स्वर्ण पदक विजेता बस्याललाई सम्मान


सुर्खेत:  विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण पदक विजेता नन्दा बस्याललाई गृह जिल्ला सुर्खेतमा सम्मान गरिएको छ ।
शनिबार सुर्खेत जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी सम्मान कार्यक्रममा बस्यालसँगै कास्य पदक बिजेता प्रबिन बयकलाई समेत सम्मान गरिएको हो ।
स्वर्ण पदक बिजेता बस्याल र बयकलाई पञ्चेबाजा सहित वीरेन्द्रनगर बजार परिकर्मा गराइएको थियो । सम्मान कार्यक्रममा सयौंको संख्यामा खेलाडीहरुको सहभागिता रहेको थियो । त्यस्तै स्थानीयले बस्याल र बयकलाई फुलमाला, खादाले विभिन्न चोकमा सम्मान गरेका थिए । स्वर्ण पदक बिजेता नन्दा बस्यालले कोरयामा जुलाई २१ देखि २४ सम्म सम्पन्न भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् भने अर्का तेक्वान्दो खेलाडी प्रविन बयकले असार २९ गते थाइल्याण्डमा सम्पन्न भएको ओप्पन तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेका थिए ।
कर्णाली प्रदेश तेक्वान्दोका प्रमुख प्रशिक्षक भुवन थापाले कर्णालीकी छोरी नन्दा बस्याले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेर नेपालको नाम संसारभर चिनाएकोमा स्वर्ण पदक बिजेता बस्यालाई बधाई दिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरीले कर्णालीमा पनि अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता खेलाडीहरु छन् भन्ने यो बलियो उदाहरण तेक्वान्दो खेलाडी नन्दा बस्यालले पेसको भन्दै उहाँबाट नयाँ आउने खेलाडीहरुले धेरै कुरा सिक्नुपर्ने बताए । स्वर्ण पदक बिजेता बस्याल राष्ट्रिय खेलकुद परिषदको कार्यकारी बोर्ड सदस्य समेत हुन् ।