पञ्चपुरी ६ मा बालबालिका क्षमता अभिवृद्धि सम्बन्धी तालिमको उद्घाटन सम्पन्न

सुर्खेत: बालबालिकाको अधिकार, आत्मविश्वास र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यले पञ्चपुरी नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको ‘बालबालिका क्षमता अभिवृद्धि सम्बन्धी सचेतना तालिम’ आज वडा कार्यालयको भवनमा भव्य रूपमा उद्घाटन गरिएको छ।

उक्त तालिमको उद्घाटन वडा अध्यक्ष नर बहादुर सिजापतीले गर्नुभएको हो। प्रमुख अतिथिका रूपमा मन्तव्य दिंदै अध्यक्ष सिजापतीले बालबालिकाको समुचित विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै प्रभावकारी हुने भन्दै वडा कार्यालय यस्ता सकारात्मक क्रियाकलापमा सधैं सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो।

कार्यक्रममा वडा सचिव यमुना लम्साल, वडा सदस्य कर्ण बहादुर तारामी र वडा सदस्य मन बहादुर बरैको पनि विशेष उपस्थिति रहेको थियो। वक्ताहरूले बालबालिका केन्द्रित नीति, शिक्षा र सामाजिक चेतनाका विषयमा आफ्ना धारणा राख्दै यस्ता तालिमहरू आवश्यक रहेको बताए।

तालिममा प्रशिक्षक टेकेन्द्र बिश्वकर्मा र उहाँका सहकर्मी प्रज्वल चुनाराले तालिमको उद्देश्य, प्रशिक्षणको संरचना तथा सहभागीहरूको भूमिकाबारे जानकारी गराउनुभएको थियो। उद्घाटन सत्रको सञ्चालन वडा कार्यालयका कर्मचारी तथा तालिम सहजीकरणकर्त्ता प्रेम सुनारले गर्नुभएको थियो।

उक्त तालिममा पञ्चपुरी ६ भित्रका गौरीशंकर आधारभूत विद्यालय, जन ज्योती आधारभूत विद्यालय र प्रतिष्ठा विद्या निकेतनबाट गरी ७५ जना बालबालिकाको सहभागिता रहेको छ।