कर्णालीका ९४१ मतदान स्थल सुरक्षा घेराबन्दीमा, निर्वाचन तयारी पूरा हुँदै

फाइल तस्बिर

सुर्खेत: कर्णाली प्रदेशमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन हुन अब सात दिन मात्र बाँकी रहँदा प्रदेशका १० वटै जिल्लामा सुरक्षा परिचालन कडाइ गरिएको छ भने निर्वाचन सामग्री ढुवानीको काम तीव्र पारिएको छ । हिमाली भौगोलिक विकटतासँग जुध्दै कर्णालीमा ‘हेली ड्रप’देखि घोडा गस्तीसमेतको योजना बनाएर सुरक्षा निकायहरू खटिएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको छ । अब जिल्लाबाट सम्बन्धित मतदान स्थल र केन्द्रसम्म सामग्री पुर्‍याउने काम भइरहेको छ । ‘निर्वाचनसँग सम्बन्धित सामग्रीहरू सबै पठाउने काम भइरहेको छ,’ उनले भने, ‘भोलिसम्म थप जनशक्ति र बाँकी सामग्री पनि सम्बन्धित जिल्लामा पुगिसक्छ ।’
प्रदेशभर निर्वाचन सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । प्रहरी प्रवक्ता शाहका अनुसार ५ हजार ५८० जना नेपाल प्रहरी र ९ हजार ७४२ जना निर्वाचन प्रहरी खटिएका छन् । मतदान स्थल, मतदान केन्द्र, मतपेटिका सङ्कलन र ढुवानी प्रक्रियालाई लक्षित गरी सुरक्षा घेराबन्दी बहुस्तरीय बनाइएको उनले बताए ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला–जिल्लामा खटिन लागेका प्रहरीहरूलाई विशेष निर्देशन दिइसकेको बताए । उनका अनुसार मतदानअघि, मतदानको दिन र मतदानपछिको मतपत्र सङ्कलन तथा ढुवानी चरणलाई उच्च संवेदनशील मानिएको छ ।

कर्णालीको भौगोलिक अवस्था आफैंमा चुनौतीपूर्ण छ । समुद्र सतहदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको यस प्रदेशका डोल्पा, मुगु, हुम्ला र जुम्ला जस्ता जिल्लामा हिउँपात र चिसोले आवागमन प्रभावित हुने गरेको छ । कतिपय स्थानमा अझै पनि सडक सञ्जाल पुगेको छैन । यस्तो अवस्थामा निर्वाचन सामग्री पुर्‍याउन र मतदानपछि मतपत्र सुरक्षित रूपमा सङ्कलन गर्न हेलिकप्टर परिचालनको योजना बनाइएको छ ।
प्रहरी प्रवक्ता शाहका अनुसार हिमाली जिल्लाका दुर्गम मतदान स्थलहरूमा ‘हेली ड्रप’मार्फत निर्वाचन सामग्री पठाउने र मतदानपछि हेलिकप्टरबाटै मतपत्र ल्याउने तयारी छ । ‘अहिलेसम्म हेली ड्रप गर्ने र निर्वाचन पश्चात् हेलिकप्टरबाटै ल्याउने भन्ने योजना छ,’ उनले भने, ‘त्यही अनुसार हामीले जिल्लाहरूमा सुरक्षा योजना पठाइसकेका छौं ।’
हिमाली भेगमा सुरक्षा जोखिम पनि तुलनात्मक रूपमा बढी हुने भएकाले थप केन्द्रित सुरक्षा रणनीति अपनाइएको छ । नियमित गस्ती बढाइएको छ भने केही अति विकट क्षेत्रमा नेपाली सेनाले घोडाको सहारा लिएर गस्ती गरिरहेको छ । हिउँले ढाकिएका बाटो, अक्सिजनको कमी र चिसो मौसमबीच सुरक्षाकर्मीहरू परिचालित छन् ।
यसैबीच कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । प्रदेशका ६ वटा विमानस्थल र ९ वटा कारागारलाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरी सेनाले सुरक्षा ड्युटी सम्हालेको हो । सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्लामा रहेका विमानस्थल तथा विभिन्न जिल्लाका कारागारमा सेना परिचालित भइसकेको शाहले जानकारी दिए । ‘सेनाले ड्युटी लिइसकेको छ,’ उनले भने ।
निर्वाचनका दृष्टिले कर्णाली भौगोलिक रूपमा मात्रै होइन, संरचनागत हिसाबले पनि चुनौतीपूर्ण प्रदेश मानिन्छ । प्रदेशभर ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्र तोकिएका छन् । कतिपय मतदान स्थलसम्म पुग्न एक–दुई दिन पैदल हिँड्नुपर्ने अवस्था छ । त्यस्ता स्थानमा सुरक्षाकर्मी र निर्वाचन कर्मचारीलाई अग्रिम रूपमा परिचालन गरिएको छ ।

कर्णालीमा कुल १० लाख ३७ हजार २५० जना मतदाता रहेका छन् । यद्यपि ६० देखि ७० प्रतिशतसम्म मात्रै मत खस्ने अनुमान गरिएको छ । हिमाली जिल्लामा मौसम, दुर्गमता र बसाइँसराइका कारण मतदाता उपस्थितिमा प्रभाव पर्ने गरेको विगतको अनुभव छ । तर यसपटक सुरक्षा प्रबन्ध र सामग्री व्यवस्थापन सुदृढ पारिएकाले मतदाता सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
प्रदेश राजधानी सुर्खेतसहित पहाडी र हिमाली जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन, सुरक्षा चेकजाँच र गस्तीलाई थप कडाइ गरिएको छ । संवेदनशील र अति संवेदनशील मतदान स्थलको सूची तयार गरी त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थल वरपर १०० मिटर क्षेत्रभित्र अनावश्यक भीडभाड र गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको छ ।
सुरक्षा निकायका अनुसार निर्वाचन अवधिभर सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सूचना र उत्तेजक गतिविधि नियन्त्रणमा समेत निगरानी बढाइएको छ । सम्भावित विवाद र झडप रोक्न स्थानीय प्रशासनसँग समन्वय गरी कार्ययोजना बनाइएको छ ।

कर्णालीमा निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, भौगोलिक चुनौतीसँगको व्यवस्थापन क्षमता पनि हो । हिमाल, हिउँ, दुर्गमता र सीमित पूर्वाधारबीच लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सुरक्षा निकाय, प्रशासन र निर्वाचन कर्मचारीहरू चौतर्फी रूपमा सक्रिय छन् ।
फागुन २१ नजिकिँदै जाँदा कर्णालीमा सुरक्षा घेराबन्दी कसिलो बन्दै गएको छ । हेलिकप्टर, घोडा र हजारौं सुरक्षाकर्मीको उपस्थितिबीच हिमाली भेगदेखि सदरमुकामसम्म मतदानको तयारी अन्तिम चरणमा पुगेको छ । अब सबैको ध्यान भयरहित, शान्तिपूर्ण र विश्वसनीय मतदानतर्फ केन्द्रित भएको छ ।