कर्णालीमा गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड २०८० जारी


सुर्खेत: कर्णाली प्रदेश सरकारले गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड २०८० जारी गरेको छ । स्नेहाज कियर ललितपुर र नेपाल फार्मर्स एडभाइजरीको सहयोगमा कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड तयारी गरेर जारी गरेको हो ।
व्यवसायी फर्महरुले आवलम्बन गर्नुपर्नेगरी मापदण्ड जारी गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर नरहरीप्रसाद घिमिरेले बताए ।
‘यो मापदण्डमा व्यवसायिक रुपमा पालिएका गाईभैंसीको कल्याण सम्बन्धी आधारभूत पक्षहरुको अधिकार सुनिश्चित गरिएको छ,’सचिव घिमिरेले भने, ‘यसले समग्र पशु अधिकारको लागि यसले सुरक्षा जनाएको छ ।’
गाईभैंसीप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्नको लागि पशु सेवा ऐन २०५५ को मर्म र भावनाअनुसार मापदण्ड तयार गरिएको उनले बताए ।
पुस ४ गतेदेखि लागु गरिएको मापदण्डअनुसार व्यवसायिक फर्महरुले पशुलाई भोक, प्यास, कुपोषण हुन नदिने उल्लेख छ ।
त्यसैगरी, पशुलाई डर, त्रास, तथा तनाव हुन नदिने, लगायतका कुराहरु व्यवसायिक फर्महरुले पशु कल्याणको लागि पालना गर्नुपर्नेछ ।
गाईभैंसीलाई पैदल, ट्रक वा पिकअप गाडीमा राखेर ढुवानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
ढुवानी गर्दा हलचल गर्न सक्ने, घाउचोट नलाग्ने, अत्याधिक तातो वा चिसोबाट बचाउने, एकअर्कामा ठोक्किएर अंगभंग नहुनेगरी ढुवानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
गाईभैंसी व्यवसायीहरुले गाईभैंसी पालन गर्दा मापदण्डले तोकेअनुसारको व्यवस्थाको उल्लघंन गर्न नपाइने मन्त्रालयका सचिव घिमिरेले बताए ।
अहिले गाईभैंसीको लागि मात्रै मापदण्ड बनाइएको भन्दै उनले यसपछि समग्र पशुको कल्याण सम्बन्धिको मापदण्डहरु बनाइने बताए ।
यो मापदण्ड निर्माण गर्नका लागि स्नेहाज केयर ललितपुर र नेपाल फार्मर्स एडभाजरीले सहयोग गरेको छ ।
पछिल्लो समय पशुहरुप्रति अमानविय व्यवहार बढ्न थालेको भन्दै पशु कल्याणको लागि मापदण्ड जारी गरिएको मन्त्रालयले जनाएको छ ।
स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले बोल्न नसक्ने पशुहरुलाई मानिसहरुले दिने पीडालाई यो मापदण्डले महत्वपुर्ण भूमिका खेल्ने बताइन् ।
‘पशु अधिकारका लागि हामीहरुले विगतदेखि नै काम गर्दै आएका छौं । अब कर्णालीसहित देशभर पशु कल्याण सम्बन्धी नीति नियम बनाउन आवश्यक छ,’उनले भनिन्, ‘नीति बनेर मात्रै भएन । त्यसको कार्यान्वयन पक्षका विषयमा समेत सबैले महत्वपुर्ण भूमिका निभाउन जरुरी छ ।’
गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड २०८० ले पशु कल्याणका ५ स्वतन्त्रताहरु रहेको नेपाल फार्मर्स एडभाईजरी काउन्सिलका प्रालिका अध्यक्ष डाक्टर बिमलकुमार निर्मलले बताए ।
‘भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव हुन नदिने, भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने । पिडा, चोटपटक र रोगव्याधिबाट सुरक्षित राख्ने, सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने लगायतका स्वतन्त्रता रहेका छन्,’ निर्मलले भने, ‘पशु कल्याणको क्षेत्रमा दिगोपना सुनिश्चित गर्न नेपाल सरकार र आवश्यक समन्वय हामीले गरिरहेका छौं ।’