यस्तो छ कर्णालीका ३३ क्याम्पसमा स्ववियुको नतिजा


सुर्खेत: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसहरुको नतिजा आइसकेको छ । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय अन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने ३ वटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन् । प्रदेशभित्रका ३९ वटामध्ये ३३ वटा क्याम्पसहरुको नतिजा सार्वजनिक भइसकेको छ । यस्तै मध्यपश्चिम विश्वविद्यालयसहित ४ वटामा विविध कारण चुनाव हुन सकेन ।

मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियू निर्वाचन हुन सकेन ।
मध्यपश्चिम विश्वविद्यालय र मुसिकोटमा उच्च अदालतमा रिट परेको कारण चुनाव हुन सकेन भने नारायण क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीचमा आपसी मदभेदका कारण चुनाव हुन सकेन । यस्तै त्रिभूवन विश्वविद्यालय अन्तर्गतका जाजरकोटको नलगाड बहुमुखी क्याम्पस र दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा पनि विवादका कारण चुनाव रोकिएको छ ।

नलगाडमा मतदानको अन्तिमतिर फर्जी मत हालेको विषयलाई लिएर विवाद भएकाले पुनः चुनाव गर्ने वा त्यसैलाई सहमतिका आधारमा अघि बढ्ने भन्ने विषयमा निर्णय आएको छैन । यस्तै सबैले प्रतिष्ठाको विषय बनाएको सुर्खेत बहुमुखी क्याम्पसको मतगणना भने जारी छ । अनेरास्वियुका अकल सिजापति र अखिल क्रान्तिकारीका हिक्मत शाहीको प्रतिस्पर्धा चलिरहेको छ । यो समाचार तयार पार्दासम्म सिजापतिले पाँच सय मत ल्याएका छन् भने गठबन्धनका साझा उम्मेदवार शाहीले २५६ मत ल्याएका छन् ।

नतिजा आएका करिब १७ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भएको थियो भने आइतबार १८ वटा क्याम्पसमा चुनाव भएको थियो । त्यसमध्ये नलगाडमा बीचैमा विवाद हुँदा चुनवा रोकिएको छ ।
नतिजा आएका १५ वटा क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले वर्चश्व जमाएको छ । यस्तै नेपाली कांग्रेस निकट नेविसंघले १२ र नेकपा एमाले निकट अनेरास्ववियु भने जम्मा ५ वटा क्याम्पसमा सीमित बनेको छ । एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा भने स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यले जितेका हुन् । उनी नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए । विषेशगरी गठबन्धनका कारण नेविसंघलाई फाइदा पुगेको छ भने अखिल क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार बनेकाहरु निर्विरोध निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीका जनचेतना बहुमुखी क्याम्पस कालिकोटमा पार्वती सन्ज्याल, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा हिक्मत सिंह, जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिममा भरत विक, राडिज्यूला शिक्षा क्याम्पस,आठबिसकोट रुकुम पश्चिममा दिपक केसी निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीबाटै सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिममा किरण विश्वकर्मा, सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजहारी रुकुम पश्चिममा निराजन केसी, सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिममा निर्मला बुढाथोकी, चतुर्देव क्याम्पस रातापानी मुगुमा मन्सुर कार्की, बनगाड क्याम्पस सल्यानमा अजय विष्ट, थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यानमा बरुण न्यौपाने, लिखु संयुक्त क्याम्पस डोल्पामा रनचन्द्र शाही, जनज्ञानकुञ्ज क्याम्पस जाजरकोटमा जागेश्वर थापा र जनकल्याण क्याम्पस थारमारे सल्यानमा एकराज ओली निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै नेविसंघबाट चामुण्डा कलेज दैलेखमा सुनिलकुमार शाही, आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेखमा नगेन्द्रबहादुर शाही, द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेखमा प्रकाश थापा, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतमा चेतन नेपाली, जुम्ला बहुमुखी क्याम्पस जुम्लामा महेश हमाल, डोल्पो क्याम्पस डोल्पामा खिमबहादुर रोकाय, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा प्रकाशसिंह ठकुरी, र रुकुमेली क्याम्पस, खलङ्गा रुकुम पश्चिममा अनिशेष केसी निर्वाचित भएका छन् ।
नेविसंघबाटै नन्दादेवी बहुमुखी क्याम्पस कालिकोटमा जुनिता विष्ट, गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा गोपाल खड्का, मानसरोबर बहुमुखी हुम्लामा नरेन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी अनेरास्ववियुबाट सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा घनश्याम रेग्मी र भेरी क्याम्पस गुमी सुर्खेतमा शक्ति पौडेल निर्वाचित भएका छन्। यस्तै अनेरास्ववियुकै अमरदीप क्याम्पस सुर्खेतमा अनुप ढकाल, हिम शिखर बहुमुखी क्याम्पस सुर्खेतमा सिर्जना रसाइली र सल्यान बहुमुखी क्याम्पस सल्यानमा राजेश वली निर्विरोध निर्वाचित भएका छन् । कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा भने रामप्रसाद आचार्यले स्वतन्त्रबाट निर्वाचन जितेका छन् ।