सुर्खेत: भदौ १० गते रसुवाको कोटेकोशी नदीमा आएको बाढीका कारण कर्णाली प्रदेशका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका—१०, पिपलनेटाका २० वर्षीया आयुष खड्का र हुम्लाको ताँजाकोट गाउँपालिका—२ का ३५ वर्षीया नहकुल शर्मा छन् ।
भदौ १४ गते शव फेला परेका सल्यानका खड्काको १५ गते सनाखत भएर देवघाटमा दाहसंस्कार गरिएको छ । उनी टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदार पदमा कार्यरत थिए । उनको शव चितवनको देवघाटमा फेला परेको थियो ।
हुम्लाका शर्मा रसुवाको भन्सार अधिकृत थिए । भदौ १५ गते गोरखामा शव फेला परेका उनको १६ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको राठौरले बताए ।
कतिपयले आफन्तको शव फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । शनिबार सल्यानमा कुशकै शव बनाएर प्रमिला बुढाथोकीको दाहसंस्कार गरिएको छ ।
कर्णालीका १० जिल्ला रहेको कर्णाली प्रदेशका २४८ जना नागरिक बाढीमा परी सम्पर्कविहीन बनेका थिए । पछिल्लो विवरण अनुसार तीमध्ये ७८ जना सम्पर्कका आए ।
अझै १६८ जनाको अवस्था अज्ञात रहेको प्रहरी प्रवक्ता राठौरले बताए । बेपत्ता हुनेमा १३४ जना पुरुष, २६ जना महिला र ८ जना बालबालिका छन् । उनका अनुसार, सबैभन्दा धेरै जुम्लाका ६३ जना अझै सम्पर्क बाहिर छन्, जसमा ६१ पुरुष, १ महिला र १ बालक छन् ।
सल्यानका ३७ पुरुष, ११ महिला र ३ जना बालबालिकाको अवस्था अज्ञात छ । मुगुका ६ जना पुरुष, ४ महिला १ बालक, सुर्खेतका १४ पुरुष, १ महिला, दैलेखका ४ पुरुष १ महिला, जाजरकोटका २ पुरुष, रुकुम पश्चिमका ३ पुरुष, ३ महिला र १ बालिकाको अवस्था पनि अज्ञात छ ।
यस्तै, कालिकोटका ३ पुरुष, २ महिला, १ बालक, डोल्पाका १÷१ जना पुरुष, महिला र हुम्लाका ३ जना पुरुष, २ जना महिला र १ जना बालिका छन् ।
कर्णालीका अधिकांश नागरिक रसुवा, नुवाकोट तथा त्रिशुली क्षेत्रमा रोजगारीका लागि गएका थिए । कतिपय उक्त क्षेत्रका हाइड्रोपावरमा जागिरे पनि थिए । त्रिशुली—३ ए मा इन्जिनियर पदमा कार्यरत जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका छोरा महेन्द्र शाही अझै भेटिएका छैनन् । यस्तै, पश्चिम सुर्खेतका केही नेपाली सेनामा कार्यरत सिपाहीहरुको अवस्था पनि अज्ञात छ ।

खुलानजर । २२ भाद्र २०८३, सोमबार १०:०९