सुर्खेत : पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर– ५ का एक सय ८४ जनालाई लालपुर्जा वितरण गरिएको छ । शनिबार कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहिको प्रमुख आतिथ्यतामा पुर्जा वितरण गरिएको हो ।
बराहतालमा करिब पाँच हजार भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित बसोबासी रहेका छन् । ती मध्ये तीन सय ५० जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकेको र आठ सय ५० जनाको पुर्जा बन्ने प्रक्रियामा रहेको अध्यक्ष भिमबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म पाँच सय ३४ जनाले पुर्जा पाएका छन् ।
‘हामीले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितलाई पुर्जा वितरणको काम तिब्र रुपमा अगाडी बढाएका छौं,’अध्यक्ष भण्डारीले भने, ‘जतिसक्दो सबै जग्गा धनीलाई पुर्जा दिन पालिकाले पहल कदमी गरिरहेको छ ।’
शनिबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा र कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतको विशेष आतिथ्यतामा भूमि आयोग सुर्खेत र बराहताल गाउँपालिकाको समन्वयमा पुर्जा तितरण गरिएको हो । अन्य वडाहरुमा पनि पुर्जाको काम भइरहेको अध्यक्ष भण्डारीले बताए ।
खुलानजर । २ भाद्र २०८०, शनिबार २०:५६