परिवारको ‘आर्मी’ बन्ने सपना त्यागेर पत्रकार बनेकी सुनिता !

सुर्खेतः गुलाबी रङ्गको सारी । घाँटीमा आइडी कार्ड । हातमा पानासोनिकको क्यामेरा । सबैको ध्यान कार्यक्रमतर्फ, तर उनको ध्यान क्यामेरा र अतिथिको भाषण तिर थियो । यो दृश्य गत शनिबार नेपाल प्रेस युनियन सुर्खेत शाखाले आयोजना गरेको तीज सद्भाव कार्यक्रममा रिपोर्टिङ्ग गरिरहेकी लाईका खबरकी संवाददाता सुनिता थापाको हो । तीज सद्भाव कार्यक्रममा सबैलाई नाचगान र रमाइलोको चासो थियो । तर, २१ वर्षीय सुनिताको ध्यान भने कार्यक्रमका वक्ताको मन्तब्यमा थियो । विगत सात महिनादेखि सुर्खेतमा हुने हरेक कार्यक्रम र रिपोर्टिङ्गमा क्यामेरा लिएर अतिथि भन्दा अगाडीको भागमा उभिएकी हुन्छिन् उनी । दैलेखको भैरवी गाउँपालिका—२ स्थायी घर भएकी उनी पत्रकारिता पेसामा आएको समय भने धेरै भएको छैन । आज भन्दा सात महिना अगाडी मात्रै उनी यो पेसामा आएकी हुन् । यो पेसामा आउन उनलाई न कसैले दबाब थियो, न त प्रभाव नै । बरु घरका आमाबुवाले उनलाई ‘आर्मी’ बन भनेर सुझाव दिएका थिए । परिवारको उक्त सपना त्यागेर सुनिता आफ्नो रोजेको पेसा पत्रकारितामा आइन् ।


‘सानै उमेरदेखि मेरो पत्रकारितामा रुचि थियो । तीन बहिनी र एक भाई मध्येकी म नै घरकी जेठी हुँ,’सुनिताले भनिन्, ‘बुवाआमाले आर्मी बन भनेर बारम्बार फर्म लगाउन भन्नुहुन्थ्यो । तर, मलाई पत्रकारिता नै राम्रो लाग्यो । सानैदेखि पत्रकार बन्ने रुचि थियो । त्यहि भएर यही पेसा रोजें ।’ लाइका खबर नामक अनलाईन न्यूज पोर्टलका सञ्चालक बलबहादुर थापासँग आफ्नो योजना सुनाएर ‘ठिक छ । सिक न भनेपछि’ काम गर्न सुरु गरेको उनले बताइन् ।
उनले विद्यालय पढ्ने बेलादेखि नै मोबाइलमा अरुले जस्तो टिकटक र भिडियो हेर्दिन थिइन् । बरु अनलाइन र पत्रिकामा छापिएका स्टोरी, भिडियो न्यूजहरु, भिडियो इडिटिङ्ग र डकुमेन्ट्री बनाउने टिप्सहरु हेर्थिन् । सोही अनुसार सुनिताले अहिले समाचार लेखन, डिजाइनिङ्ग, भिडियो रिपोर्टिङ्ग, भिडियो इडिटिङ्ग र अनलाईनमा समाचार पोष्टका कामहरु गर्छिन् ।
सुनिताका बुवा भारत मजदुरी गर्छन् । दुई बहिनी र एक भाई विद्यालयमा अध्ययन गदैछन् । आमाले घरव्यवहार गर्छिन् । पत्रकारिताबाटै आफुलाई वीरेन्द्रनगरमा खान बस्न पुगेको उनले सुनाइन् ।्
‘मलाई अहिले घरबाट खर्च पठाउन पर्दैन । यही पेसाबाट यहाँ बस्न खान भइरहेको छ । अब स्नात्तक पनि पत्रकारितामा नै गर्ने योजना बनाएकी छु,’उनले भनिन्, ‘इमान्दार र मिहिनेत गरे पत्रकारितामै सम्मान र जिविकोपार्जन गर्न सकिन्छ भन्ने आँट मलाई आएको छ ।’
सुरु—सुरुमा क्यामेरा लिएर विभिन्न कार्यक्रम र रिपोर्टिङ्गमा जाँदा आफु एक्लै भएको देख्दा अप्ठारो लागेपनि अहिले ढुक्कले सबैको अगाडी रिपोर्टिङ्ग गर्न सकेको सुनिता बताउँछिन् । पत्रिका र अनलाईनमा रिपोर्टिङ्ग गर्ने पत्रकार महिला भएपनि यसरी ठुलो क्यामेरा बोकेर भिडियो रिपोर्टिङ्ग गर्ने एक्ली पत्रकार महिलाको रुपमा सुनिताले पहिचान बनाएकी छन् ।


