सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–९ का ५२ वर्षीय चन्द्र कामी यतिबेला त्रिपालमा बसेर श्रीमतीको किरिया गरिरहेका छन् । अरुको जग्गामा त्रिपाल टाँगेर ६ दिनदेखि उनको परिवार किरिया गरिरहेको छ ।
पुख्यौली घर जाजरकोट भएका चन्द्रको परिवार विगतदेखि नै ज्याला मजदुरी गरेर जिविका चलाइरहेको थियो । अर्काको जग्गामा सानो छाप्रो लगाएर बसेका उनको छाप्रो पनि पानीले भत्काइदियो । सानै उमेरमा बुवाआमा गुमाएर बेसहारा भएका उनलाई फुपु जलधरा सुनारले पालनपोषण गरेकी थिइन् । पछि विवाह गरेपछि दैनिक मजदुरी गरेर एक छोरा, एक छोरी र श्रीमती उनले पालेका थिए ।
त्यसरी घर व्यवहार चल्नै मुस्किल भएपछि यही साउनको पहिलो साता चन्द्र र उनकी ४५ वर्षीया श्रीमती गोमा कामी भारतको चण्डीगढ गएका थिए । भारत गएको तीन दिनमै गोमाको मृत्यू भयो । शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शवलाई भारतमै दाहसंस्कार गरे । तर, किरिया गर्न भने उनी वीरेन्द्रनगर आए । त्यो पनि फुर र गाउँलेले उठाएर गाडीभाडा पठाएपछि ।
आफ्नो घर र जग्गा नहुँदा स्थानीय गबर विश्वकर्माको जग्गामा त्रिपाल टाँगेर किरिया बसेका छन् । उनीसँगै २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहेका छन् । वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको बास निकै कष्टकर भएको उनले सुनाए । बसाइ मात्र होइन, छाक टार्न समस्या भएको उनले सुनाए ।
‘१० दिनअघि ज्याला मजदुरीका लागि हामी दुई जना चण्डीगढ पुगेका थियौं । त्यहाँ ढुङ्गा बोक्ने काम सुरु गरेका थियौ.,’चन्द्रले भने, ‘दुई दिनमै श्रीमतीको मृत्यू भयो । नेपाल ल्याउने पैसा नभएपछि उतै दाहसंस्कार गरें । फुपु र गाउँलले भाडा पठाएपछि यता फर्किएँ ।’
सँगै काम गरेर फर्किएकी श्रीमतीको सुतेकै अवस्थामा मृत्यु भएपछि चन्द्रलाई चिन्तामाथि चिन्ता थपिएको छ ।
ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका चन्द्रका एक छोरा र एक छोरी छन् । किरिया बसेका २६ वर्षीय छोरा मेघराज ट्याक्टर चलाँदै गर्दा दुर्घटनामा परी खुट्टा भाँचिएकाले गाह्रो काम गर्न सक्दैनन् । छोरी सानै भएकोले अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता थपिएको उनले बताए ।
‘खाने र बस्ने कुनै ठेगान छैन । छोरा अपाङ्ग छ । छोरी सानै छ । श्रीमतीले छोडेर गइहाली’, भावुक हुँदै चन्द्रले भने, ‘पुख्यौली ठाउँ जारकोट जाउँ भनेपनि केही छैन । अब कसरी जीवन चलाउने होला ? ।’ श्रीमान श्रीमती हुँदा दुःख गरेर कमाएर जीवन चलाए पनि गोमाको मृत्यु भएपछि चन्द्रलाई जीवन चलाउन कठिन भएको उनकी फुपु जलधराले बताइन् ।
‘सानैमा यसका बुवाआमा बितिहाले । यसलाई मैले नै हुर्काएकी हुँ । विवाह समेत मैले नै गराइदिएँ,’जलधराले भनिन्, ‘पछि दुबै जना काम गरेर जिविका चलाउँथे । बालबच्चापनि भए । तर, अहिले अचानक यस्तो भयो । स्थिति धेरै नाजुक छ ।’
चन्द्रको परिवारको बास र गासको कुनै टुङ्गो छैन । छिमेकीले दिएको एक÷दुई छाक चामलबाट उनले गुजरा गरेका छन् । छाक टार्ने खाद्यान्नसमेत नहुँदा चन्द्र परिवारले सहयोगको याचना गरेको छ ।
जगतदल । २१ श्रावण २०८१, सोमबार १८:११