
सुर्खेत: कर्णालीमा तिहार आसपासमा लाग्ने परम्परागत भुवा जात्रा यस वर्ष पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१०, घाटगाउँमा कात्तिक ३ गते राति लाग्यो । रमाइलोका लागि सोही जात्रामा पुगेका चौकुने गाउँपालिका–७, गुटुका २१ वर्षीय भुवन धमला घर फर्किन पाएनन् । भतिज नाता पर्ने २० वर्षीय हेमन्त धमलासँगै उनी जात्रा हेर्न गएका थिए । कात्तिक ३ गते राति भुवा जात्रा हेर्न गएका भुवन ४ गते बेलुकासम्म पनि घर फर्केनन् । जात्रामा गएका अरु सबै फर्किंदासमेत भुवन नफर्किएपछि परिवारजनले रातभर खोजी गरे, तर कतै पत्ता लागेन । अन्ततः परिवारले भुवन बेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय बाबियाचौरमा कात्तिक ५ गते निवेदन दियो । भुवनको खोजीमा प्रहरी र आफन्तहरू दिनरात खटिए । तीन दिनको लगातार खोजीपछि कात्तिक ७ गते दिउँसो चौकुने गाउँपालिका–१०, तामाधारा खोलाको ताताथाई भन्ने स्थानमा भुवनको शव फेला प¥यो । उनको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक थिए । त्यसैले उनको हत्या भएको बुझ्न प्रहरीलाई कठिन भएन ।
घटनास्थल पुगेको प्रहरीले तत्कालै सुक्ष्म अनुसन्धान सुरु ग¥यो । शवको प्रकृति र घटनास्थल वरपरको अध्ययनबाट यो हत्या नै भएको निष्कर्षमा प्रहरी पुग्यो । अनुसन्धान गर्दै जाँदा भुवनसँगै जात्रा हेर्न गएका उनकै भतिजा हिरा प्रसाद धमला भनेर चिनिने हेमन्त धमलाले नै उनको हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
बुढ्थापाका अनुसार अनुसन्धानका क्रममा हेमन्तको ज्याकेटमा रगत लागेको फेला पर्यो। सोही आधारबाट भुवनको हत्या उनैले गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको उनले बताए । सुरुमा घटनाबारे जानकारी लुकाउन खोजेका हेमन्तको व्यवहार शङ्कास्पद देखिएपछि प्रहरीले उनलाई निगरानीमा राख्यो । स्थलगत, प्राविधिक र अन्य प्रमाणहरू जुटाउँदै जाँदा हेमन्तले नै भुवनको हत्या गरेको प्रहरीले ठहर गर्यो । प्रहरी नायब उपरीक्षक बुढ्थापाका अनुसार भुवन र हेमन्तबिच कात्तिक ३ गते राति जात्रामा मदिरा सेवनपछि मोबाइल र पैसाका विषयमा सामान्य विवाद सुरु भएको थियो । ‘उनीहरूबिच झगडा भयो, दुवैले कुटपिट गरेको देखिन्छ,’ बुढ्थापाले भने, ‘चोट त हेमन्तलाई पनि लागेको छ ।’ विवाद बढ्दै जाँदा राति १२ बजेतिर मदिराले लठ्ठ परेका हेमन्तले काका भुवनलाई निर्घात कुटपिट गरे । मदिराको सुरुमा भएको सोही कुटपिट भुवनको ज्यान लिने कारण बनेको प्रहरीको निष्कर्ष छ ।
भुवन प्रायः रोजगारी गरेर घर परिवार चलाउँथे । नजिकिँदै गरेको तिहारमा दिदीको हातबाट टीका लगाउने उनको सपना भुवा जात्रामै बिलायो । उनकी एउटी दिदी छन् । मेलामा रमाइलो गर्न गएका भुवनको यसरी अकालमा ज्यान गएपछि उनको परिवार शोकमा डुबेको छ । मृतकका आफन्तले हेमन्तकै नाममा किटानी जाहेरी दिएका छन् । प्रहरीले हेमन्तलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी कात्तिक १२ गते म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।
भुवनका परिवारले घटनाबारे अझै अनुसन्धान हुनुपर्ने बताएका छन् । उनीहरुका अनुसार, हेमन्तले बयान दिँदा फरक–फरक दिइरहेको छ । घटनामा अरु पनि सहभागी भएको हुनसक्ने उनीहरुको भनाइ छ । घटना रहस्यमय र हेमन्त एक्लैले हत्या ग¥यो होला भन्न पनि नसकिने अवस्था भएकोले सुक्ष्म अनुसन्धान हुनुपर्ने परिवारको माग छ ।
त्यस्तै सोही दिन भुवा जात्रा हेर्न पुगेका दैलेखका एक अर्का युवकको पनि हत्या गरिएको थियो। जाजरकोटको जुनीचाँदे गाउँपालिका—८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका—४, उत्तिसेनीका ३९ वर्षीय लाल बहादुर पुन मगरको हत्या भएको हो । हत्यामा संलग्नहरू पनि नौमुलेकै रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
जाजरकोट प्रहरीका अनुसार, कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो । सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीर बहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए ।
५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।
घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका—४, कै भित्रिखोलाका २९ वर्षीय पदम बहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर रहेका छन् ।

खुलानजर । १४ कार्तिक २०८२, बिहीबार ०९:३३