ताजाकोट, हुम्ला – नेकपा (माओवादी केन्द्र) ले ताजाकोट गाउँपालिकामा आफ्नो संगठन सुदृढ गर्दै ४५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ। प्रतिकूल मौसमका कारण निर्धारित मिति चैत्र २ गते सुरु हुन नसकेको अधिवेशन अन्ततः चैत्र ४ गते खुला सत्रमार्फत सम्पन्न भयो।
गाउँ अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मन्त्री रणसिंह परियार ले गरेका थिए। उनले संगठन सुदृढीकरण, जनअपेक्षा सम्बोधन र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने धारणा राखे।
नवगठित नेतृत्व
नयाँ गाउँ कमिटीमा मोहन परियार (मदन) अध्यक्ष, नर प्रसाद जैसी, धनरुप थापा र सिपकली खत्री उपाध्यक्ष, पुनिमल खड्का सचिव, प्रदिप जैसी कोषाध्यक्ष, र जानदत्त जैसी सहसचिव चयन भएका छन्। यससहित ४५ सदस्यीय कमिटी गठन गरिएको छ।
मोहन परियार (मदन): संघर्ष, योगदान र नेतृत्व
मोहन परियार (मदन) को राजनीतिक यात्रा अत्यन्त संघर्षपूर्ण रह्यो। १४/१५ वर्षको उमेरमै माओवादी पार्टीको सदस्य बन्दा उनले गाउँ कलाकारमार्फत आफ्नो यात्रा सुरु गरेका थिए। कलाकारितालाई संगठन विस्तार र जनचेतना अभिवृद्धिको माध्यम बनाउँदै उनले गाउँ कलाकार अध्यक्ष हुँदै एरिया कलाकारको उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हाले।
उनको निष्ठा, त्याग, समर्पण, इमानदारिता र कार्यकुशलताका कारण हिमाली जनसांस्कृतिक परिवार हुम्ला मा आबद्ध भई, जनतालाई जागरूक बनाउन अहोरात्र खटिए। उनले हुम्लाका दुर्गम बस्तीहरूमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै सामाजिक परिवर्तनको ज्योति छर्ने काम गरे।
जनयुद्धका सङ्घर्ष र पार्टीप्रतिको निष्ठा
मोहन परियार (मदन) ले जनयुद्धको विभिन्न मोर्चामा सहभागी हुँदै, तत्कालीन शाही सेनासँग भएका भिडन्तमा समेत आफैं अग्रपंक्तिमा रहेर लडे। उनी भन्छन्, “त्यतिबेला मरिन्छ कि बाँचिन्छ भन्ने कुनै निश्चितता थिएन। तर, देश र जनताको मुक्तिका लागि लड्नुपर्छ भन्ने भावना बलियो थियो।”
शान्ति प्रक्रियापछि पनि उनले माओवादी पार्टीलाई सुदृढ बनाउन निरन्तर योगदान गरिरहे। संविधानसभादेखि हालसम्म भएका सबै निर्वाचनमा पार्टीलाई जित दिलाउन तन, मन, धन लगाएर सक्रिय भूमिका खेलेका छन्।
उनको इमानदारिता, संघर्षशीलता र संगठनात्मक क्षमताका कारण पार्टीले निरन्तर कदर गरिरहेको छ। उनी हाल नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सदस्य, ताजाकोट गाउँपालिका पार्टी सचिव, नेपाल दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज छन्।
नेपाल दलित मुक्तिमोर्चाको हालै सम्पन्न दोस्रो पूर्ण बैठकले उनलाई केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज को जिम्मेवारी दिएको छ। यस निर्णयलाई पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले उचित ठानेका छन्। आफूलाई दिएको महत्त्वपूर्ण जिम्मेवारीका लागि उनले पार्टी नेतृत्व र सबै समर्थकहरूप्रति आभार व्यक्त गरेका छन्।
अगामी योजनाः संगठन विस्तार र स्थानीय विकासमा
मोहन परियार नेतृत्वको नयाँ कमिटीले गाउँपालिकाभित्र विकास, सामाजिक न्याय, र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने बताएको छ। पार्टीलाई जनस्तरमा अझ विस्तार गर्दै स्थानीय तहमा प्रभावकारी काम गर्ने योजनासहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
खुलानजर । ५ चैत्र २०८१, बुधबार १६:१४