राज परियारको बदलिँदो पहिचान, मेहनतको धागोले बुनेको सफलता!

बुवा मंगल परियार र आमा गीता परियारको कोखबाट वि.सं. २०४९ कात्तिक ७ गते दाङको दङ्गीशरण गाउँपालिका-५ दाङमा जन्मिएका राज परियार न्यू काठमाडौं टेर्लसका सञ्चालक हुन् । उनी हाल वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतमा बस्छन्। सफल व्यवसायी उनै राजसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी:

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
म दाङ जिल्लाको दङ्गीशरण गाउँपालिकामा जन्मिएको हुँ। हाम्रो परिवारमा तीन भाइ छौँ, म कान्छो छोरा हुँ। मेरो बाल्यकाल गाउँमै बित्यो। त्यतिबेलाको गाउँघरको जीवन सरल, आत्मीय र रमाइलो थियो। साथीहरूसँग खेल्दै, रमाउँदै स्कुल जानु विद्यार्थी जीवनका अविस्मरणीय पलहरू छन् । तर, पढाइमा भने म धेरै अब्बल हुन सकिनँ। साथीहरूको संगत, घुमघामका कारण पढाइलाई निरन्तरता दिन नसकिएपछि एस.एल.सी.पनि पास गर्न सकिनँ ।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
विद्यार्थी जीवनमा कुनै स्पष्ट लक्ष्य थिएन। बाल्यकालमा पढाइसँगै साथीभाइसँग रमाइलो गर्ने, घुमघाम गर्नेमै बढी समय बित्यो। त्यतिबेला यही बन्छु भन्ने ठोस योजना बनेको थिएन। तर पढाइ छोडेपछि जीवनको वास्तविकता बुझ्दै जाँदा केही न केही सीप सिक्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच आयो, जसले पछि मलाई व्यवसायतर्फ डोर्यायो।

टेलरिङ पेशामा लाग्ने प्रेणा कसरी मिल्यो ?
पढाइ छोडेपछि जीवनमा अब केही न केही गर्नुपर्छ भन्ने सोच आयो । व्यवसाय जीवनको संघर्षको अर्को पाटो रहेछ भन्ने कुरा बुझेँ।
हाम्रो पुख्र्यौली पेशा सिलाइ (टेलरिङ) हो। बुवा र दाजु यही पेशामा संलग्न हुनुहुन्थ्यो। विशेषगरी मेरो दाजु नै मेरो प्रेरणाको मुख्य स्रोत हुनुहुन्छ। दाजुको साथ, सुझाव र हौसलाले म पनि सिलाइ पेशामा आबद्ध भएँ।

सुर्खेतमा व्यवसाय कसरी सुरु गर्नुभयो ?
२०६० सालमा म दाङबाट सुर्खेत आएँ । दाजु पनि सिलाईमा पोख्त भएको हुनाले दुई दाजु भाईकै सल्लाहमा हामी सुर्खेत आयौँ । सुरुमा यहाँको बजार, सेवा र प्रतिस्पर्धाको अवस्था बुझ्न खोज्यौँ । सुर्खेतको माहोल बुझ्दा त्यति धेरै गुणस्तर सेवा पाइएको थिएन ।
यहाँ दक्ष जनशक्तिको समेत अभाव थियो । यही सम्भावना देखेपछि ुखर्खेतमै व्यवसाय लगर्ने तय गर्यौ । न्यू काठमाडौं टेलर्स नाममा व्यवसाय सुरु गरेँ । व्यवसाय राम्रै भएको थियो ।
बिचमा कोरोना महामारीको कारणले व्यवसाय भनेजस्तो चलेन । त्यो बेला त पसल बन्द गर्नुपर्ने अवस्था आयो । खर्च चलाउन निकै गाह्रो भयो । तर त्यो कठिन समय पार गरेर अहिले स्थिति निकै सुधारिएको छ । हाल गार्मेन्ट र कोट–पाइन्ट सिलाउने कालीगढ गरि ९ जना दक्ष कर्मचारी छन्। अहिले करिब १ करोड बराबरको रेडिमेड कपडाको स्टक छ ।

