
सुर्खेत: हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिका–१३ स्थित श्री लालिगुराँस माध्यमिक विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा मानवीय विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ६० जना विद्यार्थी भाइबहिनीहरूलाई एक–एक थान न्यानो स्वेटर र झोला वितरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक प्रेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सको टोली प्रमुख अतिथिका रूपमा सहभागी भएको थियो। कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशका उप–प्रमुख किशोर थापा, कर्णाली प्रदेश शाखा प्रमुख दिनेश पंगाली, अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट बीमा परामर्शदाता सदस्य रबिन्द्र सापकोटा, वरिष्ठ एजेन्सी व्यवस्थापक कमल शाहीलगायत कम्पनीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले विद्यार्थीहरू नै राष्ट्रका भविष्य भएको उल्लेख गर्दै शिक्षामा लगानी गर्नु राज्य, निजी क्षेत्र तथा समाज सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो। साथै, हिमालयन लाइफ इन्स्योरेन्सले बीमा सेवासँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै यस्ता जनकल्याणकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
विद्यालयका प्रधानाध्यापक प्रेम थापाले हिमालयन लाइफ इन्स्योरेन्सले विद्यालय र विद्यार्थीहरूका लागि गरेको सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमप्रति विद्यार्थी तथा अभिभावकहरू समेत उत्साहित र खुसी देखिन्थे। उनीहरूले निजी क्षेत्रबाट प्राप्त यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्ने र शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि तथा हिमालयन लाइफ इन्स्योरेन्सको व्यवस्थापन टोलीप्रति आभार प्रकट गरेको थियो। कम्पनीले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिँदै बीमा सेवा तथा व्यावसायिक क्षेत्रलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

जितबहादुर तिरुवा । ३ माघ २०८२, शुक्रबार २१:३६