ठेकेदारको लापरवाहीले नाली भत्कियो

सुर्खेतः वीरेन्द्रगर–१२ मा निर्माण भइरहेको नाला निर्माण पूरा नहुदै भत्किएको छ। ठेकेदारको लापरवाहीका कारण औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिव ५०० मिटर मध्ये एकसय मिटरबढि नाला निर्माण कार्य नसकिदै भत्किएको हो। पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेज अन्तर्गत करिव १ करोड लागतमा विध्या एण्ड कालिका निर्माण सेवाले बनाएको नाला काम नसकिदै भत्किएको हो। कम्पनीले नगरका विभिन्न क्षेत्रमाल यो सहित ६ ठाउँमा नाला निर्माण गरिरहेको ।

गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाईले नाला निर्माणले तीव्रता पाउन सकेको छैन। मापदण्ड नपुर्‍याएका कारण नाला बिचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाही बताउँछन् । नालाको दुबैतर्फ लगाइएको दिवाल पनि तोकिएको मापदण्ड अनुसार नभएको अनुगमनका क्रममा देखिएको छ, र अर्को कुरा जमिनको भागदेखिको उचाई पनि कम देखिएको शाहीले बताए ।

उनले भने ‘नालीसँग जमिनको लेभल मिलाउँदा भरिएको माटोको चापले भत्किएको रहेछ।’ कम्पनीलाई यसबारे जानकारीसमेत गराएको उल्लेख गर्दै यथासिघ्र निर्माण गर्न ताकेता गरेको शाहीको भनाई छ। उनले भत्किएको नालाको पुनः निर्माण पुरानै लागतमा कम्पनीले गर्नुपर्ने बताए ।