सेनाबाट अवकास लिएर मेडीकलमा रमाएका राम

वीरेन्द्रनगर–४ का ५३ वर्षीय राम रानामगर ‘राना पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रालि’ का सञ्चालक हुन् । उनको घरमा दुई छोरी, एक छोरा, आमा र श्रीमतीसहित ६ जनाको परिवार छ ।
सुर्खेतको पश्चिम गुटुमा जन्मिएर बाल्यकाल र युवाअवस्था बिताएका उनी नेपाली सेनाबाट रिटायर्ड व्यक्ति हुन् । उनले रिटायर्ड भएर सिएमए पढेर क्लिनिक खोलेर अहिले सफल मेडीकल व्यवसायीका रुपमा चर्चित छन् । उनै रामसँग सोबिन्द्र परियारले गरेको सफताको कुराकानी ः

तपाईको बाल्यकाल र विद्यार्थी जीवन कसरी बित्यो ?
त्यो समयमा अहिलेको जस्तो सजिलो थिएन । पहिले निकै गाह्रो थियो । पढ्नको लागि पनि राम्रो सहज थिएन । खासमा मेरो घर सुर्खेतकै चौकुने गाउँपालिकाको गुटुमा हो । म ८ वर्षको उमेरमा स्कूल सुरु गरें । गाउँको बाटो हिड्न पनि निकै गाह्रो हुन्थ्यो । एक घण्टा लामो बाटो हिँडेर स्कूल पुग्नुप¬थ्र्यो। म कहिले शनिबार आउला भनेर कुरेर बस्थें । एक त म मगर परिवारमा हुर्केको मान्छे मलाई खस भाषा सिक्न निकै समय लाग्यो । दुई–तीन कक्षा पढ्ने बेलासम्म नि मैंले खस भाषा सिकेको थिएन । स्कूलमा सरले खस भाषाबाट पढाउनु हुन्थ्यो । मलाई त्यो भाषा आउँदैन थियो । भाषा नै नसिक्दा सरको डरले पनि मैले धेरै दिन स्कूल गइन । कहिले घाँस दाउरा काट्ने त कहिले गोठाला जाने यसरी नै मेरो बाल्यकाल र विद्याथी जीवन बित्यो ।

तपाईको बाल्यकामा के लक्ष्य के थियो ?
मेरो घरमा मलाई गाईड गर्ने मान्छे कोही थिएन । मेरो पुर्खौली सबै लाहुरे हुनुहुन्थ्यो । मैंले पनि लाहुरे हुने सोच राखेको थिएँ । सोही लक्ष्य अनुसार केही वर्ष नेपाली सेना भएर पनि मैले सात वर्षसम्म देशको सेवा गरें । त्यही ‘आर्मी क्याम्प’ भित्र मैले तेक्वान्दोको ‘बल्याक बेल्ड’ सम्म गरें ।
त्यति बेलाको आर्मीकोको तलब जम्मा ६०० रुपैयाँ हुन्थ्योे । त्यो रुपैयाँले घर व्यवहार चलाउन सकिदैन भन्ने लाग्यो पछि स्वच्छिक अवकाश लिएर घर फर्किएँ । फेरि साथीहरुको लहै–लहैमा लागेर विदेशको पनि तयारी गरें । तर सोच विचार गरें विदेश आफ्नै देशमा त यो हाल छ विदेशमा के होला सोचें अनि गइन ।

यो पेसामा कसरी जोडिनुभयो?
विदेश जाने योजना बन्द गरेपछि मैले यहिँ नेपालमा केही गर्नुपर्छ भन्ने सोचें । अनि सिएमए पढें । त्यसपछि धेरै संघर्ष गर्छु एउटा मेडीकल खोल्ने योजनासहित अगाडी बढें । बिरामीको सेवासहित केही आम्दानी पनि गर्छु भनेर २० वर्ष अगाडी ‘राना पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रालि’ खोलें । अहिले पनि मेरो इमान्दारिता र लगनशिलताले मेडीकल राम्रै चलेको छ ।

