सुर्खेत : मंगलबार सुर्खेतमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर ‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तर–पुस्ता संवाद सम्पन्न गरिएको छ । विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र अधिकारमैत्री बनाउन नागरिक समाज, मानव अधिकार संस्था, युवा तथा विविध क्षेत्रका सरोकारवालाहरूबीच व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख मानबहादुर कार्कीले आगामी निर्वाचनलाई स्वच्छ, जनमुखी र हिंसारहित बनाउन सबै सरोकारवालाहरू सक्रिय हुनुपर्नेमा जोड दिए । ‘शान्तिपूर्ण र समावेशी निर्वाचन नागरिकको मौलिक अधिकार हो । यसका लागि नागरिक समाज र संघ–संस्थाले अनुगमन, सचेतना र समन्वयमा भूमिका बढाउनुपर्छ,’कार्कीले भने ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले मतदातालाई स्वतन्त्र एवं सुरक्षित वातावरणमा मतदान गर्न प्रेरित गर्नु सबै राजनीतिक दलको जिम्मेवारी भएको उल्लेख गरे । गैरसरकारी संस्था महासंघ कर्णालीका कोषाध्यक्ष सिपी शर्माले निर्वाचन अवधिमा मानव अधिकारसम्बन्धी मुद्दा अझै संवेदनशील हुने भएकाले संघ–संस्थाले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए । उच्च बार एशोसियसन सुर्खेतका अध्यक्ष दुर्गा सापकोटाले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारका कारण भविष्यमा पनि चुनावमा सुरक्षाजन्य चुनौती रहिरहन सक्ने चिन्ता व्यक्त गरे । उनले राज्यले यी विषयलाई बेवास्ता नगर्न सुझाव दिए ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले ‘निर्वाचन र मानव अधिकार’ विषयमा प्रस्तुतिकरण गर्दै पछिल्लो समय जेनजी आन्दोलनपछि युवाहरू राजनीतिक प्रक्रिया तर्फ आकर्षित भएका कारण दलहरूले उनीहरूको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘शान्तिपूर्ण निर्वाचनका लागि नागरिक समाजको एकीकृत अनुगमन, बहस र अभिलेखीकरण अपरिहार्य छ,’सुवेदीले भने ।
युवा लक्ष्मण वलीले निर्वाचन प्रक्रियामा मतदाताको अधिकार, समावेशीता र निष्पक्षतामाथि राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए । अपांगता अधिकारका अभियन्ता मयाप्रसाद जैसीले निर्वाचन मानव अधिकारसँग प्रत्यक्ष जोडिएको संवेदनशील प्रक्रिया भएकाले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो मतदान वातावरण निर्माण गर्न राजनीतिक दल, राज्य संयन्त्र र नागरिक सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूसँग आग्रह गरे ।
अर्का युवा सन्तोष विकले युवाहरूलाई निर्णय प्रक्रियाबाट अलग गरिए फेरि असन्तुष्टि र आन्दोलनको अवस्था दोहोरिन सक्ने चेतावनी दिए । उनले युवाहरूको प्रभावकारी सहभागिताले निर्वाचनलाई मौलिक अधिकारको उत्सवका रूपमा परिणत हुने बताए ।
संवादमा निर्वाचनमा हुने अनियमितता, पहुँचविहीन समुदायको सहभागिता, महिला तथा दलित समुदायको प्रतिनिधित्व, मतदाता शिक्षाको आवश्यकता र आचारसंहिताको कार्यान्वयनका चुनौतीबारे समेत विस्तृत बहस गरिएको थियो । सहभागीहरूले पारदर्शी र अधिकारमैत्री निर्वाचनका लागि निर्वाचन आयोग, दल तथा नागरिक समाजबीच मजबूत समन्वय अनिवार्य रहेको औंल्याएका थिए ।
संवादमा मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी तथा युवाहरुके सहभागिता रहेको थियो । आयोजकहरूले अन्तर–पुस्ता यो छलफलले आगामी फागुन २१ गतेका प्रतिनिधि सभा निर्वाचनलाई थप पारदर्शी, उत्तरदायी र हिंसामुक्त बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
मानव अधिकार र्याली
७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक लगायतका संस्थाहरुको संयुक्त आयोजना मंगलबार बृहत् मानव अधिकार र्याली निकालिएको छ । ‘हाम्रो मानव अधिकार, हाम्री सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु गरिएको याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । वीरेन्द्रनगरका विभिन्न भाग परिक्रमा गरिएको र्यालीमा सहभागिहरूले मानव अधिकारको संवद्र्धन, समानता, न्याय र मर्यादापूर्ण जीवनको पक्षमा लेखिएका प्लेकार्डहरु समातेका थिए ।
र्यालीका सहभागीहरूले मानव अधिकार सबैको दैनिकीमा लागू हुनुपर्ने, राज्यका नीति, कार्यक्रम नागरिकमैत्री र मानव अधिकारमैत्री हुन जरुरी रहेको भन्दै विभेद तथा हिंसाको अन्त्यका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने संदेश दिएका थिए ।
मानव अधिकार दिवसको सन्देशलाई जनस्तरमा पुर्याउने उद्देश्यसहित गरिएको सार्वजनिक र्याली कर्णाली प्रदेशमा सक्रिय विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो ।

खुलानजर । २५ मंसिर २०८२, बुधबार ०९:००