चाैकुनेमा लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता तालिम


सुर्खेत: युरोपियन युनियनको आर्थिक सहयोग, युएनओमेनको प्राविधिक सहयोग तथा नेपाल सरकारको समन्वयमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत चौकुने गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता सम्बन्धी तालिम तीन दिने तालिम शुक्रबारदेखि सुरु भएको छ । ‘लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना’ अन्तर्गत सुरु गरिएको तालिमको उद्घाटन चौकुने गाउँपलिका वडा नम्बर ८ का अध्यक्ष कमल जिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो परियोजना प्रो–पब्लिकको अगुवाइमा सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेत, निडस नेपाल सुदूरपश्चिम प्रदेशले साझेदारी संचालन भईरहेको छ । परियोजना कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका १० वटा स्थानीय तहका २० वडामा कार्यान्वयन भइरहेको छ । परियोजनाले महिला तथा पछाडि पारिएको समुह, दलित, जनजाती, सिमान्तकृत र अपांगता भएका व्यक्तिहरुको निर्णयमा पहुच अभिवृद्धि, जवाफदेहिता र पारदर्शिता माग अभिवृद्धि गरी लैङ्गिक समानता, सामाजिक न्याय, महिला शसक्तिकरण र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रो पव्लिकटिम लिडर पोष्ट केसीले तालिमहरूले समुदायमा सुशासन र लैङ्गिक समानता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले परियोजनाले स्थानीय सरकार, नागरिक समाज र समुदायबीचको सहकार्य अभिवृद्धि गरी लैगिंक समानता र सामाजिक जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तालिममा सुशासन प्रवद्र्धनका लागि युवा संस्थाका कार्यकारी निर्देशक घनश्याम केसी, सहजकर्ता अन्जलीबिसी, खगेन्द्र थापा र टीका जोसीले सहजीकरण गरेका थिए । उनीहरूले सहभागीहरूलाई लैङ्गिक समानताको अवधारणा, सामाजिक जवाफदेहिता, सार्वजनिक सेवा पहुँचमा हुने विभेद, स्थानीय तहमा हुने लैङ्गिक हिंसाका मुद्दाहरू, योजना तर्जुमा नागरिक सहभागिता, सामाजिक जवाफदेहिताका औजार सार्वजनिक सुनुवाई, सुचनाको हक, नागरिक वडा पत्र, नागरिक प्रतिवेदनपत्र सम्वन्धी विषयमा प्रशिक्षण दिइनेछ ।
तालिममा चौकुने गाउँपालिका वडा नम्बर ८ का महिला समूह तथा पछाडि पारिएका समुह, दलित जनजाती, सिमान्कृत तथा अपांगता भएका व्यक्तिहरू गरी २० जना सहभागी रहेका छन् । सहभागीहरूले तालिमबाट लैङ्गिक समानता बारे गहिरो बुझाइ विकास भएको, स्थानीय तहमा हुने निर्णय प्रक्रियामा महिला तथा सीमान्तकृत समुदायको भूमिका र स्थानीय तहमा जवाफदेहिता र पारदर्शिताको बारेमा क्षमता अभिवृद्धि भई लैगिंक समानता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।
तालिममा सहभागीहरू बीच समूहकार्य, अनुभव आदानप्रदान, प्रस्तुति तथा संवादको माध्यमबाट सिकाइ प्रक्रिया अझ सशक्त बनाइएको छ । प्रशिक्षकहरूले तालिम अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्यासका माध्यमबाट सिकाउने प्रयास गरिरहेका छन्।
यस किसिमको तालिमले महिलातथा पछाडि पारिएको समुह, दलित जनजाती र अपांगता भएको व्यक्तिहरुको स्थानीय तहमा सामाजिक जवाफदेहिता बढाउन, नीति निर्माण र सेवा प्रवाहमा नागरिक सहभागिता सुनिश्चित गर्न र सुशासन प्रवद्र्धनमा सघाउने अपेक्षा गरिएको छ । तालिम सम्पन्न भएपछि सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई आफ्ना समुदायमा कार्यान्वयन गर्दै लैङ्गिक न्याय र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्न सहयोग पुग्ने छ । तालिमपाश्चात लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता नागरिक संजाल चौकुने गुटु ४ सुर्खेत कणाली प्रदेश गठन गरिनेछ ।