द्वन्द्वपीडितका मुद्दा संसद्मा उठाउँछौँ : सांसद खड्का

सुर्खेत: प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेका नागरिकले दुई दशक बितिसक्दा पनि न्याय पाउन नसकेको विषय संसद्मा गम्भीरतापूर्वक उठाउने प्रतिबद्धता जनाएका छन् । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदा पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नपाउनु दुःखद भएको भन्दै उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन संसद्मा आवाज उठाउने बताएका हुन् ।

सोमबार वीरेन्द्रनगरमा इन्सेक कर्णाली प्रदेश कार्यालय लगायतका संस्थाहरुले आयोजना गरेको ‘संक्रमणकालीन न्याय, द्वन्द्वपीडितको अवस्था र समस्या समाधानका उपाय’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसद खड्काले द्वन्द्वका पीडा नबुझेका र नभोगेका व्यक्ति अहिले सरकारमा रहेकाले उनीहरूलाई पीडितका वास्तविक समस्या सुनाउन आवश्यक रहेको बताए ।
‘शान्ति सम्झौता भएकै २० वर्ष पूरा भइसक्यो, अहिलेसम्म पीडितले न्यायको अनुभूति गर्न पाउनुभएको छैन,’ उनले भने, ‘यो विषयलाई अब गम्भीरताका साथ संसद्मा उठाउँछु।’

प्रतिनिधि सभाकी सांसद राधिका रम्तेलले पनि संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन संसद्मा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन्। प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारी गर्दै द्वन्द्वपीडितलाई न्याय दिलाउन पहल गर्ने उनको भनाइ छ।

‘द्वन्द्वको चपेटामा परेका जोसुकैले पनि न्याय पाउनुपर्छ। जबसम्म द्वन्द्वपीडितले न्याय पाउँदैनन्, तबसम्म विस्तृत शान्ति सम्झौताको मर्म पूरा हुँदैन,’ उनले भनिन्, ‘संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्‍याउन सरकारलाई जिम्मेवार बनाउन संसद्मा प्रत्यक्ष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका संयोजक रमेशकुमार थापाले द्वन्द्वका घटनामा आयोगले अनुसन्धान गरेर सरकारलाई सुझावसहितको निर्णय समेत गरि पठाएको बताए। सरकारले जिम्मेवारी दिएको खण्डमा संक्रमणकालीन न्यायको अध्यन अनुसन्धान र समाधान तर्फ आयोग तयार रहेको उनले बताए।सशस्त्र द्वन्द्वका क्रममा कर्णाली प्रदेशका १० जिल्लामा दुई हजार ७ सय ५ जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ। इन्सेकले तयार पारेको ‘द्वन्द्वपीडित पार्श्वचित्र’का अनुसार द्वन्द्वका क्रममा ४ सय ३२ जना अपाङ्गता भएका छन् भने ९९ जना बेपत्ता पारिएका छन्। यी तथ्यांकले द्वन्द्वको दुई दशकपछि पनि कर्णालीमा पीडित परिवारले भोगिरहेको पीडा र न्यायको अधुरो अवस्थालाई उजागर गर्छन्।


कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरूले न्यायका लागि लामो समयदेखि संघर्ष गर्दा पनि राज्यले बेवास्ता गरेको गुनासो गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–६ का पूर्णप्रसाद पौडेलले आफूले तत्कालीन शाही सेनाबाट १८ महिनासम्म चरम यातना भोगेको र त्यसको न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगदेखि सर्वोच्च अदालतसम्म धाउँदा पनि न्याय नपाएको बताए।

२०५८ सालमा सेनाले पक्राउ गरेपछि हातखुट्टाका औँलामा पिन ठोक्ने, पैतालामा चिर्ने र करेन्ट लगाउनेजस्ता यातना दिएको उनले सुनाए। यातना र बढ्दो उमेरका कारण अहिले उनको शारीरिक तथा मानसिक अवस्था कमजोर बनेको छ। राष्ट्रिय मानव अधिकार आयोग र अदालतले क्षतिपूर्ति दिन सरकारलाई पत्राचार तथा फैसला गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

पक्राउपछि सेनाले उनको घरमा छापा मारेर पाँच लाख रुपैयाँ नगद र चार तोला सुनसमेत बरामद गरेको थियो। परिवारका सदस्यले पनि यातना भोग्नुपरेको थियो। सेनाको त्रास र पारिवारिक पीडाका कारण २७ वर्षीय छोराले विष सेवन गरेर ज्यान गुमाए भने अर्का छोरा बेपत्ता भएको केही दिनपछि जंगलमा मृत भेटिएका थिए।

