बुवा त्रिलोचन सुवेदी र आमा पार्वती सुवेदीको कोखबाट २०३५ साल फागुन ७ गते नवलपरासी जिल्लाको साविकको प्रगतिनगर गाविस वडा नम्बर ३ ( हालको देवचुली नगरपालिका-१०) मा जन्मिएका नारायण सुवेदी हाल अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयाेजककाे रुपमा कार्यरत छन् । लामाे समयदेखि मानव अधिकार संरक्षणकाे क्षेत्रमा क्रियाशील उनै सुवेदीसँग अंगराज परियारले गरेकाे संघर्ष र सफलताका कुरा :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाललाई सम्झदा केही दुःख र केही सुखमा बत्यो । बुवा आमा कृषि पेशामा काम गर्नुहुन्थ्यो । एकदम न्युन परिवारमा जन्मिएको हुनाले सानो कुरामा घेरै संघर्ष गरिरहनपर्यो । मैंले बर्दियाको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, माछागढबाट प्रारम्भिक शिक्षा प्राप्त गरेँ। त्यो बेला बिजुली बत्तीको पनि व्यवस्था थिएन । टुकी बालेर पढ्नुपर्थ्याे । विद्यालयमा बस्नको लागि बेन्च पनि थिएन । बस्नको लागि घरबाटै बाेरा लिएर जान्थ्यौं । धुलाम्मे र हिल्लामे ठाउँमा बसेर पनि पढ्नपर्थ्याे । त्यसपछि म श्री त्रिभुवन माध्यामिक विद्यालयमा गएँ र त्यहाँबाट कक्षा १० सम्म अध्ययन गरी एसएलसी पास गरेँ । गरिब परिवारमा जन्मिएकोले काम गदै उच्च शिक्षा बर्दिया स्थित बबई बहुमुखी क्याम्पसबाट गरेँ । महेन्द्र बहुमुखी क्याम्पसबाट समाजशास्त्र मा स्नातकोत्तर गरेँ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
त्यो बेला त यो बन्ने भनेर थाहा थिएन । तर गाउँमा लोक सेवामा नाम निकालेर जागिर खाएपछि मान सम्मान नै अर्कै हुन्थ्यो । मलाई पनि निजामती कर्मचारी बन्ने चाहाना थियो । त्यो बेलाको माओवादी जनयुद्धले गर्दा पढ्ने वातावरण राम्रो पनि थिएन । द्धन्द्धको बेला मानवअधिकार हनन् भएका कुराले नागरिकको अधिकारमा काम गर्न चासो लाग्यो । राज्य पक्षबाट नागरिक माथि भएको ज्यादती अन्यायले मन पोलेको थियो ।
मानव अधिकारका क्षेत्रमा लाग्न कसले प्रेरणा दियाे ?
मानव अधिकार क्षेत्रमा काम गर्न मलाई प्रेरणा दिने मुख्य व्यक्ति मेरो आफन्त थिए । जसले मलाई मुक्त कमैयाका बालबालिकासँग काम गर्न प्रेरित गरे । सुरुमा मैले बाल शिक्षा कार्यक्रमबाट काम सुरु गरेँ । मेरो भिनाजु डिल्लीराम अधिकारी त्यस समयमा याे क्षेत्रमा संलग्न हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले म यस क्षेत्रमा आकर्षित भएँ । मैले २०५५ सालदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको छु। अहिले २८-२९ वर्ष हुन लागिसकेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा कार्यरत रही मैले अन्यायमा परेका नागरिकलाई न्यायको पहुँच पुर्याउने प्रयास गर्दै आएको छु। यो क्षेत्रमा लामो समय काम गर्दा एक किसिमको सन्तुष्टि पाएको छु ।
पीडितलाई न्याय दिन कस्ता प्रयास भएका छन् ?
