सुर्खेत: नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर–१०, दीपनगर स्थित श्री मंगलगढी प्राथमिक विद्यालयका ११६ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ।
शुक्रबार वितरण गरिएको कार्यक्रममा नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाका शाखा प्रबन्धक गायत्री भट्टराईले बैंक विशुद्ध नाफामुखी संस्था मात्र नभई सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको बताए। नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकले विभिन्न सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै उनले पछिल्लो समय बढ्दो डिजिटल ह्याकिङबाट बच्न सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिए। कार्यक्रममा वित्तीय साक्षरता तथा डिजिटल सुरक्षासम्बन्धी जानकारीसमेत प्रदान गरिएको छ।
विद्यालयकी प्रधानाध्यापक हितकुमारी खड्काले दलित, जनजाति तथा विपन्न समुदायका बालबालिका अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीको अभाव भइरहने भएकाले विभिन्न संघसंस्थाको सहयोग जुटाउँदै आएको बताइन्। नेपाल बैंकको सहयोगबाट विद्यार्थी र अभिभावक दुवै उत्साहित भएको उनको भनाइ छ।
वीरेन्द्रनगर नगरपालिका–१० का वडा अध्यक्ष दीलबहादुर रखालले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै अन्य बैंक तथा संघसंस्थाले पनि यसबाट प्रेरणा लिनुपर्ने बताए। कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नहुने उनले बताए।
बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा दलित सशक्तीकरण केन्द्र नेपालको आयोजनामा तथा नेपाल बैंक लिमिटेडको आर्थिक सहयोगमा झोला र शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा नेपाल बैंक लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका उपप्रबन्धक बालाराज बुढा, विद्यालय व्यवस्थापन तथा अभिभावक संघका अध्यक्ष पदमबहादुर चलाउने, आयोजक संस्थाका प्रतिनिधि लक्ष्मी विकलगायतको उपस्थिति रहेको थियो ।

खुलानजर । २६ असार २०८३, शुक्रबार १८:१५