स्ववियु निर्वाचन : कोही एजेण्डा बिना त कोही पुरानै ढर्रामा मत माग्दै उम्मेदवार !


सुर्खेत: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिएसँगै कर्णाली प्रदेशका विभिन्न क्याम्पसमा चुनावी सरगर्मी बढेको छ । राजनीतिको पहिलो खुड्किलो मानिने स्ववियु निर्वाचनलाई राजनीतिक दलहरुले समेत प्रतिष्ठाको विषय बनाएर अघि बढिरहेका छन् । प्रदेशमा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका १० वटा र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २८ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि विद्यार्थीहरु आआफ्नो संगठनबाट चुनावी मैदानमा होमिएका छन् । मध्यपश्चिम विश्वविद्यालयसहित त्यसका आंगिक क्याम्पस प्रदेशभित्र ७ वटा छन् भने ३ वटा लुम्बिनी प्रदेशमा पर्दछन् । ती क्याम्पसमा समेत चुनावी रौनक तातेको छ ।

राजनीतिक दलहरुले गाउँका क्याम्पसभन्दा पनि मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत शिक्षा क्याम्पस लगायत सहर÷बजारतिरका क्याम्पसको निर्वाचनलाई विशेष महत्व दिएका छन् । विशेषगरी कर्णालीमा नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु (एस) लगायतका विद्यार्थी संगठन चुनावी मैदानमा उत्रिएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनले समेत स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएको छ । यस्तै नेमकिपा निकट विद्यार्थी संगठनले पनि केही क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । यद्यपि कतिपय विद्यार्थी संगठन एजेण्डाबिनै चुनावी मैदानमा होमिएको अवस्था छ भने कतिपयले उही पुरानै एजेण्डालाई भजाएका छन् । सबैजसो दलले चासो राखेको र ४ हजार बढी मतदाता रहेको मध्यपश्चिम विश्वविद्यालयमा समेत विद्यार्थी संगठनहरुका समयअनुकुलका चुनावी एजेण्डा छैनन् । एजेण्डाबिना नै उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

कर्णालीमा विद्यार्थी संघ–संगठनहरुले आफू अनुकुल गठबन्धन गरेका छन् । सत्ता गठबन्धनभित्रका नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबीच गठबन्धन गरेर जान दलहरुबाट निर्देशन भए पनि अधिकांश क्याम्पसमा त्यो अनुसार तालमेल हुन सकिरहेको छैन । नेपाली कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार सत्ता गठबन्धन निकट विद्यार्थी संगठनबीच तालमेल भएका कतिपय क्याम्पसमा सभापति नेविसंघ र सचिव अखिल (क्रान्तिकारी) को भागमा परेको छ । कतिपयमा भने अखिल (क्रान्तिकारी)ले पनि सभापति पाएको छ । यद्यपि सत्ता गठबन्धनभित्रको अनेरास्ववियु (एस)ले भने धेरैजसो क्याम्पसमा एमाले निकट अनेरास्ववियुसँग तालमेल गरेको छ ।
नेविसंघ–अखिल (क्रान्तिकारी) बिच तालमेल भएका अधिकांश क्याम्पसमा नेविसंघले अखिल (क्रान्तिकारी)लाई पेलिरहेको अवस्था छ । मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका रोशन बस्नेत स्ववियु सभापतिका उम्मेदवार छन् भने अखिलका जगत शाही सचिव पदका उम्मेदवार छन् । यद्यपि यहाँ गठबन्धनभित्रकै अनेरास्ववियु (एस) भने एक्लै चुनावी मैदानमा छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत शिक्षा क्याम्पसमा अखिल (क्रान्तिकारी) का हिक्मत शाही सभापतिका उम्मेदवार छन् भने नेविसंघले सचिवमा उम्मेदवार उठाएको छ । यहाँ एमाले निकट अनेरास्ववियु र अनेरास्ववियु (एस) बीच तालमेल भएको छ ।
दोणाञ्चल क्याम्पस दुल्लू दैलेखमा नेविसंघ–अखिल क्रान्तिकारी र अनेरास्ववियु–अनेरास्ववियु (एस)बीच तालमेल भएको छ । आठबिस शिक्षा क्याम्पसमा अनेरास्ववियुले नेमकिपा निकट विद्यार्थी संगठनसँग तालमेल गरेको छ । दैलेखको नारायण क्याम्पसमा भने विवाद भएको छ । चामुण्डा क्याम्पसमा नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु (एस)बीच तालमेल भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) र नेविसंघबिच तालमेल हुँदा अखिलले सभापतिको उम्मेदवार पाएको छ । अनेरास्ववियु (एस) का प्रदेश अध्यक्ष भुपेन्द्र शाहीका अनुसार कतिपय क्याम्पसमा आफ्नो संगठन नभएकाले उम्मेदवारी समेत परेको छैन ।
यस्तै विभिन्न विद्यालयमा स्वतन्त्र र बागी उम्मेदवार पनि छन् । मध्यपश्चिम विश्वविद्यालयमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने शिक्षा क्याम्पस सुर्खेतमा अखिल (क्रान्तिकारी) का उम्मेदवार हिक्मत शाहीविरुद्ध टिकाराम मल्लले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै कर्णालीका कतिपय क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको अवस्था छ । माओवादीको प्रभाव रहेका रुकुम, सल्यान, जाजरकोट लगायतका केही जिल्लाबाट अखिल (क्रान्तिकारी)ले निर्विरोध स्ववियु सभापति पाएको छ । अखिल क्रान्तिकारीका नेता अम्मरजंग शाहीका अनुसार अहिलेसम्म १० वटा क्याम्पसमा अखिल (क्रान्तिकारी)ले अध्यक्ष पाइसकेको छ । जस अनुसार सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्लाको अध्यक्षमा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिमको अध्यक्षमा किरण विश्वकर्मा, सानोभेरी शिक्षा क्याम्पसमा वीरभान भण्डारी, सितल क्याम्पस चौरजहारीमा निराजन केसी, चतुर्देव क्याम्पस रातापानी मुगुमा मन्सुर कार्की, बनगाड क्याम्पस सल्यानमा अजय विष्ट, थारल्ला बहुमुखी क्याम्पस दार्मामा बरुण न्यौपाने स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै लिखु संयुक्त क्याम्पस डोल्पामा रनचन्द्र शाही, जनज्ञानकुञ्ज क्याम्पस जाजरकोटमा जागेश्वर थापा, जनकल्याण क्याम्पस थारमारे सल्यानमा एकराज ओली गरी १० वटा क्याम्पसमा अखिलले नेतृत्व पाएको छ । निर्विरोध भएका अधिकांश क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हुन् ।
यस्तै, एमाले निकट अनेरास्ववियुले सल्यान बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाएको छ । प्रदेश इञ्चार्ज रुद्र शाहीका अनुसार उक्त क्याम्पसमा राजेश वली निर्विरोध स्ववियु सभापति बनेका छन् । यस्तै नेविसंघले पनि ३ वटा क्याम्पसमा नतिजा निकालेको छ । कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार गुर्भाकोट बहुमुखी क्याम्पस साहारेमा नेविसंघका गोपाल खड्का, मानोसरोबर बहुमुखी हुम्लामा नरेन्द्र भण्डारी र नन्दादेवी बहुमुखी क्याम्पस कालिकोटमा जुनिता विष्ट सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।