ४ सय ११ जना दलित महिलालाई समेत दुधागो (दोरक) धारण गराएको उनको भनाइ छ।
धर्मग्रन्थमा दलित र महिलालाई जातीय तथा लैङ्गिक आधारमा विभेद नगरिएको दाबी गर्दै पन्तले समाजमा विद्यमान जातीय विभेद र छाउपडीजस्ता कुरीति अन्त्य गर्न धार्मिक अगुवाहरू नै अघि सर्नुपर्ने बताए।
‘सुदूरपश्चिममा अहिले पनि धेरै ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह र व्रतबन्ध गराउँदैनन्। ‘चिहानघाटमा समेत जातीय विभेद हुने गरेको छ। यस्ता कुरीति हटाउनुपर्छ भनेर म आफैँ अभियानमा लागेको हुँ,’ उनले भने, ‘दलितको घरमा धार्मिक कार्य गराउनेदेखि त्यहाँ भोजन ग्रहण गर्नेसम्म गर्दै आएको छु।’
समाजमा दलित समुदायभित्रै पनि विभेद रहेको आफूले देखेको पन्तले बताए। ‘एक दलित समुदायले अर्को दलित समुदायको पानी नचलाउने र भान्सा नचलाउने अवस्था पनि छ। यस्तो विभेद पनि हटाउनुपर्छ। विभेद जहाँ भए पनि गलत हो,’ उनले भने।
सन्ध्या पूजाका क्रममा अथर्ववेदको मन्त्र उच्चारण गर्दै ‘यो दलितको वेद हो’ भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा अझै कायम रहेको उनको भनाइ छ। अथर्ववेदमा रहेको ज्ञानकै आधारमा आधुनिक प्रविधि र उपकरणको विकास भएको दाबी गर्दै उनले समाज निर्माणमा योगदान गर्ने शिल्पी समुदायमाथि विभेद गर्नु गलत भएको बताए।
‘हामी सबै मोबाइल, रेडियो, टेलिभिजन, गाडी र हवाईजहाजजस्ता प्रविधिको प्रयोग गरिरहेका छौँ। तर, यस्ता वस्तु निर्माण गर्ने शिल्पकारमाथि नै विभेद भइरहेको छ। यस्तो कुरीति हटाउनैपर्छ,’ उनले भने।

कुरीति विरुद्धको अभियान थालेपछि ५७५ जजमान छुटे


दलित बस्तीमा पुगेर कर्मकाण्ड गर्न थालेपछि आफ्ना पुर्ख्यौली ५ सय ७५ जना जजमान छुटेको पन्तले बताए। सामाजिक कुरीति र जातीय विभेदविरुद्ध अभियान सञ्चालन गरेपछि सामाजिक सञ्जालमार्फत आफूलाई तुच्छ गालीगलौजसमेत गर्ने गरिएको उनको गुनासो छ।
‘मलाई सामाजिक सञ्जालमार्फत तुच्छ गाली गरे पनि म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन,’ उनले भने, ‘दलितमाथि विभेद गर्ने जोसुकैलाई कानुनी कारबाही हुनुपर्छ।’
पन्तले प्रत्येक हिन्दु परिवारको घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मठ, शङ्ख–घण्ट र पाञ्चायन देवताको स्थापना गराउने योजना रहेको बताए। धर्मशास्त्रका आधारमा महिला र पुरुषलाई नै मुख्य मानव जातिका रूपमा बुझ्नुपर्ने भन्दै उनले विभेदकारी मानिएका ग्रन्थ तथा धार्मिक व्याख्यामा समयानुकूल सुधार आवश्यक रहेको धारणा राखे। सबै धार्मिक क्षेत्र र अनुष्ठानमा सबै समुदायका लागि समान र समावेशी पूजा–पाठको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। धार्मिक कर्मकाण्डका लागि आफुलाई ९८६०२७८१०० नम्बरमा मा सम्पर्क गर्न सकिने उनको भनाई छ ।