बुवाआमाकाे प्रेरणाले डाक्टर बनेकी अर्चना !

बुवा गणेश बहादुर कार्की र आमा निलम कार्कीको कोखबाट २०४७ साल जेठ १ गते सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी डा.अर्चना कार्कीले एमबिबिएस नेपालगञ्ज मेडिकल कलेजबाट पढिन् । उनले एमएचसिएम मास्टर्स इन हस्पिटल केयर एण्ड म्यानेजमेन्ट पोखरा विश्वविद्यालय पढेकी हुन् । डा. कार्की कर्णाली केयर अस्पतालकी मेडिकल डाइरेक्टर हुन् । उनी लेप्रोसी (कुष्ठ) रोग लागेका रोगीलाई पनि उपचार गर्छिन् । हाल उनी मास्टर्स अध्यनरत छिन । उनै डा. कार्कीसँग अंगराज परियारले गरेकाे संघर्ष र सफलताकाे कुराकानी :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
मेरो बाल्यकाल सुखद रह्यो । म एक कक्षादेखि कक्षा १० सम्म हर्मन जमिनर रुकुलमा पढेँ। विशेष संघर्ष थिएन, किनभने म सधैं घरमा प्रेरणा पाउँथे। म जेठी छोरी हुँ । एउटा मेरो भाई छन् । मेरो मन मिल्ने साथीहरु नै मेरो परिवार जस्ता थिए । मेरो बाल्यकाल त्यस्तो अभावमा बितेन । बाल्यकाल रमाईलोमै बित्यो । मेरो बुबा बहुमुखी क्याम्पसमा प्रोफेसर हुनुहुन्थ्यो भने आमा प्राथमिक तहकी शिक्षिका । घरमा शिक्षा र अनुशासन राम्रो थियो ।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
म सानैदेखि `शिक्षिका बन्ने´ सपना देख्थें। बुबाआमा शिक्षक भएकाले त्यो स्वाभाविक थियो। म साथीहरूलाई स्कुलमा पढाउँथें पनि। तर बुबाको अडान थियो `छोरीलाई डाक्टर बनाउँछु´ भन्ने । त्यो समय एक छोरीलाई एमबिबिएस पढाउनु भनेको समाजसँग लड्नु जत्तिकै थियो। बुबाको अडान, आमाको साथ र मेरो इच्छाशक्तिले त्यो सपना साकार भयो।
डाक्टर बन्ने प्रेरणा कसरी मिल्यो ?
भाइ र आमालाई स्वास्थ्यसम्बन्धी समस्या देखिन थाल्यो । त्यो बेला वीरेन्द्रनगरमा पर्याप्त उपचार सम्भव थिएन । त्यही बेला मेरो बुबाले आमालाई र भाइलाई लखनउसम्म लिएर जानुपर्यो । अस्पताल थियो, तर दक्ष चिकित्सक थिएनन्। ६–६ महिनासम्म हामी लखनउ, नेपालगञ्ज धाउँनु पर्यो। त्यसै कारणले मलाई स्वास्थ्य सेवाको मूल्य थाहा भयो । त्यहींबाट डाक्टर बन्ने सपना जन्मिएको हो ।

