सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा २०७३ भदौमा भएको निर्वाचनमा नेविसंघका झक्कबहादुर शाही स्ववियु सभापति बनेका थिए । सचिवमा भने अनेरास्ववियुका भरत शाही निर्वाचित भएका थिए । फेरि आठ वर्षपछि भएको स्ववियु निर्वाचनमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको छ । विभिन्न समयमा तोकिएका निर्वाचनहरु कहिल्यै विश्वविद्यालयको तयारीका कारण त कहिल्यै अदालतको आदेशका कारण रोकिदै आएको थियो । त्यसभन्दा यता चुनावका मिति तोकिए पनि चुनाव भने हुन सकेको थिएन । मगंलबार राति सार्वजनिक भएको मत परिणाममा ११ सय ८८ मत ल्याएर नेवि संघका विवेक खड्का अध्यक्षमा विजयी भएका हुन् । सोमबार भएको मतदानमा नेकपा एमाले निकट अनेरास्ववियुका जगतजगं शाहीले ९ सय ८ मत ल्याएर पराजित भएका हुन् । शाहीलाई २ सय ८० मतान्तरले पछि पार्दै गदै खड्का विजयी भएका हुन् । माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट स्ववियुको अध्यक्ष पदका उम्मेदवार प्रकाश विकले २७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार मिलन बिसीले २३१ मत प्राप्त गरेका छन् । विश्वविद्यालयका ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए । स्ववियु सचिवमा नेवि संघकै भूपेन्द्र आचार्यले १३ सय ९६, कोषाध्यक्षमा लोकप्रसाद रिजालले १२ सय ५५ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सदस्यहरूमा विकास कुमार थापाले १३ सय २३, निशान्त शाहीले १२ सय ७८, शिव ढकालले १२ सय ३३, गणेश थापाले १२ सय ७५, प्रतीक्षा थापाले १४ सय ९१, विष्णुराज सिंहले १३ सय ३४ र प्रकाश सिंहले १२ सय १९ मत ल्याएर विजयी भएका छन् ।
विद्यापुर क्याम्पसमा पनि फेरि नेविसंघ
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस पञ्चपुरी नगरपालिका–९ स्थित विद्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा पुनः नेपाल विद्यार्थी संघका चेतन नेपाली विजयी भएका छन् । यसअघि पनि स्ववियु अध्यक्ष रहेका चेतनले अनेरा स्ववियु र अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार जनक विष्टलाई १७ मतले पराजित गरेका हुन् । नेपालीले १५३ मत ल्याउँदा विष्टले १३७ मत पाएका छन् । यस्तै सो क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवार बनेका हार्दिक भण्डारी निर्वाचित भएका छन् । भण्डारीले १५७ मत ल्याउँदा नेविसंघबाट सचिवको उम्मेदवार बनेकी शिक्षा थापाले १३२ मत मात्रै प्राप्त गर्न सफल भइन् । यस्तै, कोषाध्यक्षमा नेविसंघकी कल्पनाकुमारी थापासँग गठबन्धनबाट उम्मेदवार बनेकी अस्मिता कँडेल पराजित भइन् । थापाले १५२ मत ल्याउँदा कँडेलले १३२ मत ल्याइन् । सदस्यहरूमा नेविसंघका दिलिप माझी र विमल साक्य विजयी भए ।

खुलानजर । १९ चैत्र २०८१, बुधबार ०९:१४