तपाईको पारिवारिक अवस्था कस्तो थियो ?
लाहुरे खानदानमा हुकिएको भएर पनि सानोमा मैंले त्यति दुःख पाइन् । बुवा बितेको पनि १० वर्ष भयो । पाँच भाई, चार बहिनी मध्ये भाइहरुको जेठो म । घरको जेठो छोरा भएर पनि धेरै संघर्ष त हुने नै भयो । जब उच्च शिक्षा अध्ययन गर्नुपर्ने भयो त्यतिबेला अलि धेरै संघर्ष नै गर्नुपर्यो । उच्च शिक्षा अध्ययन गर्ने बेला आर्थिक समस्या भएर नै नेपाल आर्मीमा भर्ना भएको हुँ । पछि आर्मी छोडेपछि फेरि उच्च शिक्षा अध्ययन गर्न सफल भएँ । भन्नेले त लाहुरेको छोरा के छर समस्या भन्थे तर, हामीलाई धेरै समस्या नै हुन्थ्यो ।

यहाँसम्म आउन तपाईले के–कस्तो संघर्ष गर्नुपर्यो ?
एक त म गाउँमा जन्मिएको मान्छे । त्यसैमा सामान्य परिवारमा जन्मिएको त्यसमा मलाई गाइड गर्ने मान्छे पनि कोही थिएन । तर पनि मैंले ठूलो सपना देखें । धेरै ठाउँमा भौतारिँदै हिँडे । अभावमा पनि हरेश खाइन । निरन्तर कर्म गरिरहें । आफ्ना सपना पुरा गर्न धेरै ठाउँमा पनि आवद्ध भएँ । अहिले सबैले नमस्कार भन्छन् । सम्मान गर्छन् । अहिले लाग्छ संघर्ष गरेपछि सफलता मिल्दो रहेछ भनेर ।

तपाई यो पेसाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
म यो पेसाबाट निकै नै सन्तुष्ट छु । किन भने म एउटा सामान्य परिवारमा हुर्केको, गाउँमा हुर्केको मान्छे हो । अहिले मेरो मेडीकलबाट दिने सेवा पनि गाउँमा थिएन । यही औषधी किन्न र उपचार गर्न पनि गाउँबाट वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपथ्यो । अहिले धेरै रोगको उपचार आफ्नै औषधी पसलबाट दिएर बिरामीको सेवा गर्न पाउँदा ज्यादै खुसी लाग्छ ।
यो पेसामा लागेपछि भोक, निन्द्रा र आफ्नो समस्या भन्न पाइन्न । त्यतिबेला किन यो पेसा अँगालियो भन्ने लाग्छ । तर, जुनसुकै काम गर्दा पनि दुःख त भइहाल्छ । आँखिर दुःख नगरेर कहाँबाट सुख हुन्छ भन्ने लाग्छ । यही पेसाबाटै घरपरिवारका आवश्यकताहरु परिपुर्ती गरेको छु । आधा दर्जनभन्दा बढीलाई रोजगारी दिएको छु । महिनामा लाखौंको कारोबार गरिरहेको छु । त्यहिबाटै आफ्नो मनलाई भुलाउँछु । समग्रमा मलाई आफुले गरिरहेको काम र पेसाप्रति सन्तुष्ट नै छु ।

तपाईको अबको योजना के छ ?
देशको अवस्था हेर्दा निकै नै नाजुक देखिन्छ । यस्तो अवस्थामा देशले पनि अलि सहयोग गरोस् र म आफैले पनि केही सहयोग गरेर गरीब बालबालिकालाई केही छुटमा औषधी गर्ने ठुलो रहर छ । किन भने अहिले कर्णालीमा धेरै बालबालिकाहरु उपचार नपाएरै मृत्यू हुने गरेका छन् । आर्थिक अभाव र गरीब बालबालिकाहरुको लागि सुलभ दरमा औषधी दिनको लागि एउटा पोलिक्लिनिक खोल्ने सोच राखेको छु । त्यो पोलिक्लिनिकको लागि हाम्रो घर बन्दै छ । त्यो बनिसकेपछि त्यहीबाट म त्यो कामको सुरु गर्नेछु ।