एमबिबिएस अध्ययनको यात्रा कस्तो रह्यो ?
चिकित्साशास्त्र पढ्नै गाह्रो कुरा छ । म हाम्रो परिवारकी पहिलो डाक्टर हुँ। आर्थिक पक्ष सजिलो थिएन । मैले नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस पढेँ । पाँच वर्षको पढाइपछि इन्टर्नसिप गर्दै गर्दा मेरो विवाह पनि भयो । कर्णालीको लवाई खवाई, बोलाइ आदिको कारणले समाजले फरक दृष्टिले हेर्थ्याे। तर आत्मबल, परिश्रम र परिवारको निरन्तर साथले मलाई अगाडि बढ्न हौसला मिल्यो ।
अस्पताल व्यवस्थापन पढ्ने निर्णय कसरी लिनुभयो ?
चिकित्सक भएर उपचार त गर्न सकिन्थ्यो, तर व्यवस्थापनको कमीले धेरै समस्या आइरहेको देखेपछि म अस्पताल व्यवस्थापन पढ्न प्रेरित भएँ । एमबिबिएस पास गरेपछि मास्टर्स इन हस्पिटल म्यानेजमेन्ट पोखरा विश्वविद्यालय अन्तर्गत सेट्रल कलेजबाट पढाइ पूरा गरेँ । मलाई महसुस भयो, राम्रो चिकित्सक हुनु मात्र पर्याप्त छैन । हरेक संस्थाकाे महत्त्वपूर्ण पक्ष व्यवस्थापन हाे । त्यसलाई राम्रो गर्नुपर्छ भनेर मैंले व्यवस्थापनको अध्ययन गरेँ। एक असल व्यवस्थापक बिना संस्था दीर्घकालीन रुपमा चल्न सक्दैन भन्ने महसुसले मलाई यो निर्णयमा पुर्यायो ।
मेडिकल डाइरेक्टर हुँदा कस्तो अनुभव रह्यो ?
यो भूमिका सजिलो छैन । यहाँ नेतृत्व मात्र होइन, टीमको मनोबल बढाउनु, स्रोत व्यवस्थापन गर्नु, बिरामीको सन्तुष्टि सुनिश्चित गर्नु र नीतिगत निर्णयहरू लिनु पर्छ । हरेक दिन नयाँ सिकाइ लिएर आउँछ । अहिले मेरो नेतृत्वमा अस्पताल अलिकति सिस्टमेटिक र अर्गनाइज भएको महसुस गरेकी छु । जबदेखि म म्यानेजमेन्ट बोर्डमा बसेदेखि मैले प्रवाधिक कुरा र अप्राविधिक कुरामा कम्युनीकेसन ब्रिज बनाउने बनाउने प्रयास गरेकी छु । अब हामी टेक्निकल स्टाफहरूसँग गहिरो संवाद गर्छौं, नन–टेक्निकल पक्षलाई पनि सशक्त बनाउने तालिम दिन्छौँ । यसरी समन्वय बढेपछि, अस्पतालभित्र सहकार्यको माहोल बनेको छ। अहिले हामी छिट्टै नर्सिङ कलेज सुरु गर्न लागेका छौँ । साथै एड्भान्स ल्याव सर्भिस र एकेडेमिक विङ जस्ता योजना अघि बढेका छन्

मेडिकल डाइरेक्टरको काम गर्न कत्तिको सजिलो ?
टीमको मनोबल बढाइराख्नु सबैभन्दा गाह्रो हुन्छ । हरेक विभाग फरक-फरक सोच, पृष्ठभूमि र अपेक्षासहित काम गर्छ । मलाई अस्पताल व्यवस्थापनभन्दा पहिला मानिसको व्यवस्थापन कसरी गर्ने भनेर सिक्नुप¥यो । तर अहिले गर्व लाग्छ हामीसँग राम्रो टीम स्पिरिट छ । सेवाको गुणस्तर बढेको छ, नयाँ नर्सिङ कलेजको योजना अगाडि बढेको छ ।
पारिवारिक जीवनलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ?
पहिलो कुरा त एक अर्काको कामप्रति सम्मान गर्नुपर्छ । दोस्रो कुरा त मेराे श्रीमान र मेराे पेशा सन्तुलन राख्न संवाद, समझदारी र सहकार्य आवश्यक पर्छ । पेशाले हामी दुबै परिवार चिकित्सक हौँ । श्रीमान् डा. नवराज के.सी पनि बालरोग विशेषज्ञ हुनुहुन्छ । कहिलेकाहीँ समय कम हुन्छ, तर माया र समझदारीले गरेका छौँ ।
कुष्ठ रोगीलाई पनि हेर्नुहुन्छ यसले शरीरमा कस्तो असर गर्छ ?
परम्परागत भन्ने भाषा फरक छ । जसलाई ‘कुष्ठ रोग’ भनिन्छ । माइकोव्याकटेरिएम लेप्रे नामक ब्याक्टेरियाले हुने एक किसिमको संक्रामक रोग हो। यसले मुख्यतः छाला, स्नायु आँखाहरु र सासप्रश्वास प्रणालीको माथिल्लो भागलाई असर गर्छ। यदि समयमै उपचार गरिएन भने यसले शारीरिक अपाङ्गता पनि निम्त्याउन सक्छ । जस्तै हातखुट्टाको संवेदना हराउने, घाउ बल्झिने, औँला बांगिने हुन्छ । यो रोग धेरै लामो समयको निकट सम्पर्कबाट मात्रै सर्छ। सामान्य स्पर्श, हात मिलाउने, सँगै खाना खाने वा एउटै घरमा बस्दा सर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ । मुखमुखै धेरै समय कुराकानी गर्दा वा संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा माइकोव्याकटेरिएम लेप्रेको संक्रमण फैलिन सक्छ ।
कुष्ठ रोग पूर्ण रूपमा निको हुने रोग हो। एमडीटी मल्टिड्रग थेरापी नामक औषधिको प्रयोग गर्नुपर्छ । ६ महिनादेखि १ वर्षसम्म औषधी लिनुपर्छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले यो औषधि निःशुल्क रूपमा उपलब्ध गराउँछ । अर्ली डिटेक्सन (सुरुमा नै पहिचान) भएमा कुनैपनि प्रकारको अपाङ्गता आउँदैन ।

