बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्वलन

सुर्खेत: बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसकको अवसरका इन्सेक लगायतका संस्थाहरुको आयोजनामा शनिबार बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, एडभोकेसी फोरम कर्णाली प्रदेश, महिला अधिकारका लागि एकल महिला समुह सुर्खेत, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामको संयुक्त आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयको समन्वयमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बेपत्ता पारिएका नागरिकहरुको अवस्था अज्ञात रहेको भन्दै १९ वर्षसम्म पनि राज्यले न्याय दिन नसक्नु दुखद् रहेको बताए । उनले न्यायीक प्रक्रियामा राज्यले कुनै ढिलाई नगर्न अनुरोध गरे । द्वन्द्वपीडित शान्ती ढकालले शान्ति सम्झौता भएको १९ वर्षसम्म आफूहरूका कुनै पनि मागलाई सरकारले सम्बोधन गर्न नसकेको बताइन् । उनले आफ्ना श्रीमानलाई बेपत्ता पारेकोे २८ वर्ष पुगेको भन्दै अब न्यायको आशा मरिसकेको बताइन् । संक्रमणकालीन न्यायका लागि योबीचमा थुप्रै आयोग बनेपनि केही बाहेक अधिकांश द्वन्द्वपीडितहरूले न्याय पाउन सकेका छैनन् । उतिबेला बलपूर्वक बेपत्ता पारिएका परिवारले आफ्ना सदस्यको अवस्था सार्वजनिक गर्न सरकारले चासो नदिएको गुनासो गर्दै आाएका छन् ।


कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकाल, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका केन्द्रीय उपाध्यक्ष सितल सिंह राठौर, मानव अधिकार आयोग, बेपत्ता पीडित परिवार, सरकारी अधिकारी तथा मानव अधिकारकर्मीको सहभागिता रहेको थियो । उनीहरुले संक्रमणकालिन न्यायको मुद्दामा तत्काल न्याय दिलाउनुपर्नेमा जोड दिएका थिए ।