‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान ल्याएर जनवादी कलाकार सुर्खेतमा

मंगलबार गुञ्जिनेछन् क्रान्ति र परिवर्तन र एकताका गीतहरु ।

सुर्खेत: ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान ल्याएर जनवादी कलाकारको टोली सुर्खेतमा आएको छ । मंगलबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित कार्यक्रममा १६ जना जनवादी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका हुन् । कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल। लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहेका छन् ।
यसअघि धनगढीमा कार्यक्रम सम्पन्न गरेको टोलीले मंगलबार सुर्खेत र क्रमशः सबै प्रदेशमा कार्यक्रम गर्ने देशमा एकताको सन्देश छर्ने उद्देश्य राखेको छ । मंगलबारको कार्यक्रम सहभागीले निशुल्क हेर्न पाउनेछन् भने कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राजनीतिक दलका नेता लगायतको उपस्थिती रहने जनवादी गीतकार मणी थापाले जानकारी दिए । कार्यक्रममा जनयुद्धका चर्चित कलाकार मोहित र विद्रोहीले ‘कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन, टुटफुट र खण्डितका कुरा नगर, एकताका कुरा गर’ लगायतका गीतहरु सुनाउने छन् भने मणी थापाले ‘अरुण तरेर’ लगायतका गीतहरु सुनाउने छन् । ‘सम्भवत शान्ति प्रक्रियापछि जनवादी कलाकारहरुले यसरी पहिलो पटक एक ठाउँमा भेला भएर ‘राष्ट्रका लागि संगीत अभियात्रा’ लिएर देश दौडाहमा हिडेका हौँ,’ गीतकार मणी थापाले भने,‘ यो देशको राजनीति परिवर्तनमा कलाकारको भूमिका महत्वपूर्ण छ । अहिले सरकार पटक–पटक परिवर्तन भइरहने तर जनताको अवस्थामा परिवर्तन आएको छैन, यसमा जनवादी कलाकारहरु खुसी छैनन ।’
थापाले मुल राजनीतिक पार्टीहरु विचलित भइरहेको र समाज विखण्डनतिर गइरहेकोप्रति चिन्ता व्यक्त गरे । कलाकारको टोलीले ‘देशमा एकता’को आवाश्यकता रहेको र जनवादी कलाकारहरुले गीत मार्फत एकताको सन्देश छर्ने जनाएको छ ।
पुर्व मन्त्री समेत रहेका थापाले राजनीतिक परिवर्तन भएपनि सांस्कृतिक रुपान्तरण नभएको बताए । साथै जनवादी कलाकाहरुलाई राजनीतिक दल र राज्यले समेत बे–वास्ता गरिरहेको प्रति जनवादी कलाकारहरुको गुनासो छ ।