यसकाे उपचार गर्दा कहिल्यै बिर्सन नसकिने घटना केही छ ?


म एउटा विशेष घटनालाई कहिल्यै बिर्सन सक्दिनँ । आजभन्दा करिब आठ वर्षअगाडिको कुरा हो । हाम्रो अस्पतालमा एक जना सारदा बजै आउनुभयो, उहाँको उमेर लगभग ६०–६१ वर्ष जति थियो । उहाँ दलित समुदायको तर श्रीमानको निधन भएको रहेछ । उहाँको शरीरमा देखिएको एउटा दाग थियाे – जुन वास्तवमा कुष्ठ रोगको लक्षण थियो । त्यो देखेर गाउँलेहरूले उहाँलाई छुन्छुन्दको रूपमा समाजले हेला गरेर हैरान बनाएको रहेछ । गाउँलेहरूले पनि यो त कोढी हो, यससँग बस्न मिल्दैन भनेर मर्नु न बाँच्नु बनाएपछि सेतो लुगा लगाएर, रुँदै–रुँदै, उहाँलाई गाउँबाटै लखेटेर निकालिएकी रहिछिन् । उहाँसँग मेरो भेट हाम्रो अस्पतालमा भयो । उहाँ एक्लै आउनुभयो, शरीर थाकेको भन्दा बढी मन थाकेको थियो । कपाल बिखरिएको थियो, आँखाभरी आँसु थियो । मैले उहाँको जाँच गरेँ। त्यो कुष्ठ रोगको सुरुवाती अवस्था थियो । अनि औषधि सुरु पनि गरेँ । उहाँको शरीर केही दिन निको हुँदै गयो । तर त्यो अपमान, त्यो घृणा, समाजको त्यो चिसोपन त्यसको उपचार धेरै गाह्रो थियो । कसरी हामी अझै पनि रोगीलाई भन्दा पनि रोगलाई लिएर डराउँछौं, घृणा गर्छौं । उहाँसँग सहानुभूति मात्र होइन, सम्मानपूर्वक व्यवहार पनि गर्याैँ । त्यो दिन मलाई लाग्यो मैले रोगी मान्छे मात्र होईन एक जनाको आत्मसम्मान पनि जोगाएँ । त्यही दिनदेखि मैले मेरो कामलाई ‘ड्युटी’ होइन, ‘मिशन’ को रूपमा लिन थालेँ ।
उनीहरू सामाजिक छुवाछूतको सिकार भइरहेका छन् नि ?
दुर्भाग्यवश, अझै पनि कतिपय ठाउँमा कुष्ठ रोग भएका व्यक्तिहरू छुवाछूत, हेला र तिरस्कारको शिकार भइरहेका छन्। यो रोगको उपचार हुन्छ भन्ने कुरामा अझै पनि धेरैलाई जानकारी छैन। त्यसैले, समुदाय स्तरमा जनचेतना आवश्यक छ ।
अन्त्यमा, के भन्न चाहनुहुन्छ?
सपनाको उचाइ देखेर डराउनुपर्ने होइन । सक्षम, योग्य, र परिवर्तन ल्याउने शक्ति तपाईंमा छ भने तपाईं सफल हुनुहुन्छ। आफ्नो क्षमता नाघ्न प्रयास गर्नुस्। समाजको सोच बदल्न समय लाग्छ, तर तपाईंको आत्मबलले त्यो सम्भव छ। तपाईं अगाडि बढ्नुभयो भने, कर्णाली पनि बढ्छ।