पीडितहरूको अवस्थाबारे सहयोग, समन्वय गरेर सहयोग गरिरहेका छौँ । अहिले हामीले मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, पीडित सहायता कक्ष, मानव अधिकार स्राेत केन्द्र सञ्चालन गरिरहेका छौँ। यी कार्यक्रमको उद्देश्य हो, स्थानीय तहमा रहेका मानव अधिकार पीडितहरूको अवस्थाबारे जानकारी दिनु, उनीहरूले न्याय पाए कि पाएनन् भन्ने विषयमा प्रकाश पार्नु, र उनीहरूको पीडामा सहयाेग गरेर सुधार ल्याउन योगदान गर्नु । यस कार्यक्रममार्फत हामी विभिन्न प्रकाशन र अभिलेखीकरणको माध्यमबाट पीडितको अवस्था विश्लेषण गर्छौँ। उनीहरूले न्याय पाएका छन् वा अझै पनि अन्यायको मारमा छन् भन्ने विषयमा ध्यान केन्द्रित गरिन्छ।
यो क्षेत्रमा काम गर्दा के कस्ता चुनौती छन् ?
सशस्त्र द्वन्द्वको समयमा मैले मानिसहरूको जीवन बचाउन सकिने उपायहरूबारे अनुभूति गरेँ। प्रहरी, सेना वा विद्रोही समूहले पक्राउ गरेर लगिसकेपछि ती व्यक्तिको जीवन कसरी जोगाउने ? भन्ने सवाल मेराे कामको केन्द्रमा रहन्थ्यो । यसले मलाई अझ मानव अधिकारको क्षेत्रमा गम्भीरतापूर्वक लाग्न प्रेरित गर्यो ।
कर्णालीका धेरै नागरिक न्यायको पहुँचबाट टाढा छन् किन ?
हुनत आज पनि कर्णालीका धेरै नागरिकहरू न्यायको पहुँचबाट टाढा छन् त्यो कुरालाई म मान्छु । पहिलेको भन्दा अहिलेको स्वरुप फेरिएको छ । अहिले हामीले काम गरिरहँदा विगतको कर्णाली र अहिलेको कर्णालीबीच निकै भिन्नता आएको महसुस गरेका छौँ । पहिले सशस्त्र द्वन्द्वको समयमा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी घटनाहरू अत्याधिक थिए । ती घटनाहरू प्रायः राज्य पक्षबाट हुने गर्थे । त्यो समयमा मास हत्या, दोहोरो भिडन्त , बम विस्फोटमा निर्दोष नागरिकहरूको मृत्युजस्ता घटनाहरू सामान्य जस्तै थिए । आजका दिनमा त्यस्ता घटनाहरूको संख्या घटेपनि घटनाको प्रकृति भने फेरिएको देखिन्छ । हालका वर्षहरूमा पनि महिला अधिकार सम्बन्धी घटनाहरू बढी देखिन थालेका छन् । विशेषगरी घरेलु हिंसा, बलात्कार, पारिवारिक हिंसा, आफन्तद्वारा करणीजस्ता घटनाहरूमा वृद्धि भएको छ । हुन त घटना घट्ने संख्या घटेको छैन, तर घटनाको स्वरूप परिवर्तन भएको छ । पहिले राज्यबाट हुने अधिकार हननका घटना बढी थिए, अहिले घरभित्र, समाज भित्रका समस्याहरू अधिक देखिन्छन् । त्यसमा पनि मानव अधिकार उल्लङ्घनका घटनामा कर्णाली अगाडि छ । घरेलु हिंसा र बाल अधिकारका घटनाले सिमा नाघेकाे छ । त्यसलाई न्युनिकरण गर्न आवश्यक छ ।
तपाईंको अबको याेजना के छ ?
मैले कहिल्यै पनि अन्य संस्था वा कामतर्फ जाने सोच बनाएको छैन । किनभने लामो समयदेखि मैले मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको छु । यस क्षेत्रमा काम गर्दा मैले नागरिकको पीडा बुझ्न सकेको छु । अहिलेपनि संक्रमणकालीन न्याय टुङ्गाेमा पुगेकाे छैन । याे महत्त्वपूर्ण विषय छ । यस्ता विषयमा आवाज उठाउन सकेको छु । इन्सेक मार्फत सञ्चालन हुने कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छु । यस संस्थामार्फत काम गर्न पाउँदा एक किसिमको गर्व र सन्तुष्टि महसुस गर्छु । त्यसैले मानव अधिकारका क्षेत्रमा अझै नयाँ ढंगले काम गर्ने याेजना छ ।
खुलानजर । ८ जेष्ठ २०८२, बुधबार ०४:५३