लेखक संघद्वारा एक लाख रासीको पुरस्कार कवि बैरागीलाई


काठमाडौं : नेपाली लेखक संघले एक लाख रासीको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई प्रदान गरेको छ । लेखक दिवसका अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नगद सहित सम्मान पत्र पहस्तान्त्रण गरेका हुन् । प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक काइँलालाई अर्पण गरिएको संघले जनाएको छ ।
अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले शनिवार वैशाख १६ गते देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरी लेखक दिवस मनाएको संघका महासचिव सोझो गाउँलेले बताए । सम्पूर्ण लेखकहरूले गौरव गर्ने लाइब्रेरी पर्वका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको संघका अध्यक्ष तीर्थ श्रेष्ठले बताए ।
वि.स. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गदा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन लेखक दिवस मनाउन लागिएको हो ।
कार्यक्रममा कवि काइँलाले पुरस्कार प्राप्त गर्दा जिम्मेवारीबोध भएको बताए । पुरस्कृत श्रष्टामाथि संघका सल्लाहकार ज्ञानु पाण्डेले धारणा राखेका थिए ।