उत्तरकाशी पहिराेमा ज्यान गुमाएका आफन्तहरुको गुनासो–‘सास त आएन, लास समेत पाएनौं’

सुर्खेत: यही साउन २० गते जाजरकोटको कुशे गाउँपालिका–२ टाले गाउँकी ३५ वर्षीया राधिका सिंह भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको एक गाउँमा काम गरिरहेकी थिइन् । उनका ३५ वर्षीय श्रीमान निमबहादुर सिंह ठेकेदारसँग कामको हिसाब किताब गर्ने भन्दै नजिकैको धराली बजारमा गए । दिउँसो साढे १ बजे आएको पहिरोले निमबहादुरलाई त्यहि पहिरोमा बिलय भए । मिनेटमै धराली बजार तहस नहस भयो । त्यहि पहिरोमा परेर सयौं नेपालीले ज्यान गुमाए । तर, पहिरो गएको आधाघण्टा पछि मात्रै निम बहादुरकी श्रीमती राधिकाले थाहा पाइन । उनी आफ्नो श्रीमानको खबर गर्न लागिन् । तर उनका श्रीमानलाई सदाका लागि धरालीको पहिरोले लिएको थाहा पाएपछि उनी बेहोस् भइन् । स्थानीयको सहयोगमा उक्त खबर जाजरकोटसम्म पुग्यो । परिवार र छोराछोरी रोइकराई गर्न थाले । तीन छोरी र एक छोरालाई सिंह दम्पत्तिले वीरेन्द्रनरमा राखेर पढाई रहेका थिए । उनीहरुको उज्जवल भविष्य बनाउने योजनाका साथ ०८२ वैशाखमा उत्तरकाशी गएका उनीहरुको जीवनमा ठुलै बज्रपात आयो । छोराछोरीलाई राम्रो पढाइ–लेखाइ गराउने निमबहादुरको सपना धराली बजारको पहिरोले क्षणभरमै बगायो । राधिकाले श्रीमान गुमाइन्, छोराछोरीले बुवा गुमाए । आमाबुवाले साइँलो सन्तान गुमाए ।
‘मेरा श्रीमान कामको हिसाब गर्न बजारतिर गएको थियो, आधा घण्टा पनि बित्न नपाई उनी फर्किएनन् । धराली बजार पहिरोले पु¥र्यो भन्ने सुनेपछि म लडेँ, चेतै हरायो,’ आँसु झार्दै राधिकाले भनिन्, ‘अहिले न सास पायौं, न त लास पायौें ।’
खबर थाहा पाएको दुई दिनमै निमबहादुरका माइला दाई नरेन्द्रबहादुर सिंह उत्तरकाशी गए । त्यहाँ केही भारतिय र अन्य नेपालीहरुको लास उत्खनन् गरे निकालिएपनि । नेपाल प्रहरीका वरिष्ठ हवल्दार समेत रहेका नरेन्द्रबहादुरले आफ्नै आँखाले उनीहरूले धेरै शव उत्खनन् गरेर निकालिएको देखे । तर, भाइ निम बहादुरको मात्र होइन, उनका दाजुभाइ नातापर्ने रामबहादुर सिंह, मानबहादुर सिंह र रविन्द्र सिंहको पनि शव भेटिएन । नरेन्द्रले त्यहाँको प्रहरी प्रशासनलाई बारम्बार सम्भावित ठाउँमा डोजर लगाउन अनुरोध गरेपनि कसैले सुनेन । उनले भाइको लास बाहेक कुनै राहत र क्षतिपुर्ति नलिने भनेर भन्दा पनि बेवास्ता गरियो । बरु प्रशासनले २५÷३० दिनमा मृत घोषणा गरिने र त्यसपछि केही राहत दिए लिने नभए मृत्यूको प्रमाणपत्र बोकेर नेपाल फर्कने भनेर थर्काए । उनले विभिन्न अनुनय विनय गर्दापनि प्रशासनले नसुनेपछि भाउजुलाई ल्याएर नेपाल फर्किए । कतै सरकारको पहलमा लास आउँछकी भन्ने आशमा उनीहरुले १७ दिनसम्म दाहसंस्कार समेत गरेनन् । शनिबार लास खोजीको कुनै पहल नै नहुने देखिएपछि कुश र काँसको शव बनाएर दाहसंस्कार गरे ।
‘हामी चार भाइ मध्येको साइलो हो । उ र बुहारी छोराछोरीलाई शहरमा राखेर भविष्य बनाउन चाहेका थिए । मुख्य खम्बा नै गएपछि अहिले त बच्चाहरूको भविष्य नै अन्धकार भयो,’ नरेन्द्रबहादुरले भने, ‘मैले त्यहाँका प्रहरी र प्रशासनलाई धेरै पटक सम्भावित ठाउँमा डोजर चलाउन अनुरोध गरेँ । तर, कसैले कुरा सुनेन । बरु उल्टै २५–३० दिनमै मृत घोषणा गछौं । प्रमाणपत्र बोकेर नेपाल फर्कनु भन्ने धम्की पाएँ ।’ बच्चाहरुको पालनपोषणका लागि सरकारी तथा गैरसरकारी निकायसँग उनले सहयोगको अपिल गरेका छन् ।
घटनापछि नेपाल सरकारले दूतावासमार्फत जानकारी लिए पनि सक्रिय खोजी र उद्धारमा पहल नगरेको भन्दै पीडित परिवार र आफन्तहरूले गुनासो पोखेका छन् ।