कुनै समय यातायात व्यवसायी समिति सञ्चालन गरेर धेरैलाई सेवा गरेका पौडेल अहिले नियमित औषधि किन्नसमेत अरूको सहयोग खोज्नुपर्ने अवस्थामा पुगेका छन्। ‘यस्ता पीडा सुनाउन थालेको २० वर्ष नाघिसक्यो,’ उनले भने ‘राज्यले अहिलेसम्म मजस्ता पीडितलाई न्याय दिन सकेको छैन।’

वीरेन्द्रनगरकी शान्ति ढकालले पनि २८ वर्षदेखि पति हत्याको न्याय खोजिरहेको बताइन्। उनका पति गणेशप्रसाद शर्मा दैलेखको साविक लालीकाँडा गाविसस्थित विद्यालयमा शिक्षक थिए। २०५५ वैशाख २२ गते दैलेखबाट सुर्खेत आउने क्रममा सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको र छ दिनसम्म चरम यातना दिएर हत्या गरेको उनले बताइन्। उनले पतिको शवसमेत देख्न नपाएको गुनासो गरिन्।

दुई दशकसम्म न्याय नपाउँदा राज्यप्रति आक्रोश बढेको बताउँदै उनले पीडितले अझै कति समय आफ्नो पीडा सुनाइरहनुपर्ने हो भन्ने प्रश्न गरिन्।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका–९ का ऋषि वलीले सशस्त्र द्वन्द्वमा १४ वर्षीया दिदी दीपा गुमाए। २०६० साउन २३ गते सेनाले नियन्त्रणमा लिएर छिन्चुस्थित ब्यारेकमा पुर्‍याएपछि उहाँ बेपत्ता भएकी थिइन्। नियन्त्रणमा रहँदा परिवारलाई पठाएको चिठीमा उनले आफू जोखिममा रहेको भन्दै भेट्न आउन आग्रह गरेकी थिइन्। दिदीको न्यायका लागि संघर्ष गरिरहेका ऋषि संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुगेको हेर्न चाहान्छन् ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–धारापानीका कृपासिंह घर्तीको पीडा पनि उस्तै छ। उनी १३ वर्षको हुँदा २०५८ जेठ २८ गते बाबु पुष्करलाई तत्कालीन नेकपा माओवादीले मालारानीको गैरीबजार जाने क्रममा अपहरण गरेको थियो। तत्कालीन शाही नेपाली सेनाको सुराकी गरेको आरोपमा अपहरणमा परेका बाबु त्यसयता बेपत्ता छन्।

घरको मुख्य कमाउने व्यक्ति नै बेपत्ता भएपछि कृपासिंहले सानै उमेरमा पारिवारिक जिम्मेवारी सम्हाल्नुपर्‍यो। पढाइसमेत छाड्नुपरेको उनले बताए।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय मानव अधिकार आयोगलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे। आयोगका सबै प्रदेशमा संरचना रहेको र द्वन्द्वपीडितको तथ्यांकसमेत उपलब्ध भएकाले न्याय प्रक्रियामा उसलाई जिम्मेवार बनाउनुपर्ने उनको सुझाव छ।

द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल कर्णाली प्रदेशकी संयोजक शीतलसिंह राठौरले सरकार परिवर्तन भइरहने, आयोग गठन गर्ने तर प्रभावकारी काम नगर्ने प्रवृत्तिका कारण संक्रमणकालीन न्यायको प्रक्रिया वर्षौंदेखि अल्झिएको बताइन्।
‘निर्दोष मान्छे मारिए, गोली लागेर अंगभंग भए, महिलाहरू बलात्कृत भए, सम्पत्ति लुटियो,’ उनले भनिन्, ‘न्याय पाउन हामीले २० वर्ष कुरिसक्यौँ, अझै कति कुर्नुपर्ने हो ?’

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले शान्ति सम्झौताको २० वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाउनु गम्भीर विषय भएको बताए। पीडितका पीडालाई सरोकारवाला निकायले बेवास्ता गर्ने अवस्थाको अन्त्य गर्दै न्यायका लागि राज्यलाई निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ छ। ‘पीडितले पीडा भोगिरहने र सरोकारवाला निकायले त्यो पीडालाई महसुस नगर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘राज्यलाई खबरदारी गर्दै न्यायका लागि सबै अग्रसर हुन जरुरी छ।’