सुर्खेत: वीरेन्द्रनगर-१ देउतीथान गाउँको बीचमा टिनले छाएको एकछाने घर। भदौ महिनाको तरतरी पसिना चुहिने गर्मी। दुई कोठे भाडाको अर्धकच्ची (काठ र सिमेन्ट) घरको पहिलो कोठामा पीडादायी जीवन बिताएर बसिरहेका छन् बराहताल गाउँपालिका-९ थारीका २१ वर्षीय सागर गुरुङ।
कोठामा एउटा खाट र जिउ सितल बनाउन सानो टेबुल पंखा छ। बेलाबेला गइरहने विद्युतले उनलाई झनै मुस्किल बनाउँछ। बिरामी भए पनि हेर्दा खाइलाग्दो जिउडाल देखिने उनी मृगौला पीडित हुन्। उनका दुईवटै मृगौलाले काम गर्न छोडेका छन्।
हप्तामा दुई पटक डायलाइसिस गरेर मात्रै उनले सास फेर्न पाएका छन्। विगत दुई वर्षदेखि काठमाडौंमा टिपरमा ज्याला मजदुरी गर्ने उनी चालक अनुमति पत्र निकाल्न नपाएरै थला परे।
घरको आर्थिक अवस्था कमजोर भएपछि कक्षा ९ पढ्दा पढ्दै छोडेर काठमाडौं हानिएका उनलाई लाग्थ्यो ‘अब त टिपरको चलाक भएरै जिविका चलाउँछु।’ तर, एकाएक चालक अनुमति पत्रको लागि लिखित परीक्षामा पास भएर प्रयोगात्मक परीक्षा दिने बेला नै उनी बिरामी भए।
वीर अस्पतालमा स्वास्थ्य जाँच गर्न गएका उनलाई डाक्टरले दुवै मृगौलाले काम गर्न छोडेको सुनाएपछि छाँगाबाट खसे जस्तै भए। यो कुरा घरमा रहेका दाई र बुवालाई सुनाएपछि उनलाई घर ल्याइयो।
यही जेठ २१ गतेबाट उनी वीरेन्द्रनगरमा बसेर प्रदेश अस्पताल सुर्खेतमा मृगौलाको डायलाइसिस गरिरहेका छन्।
उनका बुवा दीपक गुरुङले २२ वर्षसम्म सुर्खेतमा गाडी चालक भएर काम गरे। २०७४ सालमा बुवा आमाको सम्बन्धविच्छेद भएपछि दीपकले अर्को विवाह गरे। अहिले सागरका दाइ मिलन, भाउजू सिर्जना र बहिनी ग्रेसिका देउतीथान स्थित मासिक सात हजार रूपैयाँ भाडा तिरेर दुईवटा कोठामा बस्छन्। त्यही घरको भाडा पनि तिर्न नसकेको तीन महिना भइसक्यो।
बुवा र कान्छी आमा वीरेन्द्रनगरकै बुलबुले नजिकै कोठा भाडामा बस्छन्। अहिले उनका बुवा दीपकले गाडी चलाउने काम समेत पाएका छैनन्।
सागर र मिलन जुम्ल्याहा दाजुभाइ हुन्। घरभाडा र भाइको उपचार खर्चका लागि मिलनले रङ्गरोगन सम्बन्धी काम गर्छन्। मिलनले पनि घरको आर्थिक अवस्थाकै कारण कक्षा ९ सम्म मात्रै पढ्न पाए।
‘सानै उमेरमा नै घरको स्थिति राम्रो भएन। झन् बुवा आमाको सम्बन्धविच्छेद भएपछि त हामीलाई धेरै दुःख भयो,’ सागरका दाई मिलनले भने, ‘सागर र म जुम्ल्याहा दाजुभाइ हो। पढ्ने आर्थिक अवस्था नै नभएपछि दुवै भाइले ९ कक्षा पढ्दै गर्दा छोडेका थियौं। जसो तसो गरि जिविका धानेकै थियौं। अहिले भाइको मृगौला नै ड्यामेज भएपछि तनाव माथि तनाव थपिएको छ।’
आफूले महिनाभर काम गर्दा पनि घरभाडा तिर्न र भाइको डायलाइजर (कृत्रिम किड्नीको काम गर्ने औषधी) किन्न मुस्किल परेको मिलन बताउँछन्।
‘म रंङ्गरोगनको काम गरेर दैनिक पाँचरसात सय कमाउँछु। त्यसले घरभाडा र भाइलाई डायलाइजर किन्न पनि समस्या परेको छ। बुवा पनि अहिले त बेरोजगार हुनुहुन्छ,’मिलनले भने, ‘धन्न आठवटा मध्ये चारवटा डायलाइजर अस्पतालले किनिदिन्छ। चारवटा म आफैंले किन्छु। एउटाको मूल्य ९ सय रुपैयाँ पर्दछ,’ मिलनले भने।
उनले आर्थिक अभावकै कारण भाइको उपचारमा समस्या भएको भन्दै अहिलेसम्म आफन्त र नातेदारको समेत सहयोग नपाएको गुनासो गरे।
‘पहिलो कुरा त आफूसँग पैसा हुन पर्यो, त्यसपछि मृगौला दिने मान्छे चाहियो। अहिले हामीसँग यी दुवै कुरा छैन,’ मिलनले भने, ‘भाइको ज्यान अकालमै जान्छ कि भन्ने चिन्ताले रातमा निन्द्रा समेत लाग्दैन।’ सागरले पनि आर्थिक अभावले नै बाँच्ने आशा नै मरिसकेको भन्दै पीडा पोखे।
‘यसरी अभावै अभावमा तड्पिएर बाँच्न पनि दिक्दार लाग्दो रहेछ। उपचार गर्न पैसा छैन। मृगौला दिने मान्छे छैन,’ उनले भने, ‘आफू एक्लो भएको महसुस हुन्छ। उपचारकै अभावमा मृत्यु कुरिरहेको छु।’
घरायसी समस्याका कारण कुनै ठोस् लक्ष्य लिन नसके पनि सवारी चालक भएर जिविका चलाउने आफ्नो लक्ष्यमाथि भगवानले पनि दया नदेखाएको उनी बताउँछन्।
भाइको उपचारका लागि सहयोगी दातालाई सागरकै नाममा रहेको नबिल बैंक सुर्खेत शाखाको खाता नम्बर ०५८१००१७५१२८१४मा सहयोग गरिदिन उनका दाई मिलन गुरुङले अनुरोध गरेका छन्।
उकेरा
जगतदल । ११ भाद्र २०८०, सोमबार २०:२८