परम्परागत र आधुनिक व्यवसायमा के फरक छ ?
पहिला हाम्रो घरमा बुवाले सिलाइ मात्र होइन, सिलाइ मेसिन र रेडियो मर्मत तथा निर्माण पनि गर्नुहुन्थ्यो। म बुवाले गरेको कामलाई ध्यान दिएर हेर्थें । मेसिन कसरी बन्छ, रेडियो कसरी चल्छ। आज पनि घरका बिग्रिएका सामानहरू आफैं मर्मत गर्छु । त्यो बेला समाजमा सिलाइ व्यवसाय परम्परागत ढंगले चल्थ्यो । गाउँघरमा ग्राहकको घरमै गएर कपडा सिलाइदिने चलन थियो। परम्परागत तरिकाले मात्रै होइन, आधुनिक डिजाइन, बजार बुझाइ र व्यवस्थापनसहित व्यवसाय अघि बढाउनुपर्छ भनेर आधुनिक व्यवसायमा लागे । त्यसपछि मैले टेलरिङलाई व्यवस्थित, आधुनिक र बजारमुखी बनाउने प्रयास गरेँ। अहिले मेरो व्यवसायमा डिजाइनिङ, फिटिङ र गुणस्तरलाई विशेष प्राथमिकता दिइन्छ।

पेशाप्रति हेर्ने दृष्टिकोण कस्तो छ ?
मैंले सुर्खेतमा जेन्स टेलरिङ गरिरहेको ३२ वर्ष भयो । पहिले सिलाइ पेशालाई केवल दमाइ÷परियार जातिसँग मात्र जोडिन्थ्यो। आज जुनसुकै जात, वर्ग वा पढाइको मान्छेले पनि आफूलाई मन पर्ने व्यवसायलाई रोजेका छन् । सिलाइ पेशा पनि आधुनिकरण गरेर सम्मानजनक र सफल व्यवसाय बन्न सक्छ भन्ने उदाहरण म आफैं बन्न चाहन्छु।

व्यवसाय गर्दा चुनौतीहरू के कस्ता छन् ?
चुनौती त धेरै छन् । सुरुमा जातीय दृष्टिकोणको कारणले विश्वास नगर्ने । त्यसैले सुरुवातमै आफूलाई प्रमाणित गर्न धेरै मेहनत गर्नुप¥यो । त्यसपछि अर्को चुनौती हो—गुणस्तरीय सेवा र प्रतिस्पर्धाले निर्कै चुनौती छ । ग्राहकलाई सन्तुष्ट पार्ने खालको डिजाइन, कपडाको क्वालिटी, मूल्यको सन्तुलन र समयमै डेलिभरी यी सबैमा निरन्तर मेहनत गर्नुपर्छ । कर्मचारी व्यवस्थापन पनि सजिलो छैन । एक महिनामा ४० हजार भन्दा बढी तलब खाने कर्मचारी पनि छन् । घरभाडा, कर्मचारी तलब, महँगी—यी सबै चुनौती हुँदाहुँदै पनि इमान्दारीपूर्वक व्यवसाय चलाइरहेको छु।

तपाईंकोमा के-के बन्छ कसरी दिनुभएको छ ?
कोट–पाइन्ट सर्ट , दौरा–सुरुवाल , कुर्ता–पाइजाम राष्ट्रिय पोशाक , डिजाइनर फिटिङ गरिन्छ । ग्राहकको आवश्यकता र बजेटअनुसार मूल्य निर्धारण गरिन्छ।

अबको योजना के छ?
मेरो मुख्य लक्ष्य सिलाई व्यवसायलाई आधुनिक गार्मेन्ट उद्योगको रूपमा विकास गर्ने । सुर्खेतमा उत्पादन, रोजगारी र सम्मानको एक केन्द्र बनाउने चाहना छ । गाउँमा जसरी दमाई भनेर हेपिन्थ्यो, अब त्यो सोचलाई मेटाउनुपर्छ । सीपमा जात हुँदैन, मेहनतमा पहिचान हुन्छ भन्ने सन्देश दिन चाहन्छु । ग्राहकले पनि गुणस्तरको सेवा पाउन । भविष्यमा आफ्नै ब्रान्ड तयार गर्ने योजना पनि छ ।