युवा उत्साहले आगामी निर्वाचनमा ‘निर्णायक प्रभाव’ पार्नसक्ने संकेत

सुर्खेतः आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा कर्णाली प्रदेश नयाँ मतदाताको ‘निर्णायक उपस्थिती’ हुने देखिएको छ । निर्वाचन घोषणा पछिको अद्यावधिक अवधिमा प्रदेशभर २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएसँगै कर्णालीको कुल मतदाता संख्या १० लाख ३३ हजार नाघेको छ । यसअघि प्रदेशमा १० लाख ६ हजार ८ सय ३४ मतदाता थिए । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार नयाँ मतदाता सूची आधिकारिक रूपमा सार्वजनिक भइसकेको छ । आधुनिक प्राविधिक सुविधासहित आयोगले अनलाइनबाट नै नाम दर्ता गराउने व्यवस्था मिलाएपछि यसपटक युवा मतदाताको सहभागिता उल्लेख्य रूपमा बढेको बताइन्छ । राष्ट्रिय परिचय पत्रको फोटा र औँठाछापसहितको विवरण अपलोड गरेर सजिलै दर्ता गर्न सकिने सुविधा सरकारले उपलब्ध गराएपछि युवा वर्ग ‘भोटर लिस्ट’मा आकर्षित भएको देखिएको छ ।

८० प्रतिशतले दिए आवेदन
प्रदेश निर्वाचन कार्यालयका अनुसार विशेषत १७ देखि २५ वर्ष उमेर समूहका युवाहरूले अभूतपूर्व रूपमा मतदाता दर्तामा रुचि देखाएका छन् । यस समूहका ८० प्रतिशतभन्दा बढीले नाम दर्ताका लागि आवेदन दिएको तथ्यांकले देखाउँछ । निर्वाचन कार्यालयका अनुसार यो युवा मतदाताको बढ्दो सक्रियता कर्णालीको चुनावी परिणाम बदल्न सक्ने ‘गेम चेन्जर’ कारक बन्न सक्छ । राजनीतिक पार्टीहरूले पनि युवामुखी एजेन्डा, रोजगारी, शिक्षा, सूचना प्रविधि र विकासमा केन्द्रित कार्यक्रम अघि सार्नुपर्ने दबाब थपिएको विश्लेषण हुन्छ ।

सुर्खेतमा धेरै नयाँ मतदाता
कर्णालीका १० जिल्लामध्ये सुर्खेत अग्रस्थानमा रहेको छ । यहाँ मात्रै ७ हजार ३ सय ६२ नयाँ मतदाता दर्ता भएका छन् । दैलेखमा ३ हजार ६ सय २६, रुकुमपश्चिममा २ हजार ८ सय ४०, जाजरकोटमा २ हजार २ सय १० र सल्यानमा ३ हजार १ सय ८० मतदाता थपिएका छन् ।
उच्च हिमाली जिल्ला डोल्पामा १ हजार ७ मतदाता दर्ता भए भने जुम्लामा ३ हजार ३६, मुगुमा ७ सय ७४, हुम्लामा ८ सय २४ र कालिकोटमा १ हजार ७ सय ७६ मतदाता नयाँ सूचीमा परेका छन् ।
जिल्लागत मतदाता संरचना हेर्दा अधिकांश स्थानीय तहमा पहिलोपटक मतदानमा सहभागी हुने युवाको अनुपात उल्लेख्य रहेकाले निर्वाचन परिणाममा ‘युवा मतको लहर’ ठूलो कारक बन्ने अनुमान गरिन्छ ।
कर्णाली प्रदेशमा २६ हजारभन्दा बढी नयाँ मतदाता थपिनुले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रभाव पार्नसक्ने मध्यपश्चिम विश्वविद्दालयका पूर्व डिन एवम् राजनीतिक विश्लेषक पिताम्बर ढकाल हरू बताउँछन् ।
उनका अनुसार जेनजी आन्दोलनपछि युवा मतदाताको चासो रोजगारी, प्राविधिक शिक्षा, विकास, भ्रष्टाचार विरोधी अभियान र आधारभूत पूर्वाधारमा बढी हुने भएकाले दलहरू उनीहरूलाई केन्द्रमा राखेर नयाँ योजना ल्याउन बाध्य हुने संकेत देखिन्छ ।
‘परम्परागत मतदाता आधारमा निर्भर राजनीतिक नेताका लागि यो संख्या ‘चुनौतीपूर्ण’ पनि हुन सक्छ । कारण—नयाँ मतदाता प्रायः व्यक्तित्व, प्रस्तुत नेतृत्व, पारदर्शिता र एजेन्डालाई प्राथमिकता दिने समूह मानिन्छ,’विश्लेषक ढकाल भन्छन्, ‘मतदाता संख्यामा वृद्धि हुँदा हरेक क्षेत्रका प्रतिस्पर्धी दलबीच मतान्तर फराकिलो वा साँघुरो बनाउने सम्भावना बढ्छ । कतिपय जिल्लामा नयाँ मतदाताकै कारण ‘अपसेट’ परिणाम आउन सक्छ ।’
युवा मतदाताको उपस्थितिले फागुन २१ को निर्वाचनमा कर्णाली प्रदेशमा मतदान प्रतिशत बढ्ने प्रक्षेपण गरिएको छ । पछिल्लो निर्वाचनमा कर्णालीमा करिब ६५ प्रतिशत मतदान भएको थियो । यसपटक ७० प्रतिशत नाघ्न सक्ने पूर्वानुमान छ ।
यसपटक निर्वाचन आयोगले अनलाइन मार्फत नाम दर्ताको सुविधा उपलब्ध गराएपछि दुर्गम गाउँदेखि शहरी क्षेत्रसम्म नयाँ मतदाता थपिने दर तीव्र भएको अधिकारीहरूले जनाएका छन् । सुगम सुविधा, प्रविधिमैत्री प्रक्रिया र स्थानीय तह एवं निर्वाचन कार्यालयको समन्वयका कारण दर्ता अवधि अपेक्षा अनुसार सफल भएको बताइन्छ ।
कर्णाली प्रदेशमा २६ हजार नयाँ मतदाता थपिनु आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा ‘युवा मत’ कर्णालीको राजनीतिक स्वरुपलाई पुनः परिभाषित गर्ने संकेत हो । अब दलहरूको चुनौती, यी मतदाताको मुटु जित्ने एजेन्डा ल्याउनु र विश्वासको वातावरण निर्माण गर्नु रहेको चर्चा गरिएको छ ।