
काठमाडौं: कर्णालीको माटोबाट कला क्षेत्रमा स्थापित हुने सपना बोकेर काठमाडौं आएका गायक तथा मोडल रेशम नेप्किङको नयाँ म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ।

गायनसँगै अभिनय र मोडलिङमा समेत सक्रिय नेप्किङले आफ्नो निरन्तरको संघर्ष र सिर्जनात्मक यात्रालाई अघि बढाउँदै नयाँ गीत तथा भिडियो दर्शकमाझ ल्याएका हुन्। कर्णालीदेखि काठमाडौंसम्मको यात्रामा विभिन्न चुनौती पार गर्दै कला क्षेत्रमा पहिचान बनाउने प्रयासमा रहेका नेप्किङका लागि यो भिडियो विशेष प्रस्तुति बनेको छ।

‘पान मिठो कलकत्ताको’ को भिडियोमा चर्चित अभिनेता पल शाहसँगै रेशम नेप्किङ, प्रमिता राजघताने र करुणा तामाङको अभिनय रहेको छ। भिडियोमा विशेषगरी पल शाह र नेप्किङको प्रस्तुतिलाई आकर्षक ढंगले देखाइएको छ।
गीतमा रेशम नेप्किङ र शान्तारानी परियारको स्वर रहेको छ। सङ्गम पौडेलको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका हुन्।

भिडियोको सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्माले गरेका छन् भने ध्वनि संयोजन एचबीएन किस्मतको रहेको छ। भिडियोमा भ्यालेन्टियोको पोशाक डिजाइन रहेको छ।
कर्णालीबाट काठमाडौं आएर संगीत, अभिनय र मोडलिङमा आफ्नो भविष्य खोजिरहेका नेप्किङ पछिल्लो समय निरन्तर नयाँ सिर्जनामार्फत आफूलाई प्रस्तुत गर्दै आएका छन्। ‘पान मिठो कलकत्ताको’ उनको यही संघर्ष र कलायात्राको अर्को महत्वपूर्ण कडीका रूपमा आएको छ।
म्युजिक भिडियो ‘Resham Nepking Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत तथा भिडियोले दर्शक–श्रोताबाट माया, साथ र सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा नेप्किङले गरेका छन्।

खुलानजर । ९ आश्विन २०८३, शुक्रबार १८:०३