‘सुरु—सुरुमा त जम्मै कार्यक्रममा जाँदा अगाडी क्यामेरा समातेर केटी मान्छे म मात्रै हुन्थें । त्यतिबेला मलाई अप्ठारो महशुस हुन्थ्यो । पुरुष पत्रकारको बिचमा गएर क्यामेरा तेस्र्याएर खिच्नु । बाहिरबाट अन्य व्यक्तिले मैले खिचेको हर्थे,’सुनिताले भनिन्, ‘केही दिदीहरु त जानुहुन्थ्यो तर, उहाँहरु पत्रिकाको लागि बसेरै पनि टिपोट गर्नुहुन्थ्यो । म आजभोली दैनिक चार—पाँचवटा कार्यक्रममा गएर भिडियो रिपोर्टिङ्ग गर्छु । अहिले त आनन्द लाग्छ ।’
यही पेसाबाटै आफु अगाडी बढेर राष्ट्रियस्तरका सञ्चार माध्यममा काम गर्ने सुनिताको योजना छ ।

महिलाको सहभागीता किन कम ?
हरेक दृष्टिले पछाडी परेको कर्णालीमा सञ्चार माध्यम होस् या पत्रकारका हकहितका लागि बनेका पेसागत संघ संगठनमा महिलाहरुको सहभागिता न्यून रहेको छ ।
प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित हुने १० वटा दैनिक पत्रिका र तीन साप्ताहिक पत्रिकामा महिला कर्मचारी र पत्रकार गरी १२ जना मात्रै छन् ।
दुईवटा टेलिभिजनमा दुई जना, ११ वटा एफएम रेडियोमा ११ जना र सुर्खेतबाट सञ्चालनमा ल्याइएको केही अनलाइनमा सात जना पत्रकार महिलाहरुले काम गरिरहेका छन् । उनीहरुमध्ये केही जनाले त बैकल्पिक पेसाको खोजी समेत गर्न थालेका छन् ।
नेपाल पत्रकार महासंघको २०७९ को तथ्याङ्क अनुसार कर्णाली प्रदेशका १० जिल्लामा ८५९ जना महासंघका साधारण सदस्य छन् । जसमा १३१ जना मात्रै महिला सदस्य छन् । यति मात्रै होइन्, महासंघको सदस्यतामा समेत सुर्खेतमा पत्रकार महिलाहरुको सहभागीता निकै कम छ । १५९ जना कुल सदस्य रहेको यो शाखामा ३१ जना मात्रै पत्रकार महिला छन् । त्यसमध्ये पनि क्रियाशिल रुपमा रिपोर्टिङ्ग गर्नेहरुको संख्या भने औंलामा गन्न सकिने मात्रै छन् । अहिले महासंघको नयाँ सदस्यता र शुद्धिकरणका कारण सदस्यता संख्यामा थपघट हुनसक्ने नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाले बताए ।
पत्रकार महिलाका लागि पारिश्रमिक लगायतका विषयहरु सुरक्षित हुन नसकेर यो पेसामा सहभागीता न्यून रहेको पत्रकार महासंघ सुर्खेत शाखाकी पूर्व उपाध्यक्ष माया थापाले बताइन् ।


‘अरु पेसा जस्तो पत्रकारिता पेसा सहज छैन । यहाँ महिलाहरु टिक्न नसक्नुको मुख्य कारण भनेको श्रमअनुसारको पारिश्रमिक नै हो,’थापाले भनिन्, ‘उर्जा र जोसजाँगरका साथ आएका पत्रकार महिलाहरु केही समयपछि पेसाबाटै पलायन हुँदै गएका छन् । त्यसैले यसको मुख्य कारण भनेको पारिश्रमिक नै हो ।’
महिला र पुरुषबीचको विभेद नगरी महिलालाई यो पेसामा टिकाइरहन सिप विकाससँगै उचित श्रमको व्यवस्थाप गर्न सके उल्लेख्य मात्रामा महिलाको सहभागीता बढाउन सकिने थापाको भनाई छ ।