ओली पक्राउकाे विराेधमा देशव्यापी आन्दोलन, सुरक्षा ‘हाइ अलर्ट’मा

सुर्खेत: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउसँगै देशभर राजनीतिक तनाव तीव्र बनेको छ । काठमाडौं उपत्यकामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ भने कर्णालीका विभिन्न जिल्लामा समेत एमाले कार्यकर्ताले सडक आन्दोलन चर्काएका छन् । समग्र घटनाक्रमले मुलुक पुनः राजनीतिक द्वन्द्वको दिशातर्फ धकेलिने संकेत देखिएको छ ।
राजधानी काठमाडौंमा एमाले निकट जनसंगठनहरूले शनिबार आयोजना गरेको प्रदर्शनका क्रममा स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएको छ । माइतीघर मण्डलामा प्रहरीद्वारा राखिएको ब्यारिगेट तोडेर प्रदर्शनकारी अघि बढेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
प्रदर्शनकारीहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसक्रममा काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शनकारीले टायर बाल्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो । केहीबेर दोहोरो झडप हुँदा क्षेत्र तनावग्रस्त बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध नाराबाजी गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए । प्रदर्शनकारीहरूले ‘राजनीतिक प्रतिशोधको अन्त्य गर’, ‘ओलीलाई तुरुन्त रिहा गर’ जस्ता नाराहरू लगाएका थिए ।
काठमाडौंका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सम्भावित थप झडप रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
पूर्वप्रधानमन्त्री ओलीको पक्राउ भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’सँग जोडिएको छ । उक्त आन्दोलनका क्रममा भएको दमन, हिंसा र विध्वंसका घटनाको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन गरेको थियो ।
आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन नेतृत्वको भूमिका, निर्णय प्रक्रिया र सुरक्षा संयन्त्रको परिचालनबारे प्रश्न उठाउँदै केही व्यक्तिमाथि कारबाही सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको जनाइएको छ ।
सरकारले कानुनी प्रक्रिया अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको दाबी गरे पनि एमालेले यसलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएको छ ।

कर्णालीमा पनि प्रदर्शन
ओलीको पक्राउविरुद्ध कर्णाली प्रदेशका विभिन्न जिल्लामा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । शनिबार सुर्खेत, हुम्ला, जुम्ला, मुगु, रुकुमपश्चिम, कालिकोट, दैलेख, सल्यान लगायतका जिल्लामा विरोध प्रदर्शन भएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदर्शनमा सहभागीहरूले ओलीको तत्काल रिहाइको माग गरेका छन् । जिल्ला सदरमुकाममा नाराबाजीसहित प्रदर्शन गरिएको थियो ।
जुम्लामा एमालेले राँके जुलुस निकाल्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेको छ । अन्य जिल्लाहरूमा पनि प्रदर्शनकारीहरूले बजार क्षेत्र परिक्रमा गर्दै विरोध जनाएका छन् ।
स्थानीय एमाले नेताहरूले सरकारले जबरजस्ती मुलुकलाई मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । उनीहरूले तत्काल ओलीलाई रिहा नगरे देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका छन् । रुकुमपश्चिम लगायतका जिल्लामा प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएकाे छ

सुरक्षा निकाय उच्च सतर्कतामा
कर्णाली प्रदेशभर बढ्दो आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा निकाय ‘हाइ अलर्ट’मा राखिएको छ । प्रदेश प्रहरी कार्यालयले सबै जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार प्रदेश मातहतका सबै जिल्लामा प्रहरीलाई स्ट्यान्डबाई अवस्थामा राखिएको छ ।
उनले जिल्लास्तरमा प्रहरी कर्मचारीहरूको बिदा स्थगित गरिएको र आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बताए ।
`कुनै पनि अप्रत्याशित घटना हुन नदिन र भए पनि तत्काल नियन्त्रण गर्न सकियोस् भन्ने उद्देश्यले सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको छ,´उनले भने ।
संभावित हिंसात्मक गतिविधि रोक्न संवेदनशील क्षेत्रहरूमा थप सुरक्षा बल परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरेर स्थिति निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

राजनीतिक तनाव बढ्ने संकेत
ओली पक्राउसँगै उत्पन्न भएको परिस्थितिले मुलुकमा राजनीतिक तनाव थप चर्किने संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आन्दोलनको चेतावनी दिइसकेको छ भने सरकार कानुनी प्रक्रिया अनुसार अघि बढ्ने अडानमा देखिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो अवस्थाले संवाद र सहमतिको वातावरण कमजोर बनाउन सक्छ । यदि दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहे भने स्थिति थप जटिल बन्न सक्ने उनीहरूको भनाइ छ ।
काठमाडौंमा भएको झडप र प्रदर्शनका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ । माइतीघर, बबरमहल, बानेश्वर क्षेत्रका सडकहरूमा यातायात अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन् ।
त्यस्तै कर्णालीका विभिन्न जिल्लामा पनि बजार क्षेत्र प्रभावित भएको छ । प्रदर्शनका कारण व्यवसाय आंशिक रूपमा प्रभावित भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीको पक्राउले देशभर राजनीतिक तरंग सिर्जना गरेको छ । काठमाडौंमा झडप र कर्णालीका जिल्लामा चर्किएको आन्दोलनले स्थिति संवेदनशील बनेको छ । सरकारले कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाएको दाबी गरिरहेको छ भने एमालेले यसलाई राजनीतिक प्रतिशोध भन्दै सडक आन्दोलन चर्काएको छ ।
आगामी दिनमा यो विवाद कसरी समाधान हुन्छ भन्नेमा देशको राजनीतिक स्थायित्व निर्भर रहने देखिन्छ । अहिलेका लागि भने मुलुक तनावपूर्ण अवस्थामा रहेको छ, जहाँ सुरक्षा निकाय उच्च सतर्कतामा छन् र राजनीतिक दलहरूबीच टकराव बढ्दो क्रममा देखिएको छ ।