सुर्खेत: मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको दोस्रो बैठक सम्पन्न गरिएको छ । मंगलबार वीरेन्द्रनगरमा सञ्जालका संयोजक पीताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कर्णाली प्रदेशमा विभिन्न संघ, संस्थाबाट खटिने पर्यवेक्षकहरुको तथ्याङ्क संकलन गरी समन्वय सहकार्य र अनलाइन अभिमूखीकरण कार्यक्रम गर्ने, त्यसका लागि इन्सेक कर्णाली प्रदेशले नेतृत्व गर्ने, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विचाराधिन रहेको मानव अधिकार रक्षक विधेयकका विषयमा मुख्यसचिवलाई सामूहिक ध्यानाकर्षण पत्र बुझाउने, अलपत्र परेका जनसरोकारका विषयहरु ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ जस्ता विषयमा सार्वजनिक हित मुद्दा (पिआइएल) अदालतमा दर्ता गराउने निर्णय गरिएको छ । त्यस्तै कर्णालीमा अपाङ्गतामैत्री मतदान केन्द्र र सार्वजनिक तथा सरकारी संरचना बनाउनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने, अखाद्य वस्तुको बिक्री वितरण, महिलामाथि हुने हिंसा, निर्वाचनमा बालबालिकाको प्रयोग लगायतका सवालमा सरोकारवाला निकायसँग समन्वय गरेर आवश्यक कार्यक्रम गर्ने, पीडितको न्यायमा सहज पहुँच बनाउन नागरिक संघ संस्थाहरुको भूमिकाका विषयमा छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापाले नजिकै आइरहेको निर्वाचनमा आयोगले सबै जिल्लामा अनुगमन गर्ने र परिवेक्षणमा खटिएका परिवेक्षकहरुको सुरक्षा, संरक्षण लगायतका विषयमा समेत अनुगमन गर्ने बताए ।
मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष पीताम्बर ढकालले सार्वजनिक चासो र मानव अधिकार उल्लङ्घनका विषयमा सदस्य संस्थाहरुको सहकार्य आवश्यक रहेको भन्दै निर्वाचनमा प्रभावकारी परिवेक्षण गर्नुपनेमा जोड दिए । बैठकमा सञ्जालका सदस्य संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खुलानजर । २९ माघ २०८२, बुधबार ०९:५९